बनेपाको चण्डेश्वरीमा ‘चाँदीको ढोका’ 

0
Shares

काभ्रे। 

बनेपाको ऐतिहासिक चण्डेश्वरी मन्दिरमा चाँदीको ढोका राखिने भएको छ । चाँदीको ढोकासँगै पूर्व तर्फबाट प्रवेश गर्ने मुख्यद्वार निर्माण गरिने लागिएको छ । चण्डेवरी मन्दिरसँगै वृद्धाश्रम निर्माण गर्ने गरी तयारी गरिएको छ ।

‘ऐतिहासिक मन्दिरको छानामा सुनको जलप लगाइएको छ तर ढोका चाँदीको छैन’–श्रीमाई चण्डेश्वरी सन्ध्याकालीन आरती भजन समितिको अध्यक्ष रामगोपाल कायस्थले भन्नुभयो–‘अहिले महिनाको एक पटक अन्तिम आइतबार सन्ध्याकालीन आरती गरिन्छ । यसबाट सङ्कलन भएको रकम तथा अन्य दाताहरूको सहयोगबाट चाँदीको ढोका, मुलद्वार र वृद्धाश्रम निर्माण गरिनेछ ।’ यी परियोजनाका योजनाकार नै रामगोपाल कायस्थ हुन् । नियमित मन्दिर जाने, सरसफाइ भए नभएको हेर्ने र नभए आफै सरसफाइ गर्ने, नियमित भजनका लागि सक्रिय हुने अभियानमा दुई दशक देखि उनी सक्रिय छन् ।

आरती भजनका लागि रामगोपाल कायस्थ सँगै राजेश शाक्य, राहुल श्रेष्ठ, रामकाजी प्रधान, पशुपति श्रेष्ठ, रामाकाजी सेवाचार्य, विजय मुस्याजु, रविन स्टिकर आर्ट लगायतको टोली सक्रिय छ । रसिद नै छापेर ५ सय भन्दा धेरै रकम दान गर्नेहरुलाई रसिद उपलब्ध गराउने गरेको उक्त समितिले सहयोग गर्नेहरुको नाम सार्वजनिक गरिरहेको छ । सन्ध्याकालीन आरती माघ महिनासम्म आउँदा १० महिना भएको छ । यो अवधिमा सहयोग गर्नेहरुको सूची लामो रहेको अध्यक्ष कायस्थले बताउनु भयो ।

यस्तो छ चण्डेश्वरीको इतिहास

काठमाडौँ उपत्यकाको पूर्वमा पर्ने काभ्रे जिल्लाको बनेपा शहरको १ किलोमिटर उत्तरपूर्वी कुनामा प्रसिद्ध चण्डेश्वरीको मन्दिर छ । बनेपामा मात्र हैन काठमाडौँ उपत्यकाभरि नै प्रख्यात रहेको चण्डेश्वरी मन्दिर अधिकांश नेवार समुदाय चण्डेश्वरीलाई कुलदेवी या इष्टदेवीको रूपमा पुज्ने गर्दछन । यी देवीलाई सनातन हिन्दु धर्मावलम्बीहरू चण्डेश्वरी मान्दछज, बौद्ध मार्गीहरू रक्षकको रूपमा देवीको रूपमा पुज्दछन् । यसको जीर्णोद्धार नेपाल सम्वत ८०१ तिर जगज्योर्तिमल्लले गराएका थिए । हिमवत्खण्ड पुराणमा चण्डेश्वरी भगवतीले चण्ड नामक राक्षसलाई मारेको वर्णन पाइन्छ । यिनको स्थापना आनन्द देवले गराएका थिए भन्ने उल्लेख छ । यिनलाई कन्यादेवी मानिन्छ । १० वर्षभन्दा कम उमेरका कन्याद्वारा यिनको पूजाआजा गर्ने चलन छ । चण्डेश्वरीको मूर्ति काठको छ ।

एक पटक चण्डासुर नामक दानवले ब्रह्माको तपस्या गरी बलशाली हुने वरदान पाएछ । त्यसपछि उसले देवताहरूलाई सताउन थालेछ । देवताहरू चाँगु भेगमा चाँपका रूपमा लुकेछन् । चण्डेश्वरी देवीले पनि रक्तचन्दनको वनमा चाँपकै बोटमा लुकेर चण्डलाई मारिछन् । यसरी उनले देवताहरूलाई दानवको यातनाबाट बचाइछन् । यही मान्यताका कारण यी देवीलाई चण्डेश्वरीका रूपमा पूजाआजा गर्ने गरिएको हो । यो मन्दिर नेपाली मौलीक प्यागोडा शैलीमा निर्माण गरिएको छ । यस मन्दिरमा ३ तल्लाहरू रहेका छन् । पश्चिमी भित्तामा भैरवको मूर्ति रहेको छ ।

यस मन्दिरमा पाँचौँ शताब्दी इस्वी संवतको हाराहारीमा बनाएको विश्वास गरिने माटोका दुर्लभ मूर्तिहरू फेला परेका छन् । चण्डेश्वरी मन्दिरका भित्तामा विभिन्न चित्रहरू छन् । मध्यकालीन यी भित्ते चित्रहरू निकै महत्त्वपूर्ण मानिनछन् । यस मन्दिरमा एक भित्तामा भगवान् भैरवको चित्रकला पनि समावेश छ जुन नेपाल मण्डलाको सबै भन्दा ठूलो भित्ता हो । चण्डेश्वरी मन्दिर जिर्णाेद्धार गर्नु भन्दा पहिले करिव १०/१५ वर्ष अगाडी देखि मन्दिर दक्षिण तर्फ ढल्कँदै गएको थियो । सुरुमा मन्दिरको छाना सुवर्ण मोलम्बा युक्त बनाउने योजनामा काम अगाडि बढाउँदा जग कमजोर भएकोले मन्दिर पुनः निर्माण नै गरिएको थियो ।

मन्दिर पुनः निर्माण पश्चात् अहिले यो मन्दिरको तीन तहको छाना सुवर्ण मोलम्बा युक्त रहेको छ । पुनः निर्माण कार्यमा सम्भव भएसम्म पुरानै वास्तुकलाका साधनहरु प्रयोग गरिएका छज । चण्डेश्वरी मन्दिर अगाडि पश्चिमा भिमूख अवस्थामा गुम्बज शैलीमा बनेको चण्डेश्वर महादेवको मन्दिर रहेकोमा उक्त मन्दिर २०७२ सालको महाभूकम्पमा भत्किएको थियो । उक्त मन्दिर पुरातत्त्व विभागले पुरानै शैलीमा पुनर्निर्माण गरेको छ । चण्डेश्वरी मन्दिर अगाडि ठुला–ठुला शीला स्तम्भहरूमा मयूर एवं सिंहका मूर्तिहरू रहेका छन् । उक्त स्तम्भहरूमा नेसं ९६१ को शिलालेख तथा नेसं ९३० उल्लेख भएको ताम्रपत्र छ । यी शीला स्तम्भहरु १८ देखि २५ फिटसम्म अग्ला रहेका छन् ।

चण्डेश्वरी देवीको वर्षेनी चण्डी पूर्णिमा बुद्ध जयन्तीका दिन भव्य जात्रा गर्ने गरिएको छ । भगवतीलाई खटमा राखेर बजार घुमाउने चलन छ । यस मन्दिरकी देवीलाई तन्त्रमा विशेष महत्त्व दिइएको छ । चण्डेश्वरीलाई चामुण्डा, चण्डी, उग्रचण्डी या उग्रतारा आदिको नामले पनि मानिन्छ । यस स्थानमा बिबाह, ब्रतबन्ध, बनभोज या विशुद्ध पर्यटनको लागि पनि प्रयोग गरिँदै आएको छ । ऐतिहासिक एवं पर्यटकीय स्थललाई व्यवस्थित बनाउँदै पर्यटकको आकर्षण बढ्ने छ ।

धमाधम पूर्वाधार

चण्डेश्वरीको ऐतिहासिकतालाई धार्मिक पर्यटनसँग जोड्ने गरी तत्कालीन सञ्चार मन्त्री एवं काभ्रे प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले चण्डेश्वरी मन्दिरको गेट देखि गोसाईस्थानसम्म १६ सय सिँढी निर्माणका लागि बजेट विनियोजन गरेका छन् ।

१६ सय सिँढी निर्माण कार्य सम्पन्न भए लगत्तै आन्तरिक पर्यटकहरूको वृद्धि भएको छ । ‘चण्डेश्वरी देखि गोसाईस्थानसम्म धार्मिक सर्किट निर्माण गर्ने गरी विभिन्न कार्य भइरहेका छन्’–वडा अध्यक्ष बलराम अधिकारीले भन्नुभयो–‘चण्डेश्वरी मन्दिरको संरक्षण तथा थप संरचना निर्माण गर्न, वनभोज पार्क व्यवस्थित गर्न विभिन्न क्षेत्रको सहयोग निरन्तर भइरहेको छ ।’ चाँदीको ढोका, पूर्वको मुख्य द्वारसँगै वृद्धाश्रम निर्माणमा रविन्दू पुरी समूहले सहयोग गर्ने घोषणा गरेको सदस्य रामकाजी प्रधानले बताउनु भयो । निर्माणको कार्य छिट्टै प्रारम्भ हुनेछ ।