राज्य संरचनामा नयाँनयाँ प्रविधि बुझ्ने मान्छे हुनुपर्छ : डा. सीके राउत

0
Shares

काठमाडौँ।

जनमत पार्टीका अध्यक्ष डा. सीके (चन्द्रकान्त) राउतले राज्यको संरचनामा नयाँनयाँ प्रविधिलाई बुझ्नसक्ने मान्छे हुनुपर्ने बताएका छन्।

काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको सूचना प्रविधि मेलाको अवलोकन गर्दै अध्यक्ष राउतले राज्यका संरचनामा सूचना, प्रविधिका नयाँ–नयाँ कुराहरुलाई बुझ्नसक्ने मान्छे हुनुपर्ने बताएका हुन्।

उनले राजनीतिक तहमा प्रविधिसँग जानकार व्यक्तिको पहुँच भएमा देशमा प्रविधिको बिस्तार गर्न सहज हुने बताए। उनले राज्यले कुनैपनि प्रकारका प्रविधिहरुको प्रयोग गर्दा त्यसको सुरक्षाको सम्बन्धमा ध्यान दिनुपर्नेमा जोड दिए।

प्रविधिको प्रयोग गर्दा राज्यले डाटा सर्भर कहाँ राख्ने? सुरक्षा नीति के हुने? लगायतको विषयमा विशेष रुपमा ध्यान पुर्‍याउनुपर्ने उनले बताए।

‘राज्यका संरचनामा सबभन्दा पहिला बुझ्नसक्ने मान्छे हुनुपर्‍यो । नयाँ प्रविधिलाई। हामीकहाँ उदाहरणहरु छन् छिमेकी मुलुकहरुमा
कम्प्युटर प्रयोग गर्न हुन्न भन्नेखालको अभिव्यक्ति दिने व्यक्ति प्रदेशको शिर्षस्थ स्थानमा हुनुहुन्थ्यो’, उनले भने, ‘यो किन हुन्छ भने सूचना र प्रविधि क्षेत्रको विषयमा जानकार नभइदिदाखेरी हाँस्यास्पद स्थितिहरु पनि हामीले देख्ने गरेका छौँ। त्यो भएर सकेसम्म राजनीतिक ठाउँमा प्रविधिसँग जानकार व्यक्तिको पहुँच भयो भने प्रविधिको विस्तार गर्न सहज हुन्छ।’

उनले सूचना र प्रविधिको आजको युगमा किताबमा समेत भन्सार शुल्क लाग्ने गरेको भन्दै दुर्भाग्यपूर्ण अवस्था भएको टिप्पणी गरे।

विज्ञान, प्रविधिको प्रयोग तथा विस्तारका लागि राजनीतिक स्तरमा पनि चेतना हुनुपर्ने उनले बताए।