प्रचण्डको प्राथमिकतामा सुदूरपश्चिम

0
Shares

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहालले कैलालीको गेटास्थित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमन गरेका छन् । सोमवार प्रचण्डले विश्वविद्यालयको पछिल्लो अवस्थाको निरीक्षण तथा अनुगमन गरेका हुन् ।

उनी आज बिहान सुदूरपश्चिमबाट ठूला तथा गौरवका आयोजना अनुगमनका लागि कैलाली पुगेका थिए । आइतबारमात्रै मन्त्रिपरिषद्को बैठकले प्रस्तावित गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो ।

त्यसलगत्तै आज प्रधानमन्त्री प्रचण्ड अनुगमनका लागि यहाँ आएका हुन् । उनीसंगै अनुगमनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, मुख्य सचिव शंकरदाश बैरागी लगायत थिए ।

अनुगमनका क्रममा प्रचण्डले सुदूरपश्चिम जहिल्यै आफ्नो प्राथमिकतामा रहेको बताएका छन्। अनुगमनका क्रममा संचारकर्मीसंग प्रतिक्रिया दिदै यस्तो बताएका हुन् ।

‘म पहिला पनि यो मेडिकल कलेज स्थापना गर्ने प्रक्रियामा प्रत्यक्ष रुपमा जोडिएको थिए । बीचमा यसको बेस बन्ने क्रममा पनि म अनुगमनमा आएको थिए,’ दाहालले भने, ‘अहिले फेरि म आउँदा चाहिँ खुसीको कुरा छ, अब यहाँ मेडिकल कलेज मात्र होइन हिजो क्याबिनेट बैठकले हामी बसेर सरकारले देशकै पहिलो सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने भनेर निर्णय गरेका छौं । अब यसको प्रक्रिया अगाडि बढीसकेको छ । मैले पहिलोचोटि प्रधानमन्त्री हुँदा पनि सुदूरपश्चिममा केही काम गरेँ । त्यसपछि पनि सबैभन्दा बढी मैले सुदूरपश्चिमकै अवलोकनहरु गरेको छु । गेटाको यो विश्वविद्यालय सुदूरपश्चिमको मात्र होइन देशकै गौरव हो ।’

आफ्नो प्राथमिकता सुदूरपश्चिम रहेको कुरा जनाउँदै अहिले पनि फेरि सुदूरपश्चिमबाट अनुगमन सुरु भएको उनको भनाइ छ । उनले आजै कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहको निरीक्षण पनि गर्ने छन् ।

त्यसपछि नेकपा (माओवादी केन्द्र) कञ्चनपुरले ‘जनयुद्ध दिवस’को अवसरमा आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने छन् ।

यस्तै, आजै महेन्द्रनगरको खुलामञ्चमा सुरु हुने १४ औँ सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।