निमावि तहमा शिक्षक पदस्थापन : कनिष्ठविरुद्ध वरिष्ठको उजुरी

0
Shares

काभ्रे । 

निम्न माध्यमिक तहमा सिफारिस भएका ३९ जना शिक्षकहरूलाई नियुक्ति लिएर स्थानीय तह छनौट गर्ने अवधि सकिएको छ । शिक्षा विकास तथा समन्वय इकाईले माघ १५ गते ७ दिनको समय दिएर नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयका शिक्षकहरूलाई नियुक्तिका लागि आव्हान गरेको थियो ।

‘स्थानीय तहले पठाएको दरबन्दी विवरण अनुसार जिल्लामा निम्न माध्यमिक तह तृतीय श्रेणीमा स्थायी नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारहरूको योग्यता क्रम अनुसारको रोजाईका आधारमा स्थानीय तहमा नियुक्ति गरी पदस्थापन गरिनेछ’–शिक्षा विकास समन्वय इकाईका प्रमुख उप सचिव गोकर्ण ध्वज कार्कीले भन्नुभयो–‘आफू भन्दा कनिष्ठ सेवामा रहेर त्यो भन्दा अगावै नियुक्ति पाएका शिक्षकहरूले छाड्नु पर्ने अवस्था सिर्जना भएको भन्दै केही निवेदनहरू आएका छन् ।

निवेदन उपर छलफल हुनेछ ।’ चार जना शिक्षकले आफू भन्दा कनिष्ठ राखेर आफूलाई हट्न बाध्य पारेको उल्लेख गर्दै छानबिन गरी आफ्नो पद जोगाउन अनुरोध गरेका छन् । शिक्षा विकास तथा समन्वय इकाईमा रोशी गाउँपालिकाका गणित विषयका शिक्षक शेषमाया राना मगर, अंग्रेजी विषयका शिक्षक अनिल थापाले २०७९ माघ २० गते निवेदन दर्ता गराएका छन् ।  त्यस्तै बेथान्चोक गाउँपालिका वडा नम्बर ६ स्थित सरस्वती मावी भुग्देउमा कार्यरत अंग्रेजी विषयका शिक्षक इन्द्रकुमारी तामाङ, महाभारत गाउँपालिका वडा नम्बर ८ घर्तिछापमा रहेको जनकल्याण माविमा कार्यरत अंग्रेजी विषयमा कार्यरत शिक्षक होमबहादुर रानाले चौर देउराली गाउँपालिकामा आफू भन्दा कनिष्ठ अंग्रेजी विषयका शिक्षकको जागिर रहिरहने र आफ्नो जागिर अवकाश हुने परिस्थिति सृजना भएकोमा कनिष्ठताको आधारमा पदस्थापन गरिदिन माग गरेका छन् ।

इन्द्रकुमारीको नियुक्ति २९७५ माघ ६ गते भएको थियो भने हो बहादुर रानाको २०७५ भदौ १४ गते भएको थियो । चौर देउराली गाउँपालिकामा उनीहरू भन्दा पछि नियुक्ति भएका सोही विषयका शिक्षकहरूको जागिर रहेर आफूहरू हट्नु पर्ने अवस्था आएको निवेदनमा उल्लेख गरिएको छ । ‘गाउँपालिकाले पठाएको विवरण भन्दा हामीले तलमाथि केही गर्न मिल्दैन र गरेका पनि छैनौ’–समन्वय इकाई प्रमुख कार्कीले भन्नुभयो–‘चौर देउराली गाउँपालिकाले पठाएको विवरणका बारेमा अध्ययन गर्नेछौँ ।’

नेपाली विषयका ७, अंग्रेजीमा ११, गणित ८, विज्ञान ९, सामाजिक ४ जना गरी ३९ जनाको पदस्थापन हुँदै्रछ । पाँचखाल नगरपालिकामा नेपाली, अंग्रेजी र गणित विषयका १-१ जनाको पदस्थापन हुनेछ भने नमोबद्धमा गणित १ र विज्ञान विषयको २ जना पदस्थापन हुनेछन् । मण्डनदेउपुरमा ५ जना पदस्थापन हुनेछन् ।

चौर देउराली गाउँपालिकामा नेपाली २, अंग्रेजी २, गणित १, विज्ञान १ गरी ६ जना पदस्थापन हुँदैछन् । तेमालमा ३, रोशीमा ८, बेथान्चोकमा ३, महाभारतमा १, भुम्लुमा ४, पनौतीमा २, बनेपामा १ जना शिक्षक पदस्थापन हुनेछन् । खानी खोला र धुलिखेल नगरपालिकामा यो पटक कुनै शिक्षक पनि पदस्थापन हुनेछैनन् ।