टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या २० हजार नाघ्यो, घाइते र मृतकको संख्या अझै बढ्ने

0
Shares

काठमाडौं ।

टर्की र सिरियाको भूकम्पमा परी मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । टर्कीमा मात्रै मृत्यु हुनेको संख्या १७ हजार ६ सय पुगेको त्यहाँको सरकारी समाचार संस्था अनाडोलु एजेन्सीले उल्लेख गरेको छ । अनाडोलुका अनुसार सिरियामा ३ हजार भन्दा बढीले ज्यान गुमाएका छन् ।

त्यस्तै हजारौँ घाइते छन् । लाखौँको सङ्ख्यामा मानिसहरू घरबारविहीन बनेको तथ्याङ्क छ । यद्यपि उद्धारकहरूले भूकम्पमा परेकाहरूको खोजी र उद्धार गरिरहेकै छन् । सहायताकर्मी खोजी र उद्धार कार्यमा चौथो दिन पनि टोलीहरू परिचालित छन् । घाइते र मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूको भनाइ छ ।

वर्षा र हिमपातले उद्धारमा थप समस्या देखिएको छ । भूकम्प प्रभावित क्षेत्रमा राहत पुर्‍याउने र पीडितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन विश्वका धेरै देशले सहयोग सामग्री पुर्‍याइरहेका छन् । हिउँदको चिसो, भोकमरी र निराशाले यति बेला टर्की र सिरियाका लाखौँ मानिसहरू थप पिडामा छन् ।

यसैबीच भूकम्प प्रभावितहरूको उद्धार र राहतमा ढिलाइ भएको भन्दै आलोचना भइरहँदा टर्कीका राष्ट्रपति तैयप इर्दोआनले प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । टर्कीका दश प्रान्तमा ३ महिनाका लागि संकटकाल लागू गरिएको छ ।