राष्ट्रपति भण्डारीले आज संसद्को संयुक्त बैठकलाई विशेष सम्बोधन गर्दै

0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन् । आज (शुक्रबार) दिउँसो ३ बजे भण्डारीले संसद्को संयुक्त बैठकलाई विशेष सम्बोधन गर्ने भएकी हुन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । राष्ट्रपतिले गर्ने विशेष सम्बोधनको प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्ने संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए ।

त्यसपछि संयुक्त बैठकले धन्यवादको प्रस्ताव पारित गर्ने कार्यसूची छ । नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले आज दिउँसो ३ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई भण्डारीले सम्बोधन गर्न लागेकी हुन् ।

संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ ।