महाकाली कोरिडोर सडक अविलम्ब निर्माण गर्न दबाब

स्वस्फूर्त रुपमा सडक क्षेत्रका घर तोडफोड गर्दै स्थानीय

0
Shares

डडेल्धुरा । 

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश गौरवको योजनामा समावेश गरेको महाकाली कोरिडोर सडक निर्माणमा ढिलासुस्ती भइरहेको भन्दै स्थानीयले स्वस्फूर्त रुपमा सडक क्षेत्रमा रहेका घरहरु भत्काउन थालेका छन् ।

अविलम्ब सडक निर्माणका लागि दबाब दिने उद्देश्यले स्थानीयले सडक क्षेत्रमा रहेका घरहरु भत्काउन थालेका हुन । डडेल्धुराको परशुराम नगरपालिका–७ सादनीस्थित चौराहा बजारका घरधनीहरुले स्वस्फुर्त रुपमा सडक क्षेत्रमा रहेका आफ्ना घर भत्काएर सडक निर्माणमा ढिलासुस्ती नगर्न दबाब दिएका छन् ।
कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिंकर जोड्ने महाकाली कोरिडोर सडक निर्माणमा निकै ढिलासुस्ती भइरहेको स्थानीयको गुनासो छ । कञ्चनपुरलाई त्रिदेशीय नाका बनाएर महाकाली पारीको भूभाग दोधारा चाँदनी हुँदै दार्चुलाको टिंकर जोड्ने महत्त्वपूर्ण सडक योजना निर्माणमा चरम लापरबाही भइरहेको परशुराम नगरपालिका–७ का पूर्व वडाध्यक्ष केशव बोहराले बताउनु भयो ।

दार्चुलादेखि कञ्चनपुरसम्म महाकाली किनारका बस्तीलाई सडक सञ्जालसँग जोड्न डेढ दशकअघि काम सुरु भएको थियो । उक्त आयोजनाको काम निकै सुस्त गतिमा भइरहेको छ । हालसम्म ट्र्याक खोल्ने काम पनि सकिएको छैन ।

ब्रह्मदेवदेखि दार्चुलाको तिखारपानीसम्म ३३४ किलोमिटर सडक निर्माणको काम महाकाली कोरिडोर सडक परियोजनाले गरिरहेको छ । तिखारपानीदेखि टिंकरसम्म ९१ किलोमिटर सडकको ट्र्याक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ । ३३४ किलोमिटरमध्ये हालसम्म २१५ किलोमिटरमा ट्र्याक खोलिएको परियोजनाले जनाएको छ । अझै ११९ किलोमिटरमा ट्र्याक खोल्न बाँकी छ । केही स्थानमा कालोपत्रेका लागि ठेक्का भए पनि काम सुरु हुन सकेको छैन ।
धेरै ठाउँमा रूख कटानीको आदेश नपाएका कारण ट्र्याक खोल्न ढिलाइ भएको हो । कञ्चनपुरमा पर्ने कौवानी वन क्षेत्रको ११ किलोमिटर सडकमा रूख कटानीको आदेश आएको छैन । उक्त सडक खण्डमा १९ सय ५१ रूख काट्नुपर्ने हुन्छ । महाकाली कोरिडोर सडक परियोजनाका अनुसार डडेल्धुरामा १० हजार चार सय ७६ रूख काट्नुपर्ने भए पनि हालसम्म दुई हजार पाँच सय रुख मात्रै काटिएको छ ।

यस्तै, बैतडीमा चार हजार पाँच सय ९६ रूख कटानीको आदेश भरखरै प्राप्त भएको परियोजनाले जनाएको छ । कटानी आदेश प्राप्त भएका क्षेत्रहरुमा रूख कटानीको काम सुरु भएको परियोजना प्रमुख लक्ष्मणदत्त जोशीले बताउनुभयो । उहाँका अनुसार दार्चुलामा पनि दुई हजार ४३ रूखको कटानी आदेश प्राप्त भएको छ । ‘धेरै ठाउँमा रूख कटानीको आदेश नआएका कारण ट्र्याक खोल्ने काम पनि सुरु हुन सकेको छैन,’ परियोजना प्रमुख जोशीले भन्नभयो, ‘रूख कटानीको आदेश पाए अगामी आर्थिक वर्षभित्र ट्र्याक खोल्ने काम सकिने छ ।’

हाल चार स्थानमा ३८ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भएको परियोजनाले जनाएको छ । डडेलधुराको परशुराम नगरपालिका–६ कुणादेखि साँदनीसम्म छ किलोमिटर, दार्चुलामा लेकम गाउँपालिकामा बेतदेखि उकुसम्म १२ किलोमिटर र खलंगादेखि उत्तर १०÷१० किलोमिटरको दुई प्याकेजमा २० किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का भएको हो । कालोपत्रेका लागि ठेक्का भएको डडेल्धुराको कुणामा पर्खाल लगाउने तथा कल्भर्ट हाल्ने काम भइरहेको परशुराम नगरपालिका–६ का वडाध्यक्ष खगेन्द्रबहादुर सिंहले बताउनु भयो ।

तर बीचबाटोमै रहेका रूखहरू भने कटान हुन सकेका छैनन् । सडक सञ्चालनमा आउन सके डडेल्धुराको भित्रिमधेस क्षेत्रबाट आधा घण्टामै भारतीय बजार टनकपुर पुग्न सकिने वडाध्यक्ष सिंहले जानकारी दिनुभयो । सादनी हुँदै तराई झर्ने बाटो बनेमा स्थानीयलाई धेरै राहत हुने परशुराम नगरपालिकाका नगरप्रमुख भरत बढाएर जोशीले बताउनु भयो । भारत सरकारले रणनीतिक आयोजनाका रूपमा महाकाली किनारैकिनार चीन सीमासम्मै राष्ट्रिय राजमार्ग निर्माण गरिसकेको छ । तर वारितर्फ निर्माण हुने भनिएको सडक डेढ दशकसम्म ट्र्याक खोल्ने कामसमेत नसकिएको स्थानीय अगुवा कर्णबहादुर धामीले बताउनु भयो ।

महाकाली कोरिडोर सडक निर्माण भएमा महाकाली किनारका बासिन्दाले तराई झर्नका लागि भारतकै भर पर्नुपर्ने बाध्यता अन्त्य हुने डडेल्धुराको भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौतले बताउनु भयो । तराईदेखि दार्चुलासम्मको सडक यातायात अहिलेको भीमदत्त राजमार्ग हुँदै बैतडी दार्चुला जोड्ने सडकको तुलनामा महाकाली करिडोरले ५० किलोमिटर दूरी छोटिने सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ  । चालु आर्थिक वर्षमा परियोजनाका लागि ४१ करोड बजेट विनियोजन भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका पुर्वमन्त्री पठानसिंह बोहराले प्रदेश गौरवको सडक आयोजना निर्माणमा ढिलासुस्ती गर्न नहुने बताउनु भयो । उहाँले महाकाली कोरिडोर सडक निर्माण हुन सकेमा कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जिल्लाको आर्थिक  विकासमा टेवा पुग्ने दाबी गर्नुभयो । ‘सडक निर्माणका लागि स्थानीयले स्वस्र्फुत रुपमा घर भत्काई रहेका छन्,’ उहाँले भन्नुभयो,‘ढिलासुस्ती हुनुको कारण खोजबिन गरेर द्रुतगतिमा सडक निर्माण गर्न जरुरी छ ।’