उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अनिश्चित

ओली–प्रचण्डबीच ४५ दिनभित्र १७ पटक भेटवार्ता

0
Shares

काठमाडौं । सातदलीय सत्ता गठबन्धनले निर्माण गरेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अनिश्चित भएको छ । गठबन्धन दलका मूख्य घटक नेपाल कम्युनिस्ट पार्टी एमाले र सरकारको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) बीच शक्ति बाँडफाँटमा कुरा नमिलेपछि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अनिश्चित भएको हो ।

बुधबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष समेत रहेका उच्चस्तरीय संयन्त्रका संयोजक ओलीबीच भएको भेटवार्तामा बिहीबार संयन्त्रको बैठक बसेर पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्ने सहमति भएको थियो । तर, बिहीबार पुनः ओली र प्रचण्डबीच मात्रै छलफल भएको थियो । सरकार गठन भएको ४५ दिनभित्र ओली र प्रचण्डबीच बालकोट, बालुवाटार र खुमलटारमा १७ पटक वार्ता भएको भए तापनि त्यसबारे ठोस निष्कर्ष आउन सकेको छैन ।

सरकारलाई सहयोग र सहजीकरण गर्न गठन भएको उच्चस्तरीय संयन्त्रको बैठक लामो समयदेखि बस्न नसक्दा सरकारको आन्तरिक मूल्यांकन समेत हुन नसकेको नेताहरुले बताएका छन् । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र गठबन्धनको मुख्य दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच लामो छलफलपछि बिहीबार बस्ने भनिएको संयन्त्रको बैठक स्थगित भएको छ ।

डेढ महिनामै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको स्थिति र माओवादी केन्द्रले ‘सहमतिमा राष्ट्रपति’ को अडान लिएपछि सत्तारूढ दलमा बढेको खटपटले संयन्त्रको बैठक बस्न नसकेको एमालेका एक केन्द्रीय सदस्यले बताए । एमालेले गठबन्धन दलहरुबीच भएको सहमतिअनुसार राष्ट्रपति आफूले पाउनुपर्ने दाबी छाडेको छैन भने प्रधानमन्त्री प्रचण्डले ‘सहमतिमा राष्ट्रपति’को कार्ड फालेर एमालेलाई चिढ्याउनुभएको छ ।

राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्छ भन्ने पक्षमा रहेका प्रचण्डलाई पटक–पटक भेटेर ओलीले पूर्वसहमति कार्यान्वयन गर्न आग्रह गरिरहनुभएको छ । पुस १० गते शीर्ष नेताबीचको कुराकानीमा प्रधानमन्त्री माओवादी र राष्ट्रपति एमालेले लिने सहमति भएकाले सोहीअनुसार कार्यान्वयन हुनुपर्ने बताउँदै एमालेका केन्द्रीय सदस्य विशाल भट्टराइले भन्नुभयो– ‘गठबन्धन दलहरुबीचको सहमतिअनुसार सभामुख र प्रधानमन्त्रीमा एमाले र माओवादीले आलोपालो गर्ने सहमतिको कार्यान्वयन शुरु भएको छ ।’

प्रधानमन्त्रीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसाउने र ठोस निर्णय लिने पहल गर्न आनाकानी गरिरहेको आरोप लगाउँदै भट्टराइले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘पूर्वप्रधानमन्त्री समेत रहनुभएका हाम्रा अध्यक्ष केपी ओली पटक–पटक प्रधानमन्त्रीलाई आफ्नै समस्या लिएर भेट्ने जानुभएको छ । तर, प्रचण्डबाटै सरकारलाई सहयोग गर्ने, सरकारको कामकाज कसरी अगाडि बढाउने भन्ने बारेमा एक दिन पनि छलफल भएको छैन ।’ संयन्त्रको बैठक बस्ने भनेको दिन बिहीबार नै प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका महामन्त्री गगनकुमार थापाबीच भेटवार्ता भएको थियो ।

माओवादी आगामी दुई वर्षपछिको शक्ति सन्तुलनका लागि पनि राष्ट्रपतिमा एमालेभन्दा फरक दलबाट उम्मेदवार बनाउने पक्षमा छ । उपराष्ट्रपतिको निर्वाचनका सम्बन्धमा पनि सत्ता साझेदार दलहरुबीच एकरूपता छैन । पछिल्लो समय कांग्रेस नेताहरुले प्रधानमन्त्री प्रचण्डसँगको भेटघाट अघि बढाएका छन् ।

फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार उठाउने र त्यसका लागि माओवादीको समर्थन जुटाउने कसरतमा नेपाली कांग्रेस लागेको छ ।