नेकपा माओवादी केन्द्रको नाम र चुनाव चिह्न फेरिने

केन्द्रीय पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिले समेत पूर्णता पायो

0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत हप्ता भएको स्थायी कमिटी बैठकका राख्नुभएको पार्टीको नाम र चुनाव चिह्न फेर्ने प्रस्ताव पारित भएको छ । प्रचण्डको उक्त प्रस्तावलाई स्थायी कमिटीले अनुमोदन गर्दै नाम र चुनाव चुनाव चिह्न फेर्ने निर्णय गरेको हो ।

१२ देखि २१ माघसम्म सञ्चालित माओवादीको स्थायी कमिटी बैठकमा प्रचण्डले नाम, चुनाव चिह्न र पार्टीको संरचनामा आमूल परिवर्तन गर्ने प्रस्ताव गर्नुभएको थियो । उहाँले प्रस्तावमा भन्नुभएको थियो– ‘संरचनागत, विधि र पद्धति, नाम र चिह्नलगायतका विषयलाई आमूल परिवर्तन गर्दै आजको जनमनोविज्ञान, भू–राजनीतिक व्यवस्था एवं प्रतिस्पर्धालाई समेत ध्यानमा राखी सुदृढ र व्यवस्थित कम्युनिस्ट पार्टी निर्माणमा लाग्नुपर्छ ।’ प्रस्तावमा प्रचण्डले विचार, सिद्धान्त र व्यवहार मिल्नेहरूसँग पार्टी एकता गर्ने र तत्काल एकता सम्भव नभएका वापमन्थी प्रगतिशील शक्तिहरूसँग सहकार्यका लागि मोर्चा निर्माण गर्ने प्रस्तावसमेत अगाडि सार्नुभएको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले अध्यक्ष प्रचण्डले पार्टीको नाम, चुनाव चिह्न र संरचना परिवर्तन गर्ने गरी प्रस्तुत राजनीतिक प्रस्ताव बैठकले पारित गरेको जानकारी दिनुभयो । यसका लागि पार्टीभित्र प्रारम्भिक चरणमा तीन महिनाका लागि कार्यक्रम प्रस्ताव गरेको समेत उहाँले बताउनुभयो ।

‘मूलतः वामपन्थी पार्टीहरूसँगको एकतालाई प्राथमिकतामा राखी छलफलहरू गर्ने, पार्टी एकता गर्दा वामपन्थी र गैरवामपन्थीबीचको भेदलाई आत्मसात् गर्दै तत्सम्बन्धी नीति र विधिहरू तय गर्ने अध्यक्षले प्रस्ताव गर्नुभएको थियो’, महराले भन्नुभयो– ‘तत्काल एकता सम्भव नभएका वामपन्थी प्रगतिशील शक्तिहरूसँग सहकार्यका लागि मोर्चा निर्माण गर्ने निर्णयमा पार्टी पुगेको छ ।’ प्रचण्डले आधारभूत जनता र वर्गसँग सम्बन्ध टाढिँदा माओवादी खुम्चिँदै गएको स्वीकार गर्दै उक्त एजेन्डा अघि सार्नुभएको थियो ।

प्रस्तावमा प्रचण्डले २०६४ सालमा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा ३१ लाखभन्दा बढी मत पाएको माओवादी २०७९ सालमा ११ लाख ७५ हजारमा खुम्चँदै काठमाडौं उपत्यकामा निल हुनुका कारण खोतल्ने प्रयाससमेत गर्नुभएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले भन्नुभएको छ– ‘यसका पछाडि आधारभूत जनता र वर्गसँग हाम्रो सम्बन्ध टाढिएको शहरिया मध्यमवर्गको साथ लिन नसकेको, युवा र बौद्धिक जमातलाई आकर्षित गर्न नसकेको कुरा पुष्टि भएको छ ।’ पार्टी सदस्य बराबर पनि समानुपातिक मत प्राप्त गर्न नसक्नुले संगठनको अवस्थालाई उजागर गरेको उहाँको निष्कर्ष छ ।

पार्टीका नेताहरूले आफ्नो हैसियत र जिम्मेवारी प्रचारका लागि प्रयोग गरे पनि पार्टीको परिणामका लागि काम नगरेको विषयमा समेत अध्यक्ष प्रचण्डले ध्यानाकर्षण गराउनुभएको एक केन्द्रीय सदस्यले बताए । ‘हालको संगठनात्मक अवस्था हेर्दा न सदस्यको स्पष्ट नाम र संख्या छ न त पार्टीले दाबी गरेका र प्रवेश गरेका विभिन्न कमरेडहरूको पद र तहहरूको स्पष्टता छ । बैठक बस्न गाह्रो छ ।’ –प्रचण्डको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले नेपाल समाचारपत्रसँग भने ।

विषयवस्तुमा छलफल र बहस गरी निष्कर्षमा पुग्न कठिन संरचना र पार्टीको हैसियतलाई प्रचारका लागि उपयोग गरे पनि परिणाममा नजोडिने, जनता र वर्गसँग सम्बन्ध नराख्ने, केन्द्रमुखी प्रवृत्तिको बाहुल्यता भएको अवस्था रहेको कुरालाई अध्यक्षले बैठकमा प्रस्ट राखेको उनको भनाइ छ । अध्यक्ष प्रचण्डको यो प्रस्ताव माओवादी स्थायी समिति बैठकले पास गरेपछि माओवादी अब नाम र चुनाव चिह्न फेर्ने निर्णयमा पुगेको छ ।

यसैबीच, नेकपा माओवादी केन्द्रले केन्द्रीय पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिलाई पूर्णता दिएको छ । माओवादी केन्द्रको हालै सम्पन्न स्थायी कमिटी बैठकले स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिसमेतलाई पूर्णता दिएको हो । पदाधिकारीमा अध्यक्ष प्रचण्डसहित २२ जना रहेका छन् भने स्थायी कमिटीमा ४४ जना, केन्द्रीय समितिमा ३ सय ८६ जना रहेको नेकपा माओवादी केन्द्रले जनाएको छ ।

यस्तै, वैकल्पिक केन्द्रीय समिति सदस्यमा २ सय २ जना रहेका छन् । आठौं महाधिवेशनपछि पदाधिकारी चयनबाहेक नेताहरुको कार्यविभाजन गर्न नसकेको माओवादीले महाधिवेशनअघिकै कार्यविभाजनलाई ब्युँताउने निर्णय गरेको नेताहरुले बताएका छन् ।

तर, सह–इन्चार्जको व्यवस्था हाललाई नराख्ने निर्णय भएको छ । प्रदेश समन्वय समितिको बैठक राखी सबै केन्द्रीय सदस्य र प्रदेश सदस्यसहित सबै नेताहरुको जिम्मेवारी तोक्दा एकपद एक कार्यकारी जिम्मेवारीमा जोड दिने हालै सम्पन्न स्थायी कमिटी बैठकले तय गरेको नेकपा माओवादीका केन्द्रीय सदस्य हिमाल शर्माले बताउनुभयो ।