गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको भाखा सरेको सर्‍यै, उडान नहुँदा मासिक ३० लाख घाटा

0
Shares

बुटवल। 

रुपन्देहीको भैरहवामा रहेको गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ महिनादेखि रोकिएको अन्तर्राष्ट्रिय उडानको भाखा मुसाले पाठा सारे झैँ सरेको सर्‍यै छ । जसले गर्दा फुलफेजमा सञ्चालन नहुँदै उडान रोकिएकाले महिनाको ३० लाखसम्म विमानस्थललाई घाटा लागेको विमानस्थल आयोजनाका प्रवक्ता सुवास झाले बताउनु भयो।

गत  १६ डिसेम्बरमा हिमालय एयरलाइन्सले र डिसेम्बर २१ मा जजिराले मौसमको खराबी देखाउँदै अन्तर्राष्ट्रिय उडान बन्द गरेका थिए । जजिराले फेब्रुअरी २ तारिखबाट उडान सुचारु गर्ने बताउँदै आएको थियो । अहिले आएर जजिराले फेरि मिति सादै मार्चदेखि उडान हुने आश्वासन दिएको प्रवक्ता झाले बताउनु भयो ।
२०७९ जेठ २ गते बुद्ध पूर्णिमाका दिन विशेष समारोहका बीच विमानस्थल शुभारम्भ गरिएको थियो । नेपालमै अन्तर्राष्ट्रिय उडान हुने दोस्रो विमानस्थल भैरहवामा सञ्चालनमा आउँदा लुम्बिनीमा मात्रै होइन, देशव्यापी खुसीयाली भएको थियो। किनकि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि अर्को त्यस्तै विमानस्थल बनेको थियो। तर गौतमबद्ध विमानस्थलको अन्तर्राष्ट्रिय हवाई उडानको यात्रा भने ७ महिना नबित्दै रोकिएपछि खुसीयाली निराशामा परिणत भएको छ।

जजिराले सुरुमा हप्ताको तीन दिन गर्दै दैनिक उडान गरेको थियो। यात्रुको संख्या कम भएपछि हप्तामा तीन दिनमै सीमित भएको थियो। पुस ६ गतेदेखि हुस्सुको कारण देखाउँदै उडान रोकेको थियो ।गौतमबुुद्ध विमानस्थलमा प्राय: रोजगारीमा जानेहरूले नै प्रयोग गर्ने गरेकाले यहाँ श्रम स्वीकृति, भिसा सेन्टर, स्वास्थ्य उपचार जस्ता प्राविधिक समस्या छ । भिसा प्रक्रियाका लागि भोग्नुपरेको झन्झटका कारण यात्रुको संख्या कम हुने हुँदा पनि समस्या भएको जानकारहरु बताउँछन् । श्रम स्वीकृतिदेखि वैदेशिक रोजगारीमा जानका लागि आवश्यक पर्ने कार्यालय, म्यानपावर लगायतका निकाय यहाँ नहुँदा पनि हवाई उडानमा समस्या देखापरेको आशंका गर्न सकिन्छ ।

त्यस्तै विमानस्थल नजिकै रहेको भन्सार कार्यालय र अन्य विमानस्थलसँग सम्बन्धित निकाय र कार्यालयले समेत सेवा प्रवाह काठमाडौँबाट भैरहवा ल्याउन हिचकिचाउँदा पनि विमानस्थल सञ्चालनमा कठिनाइ भइरहेको होकी भन्ने अनुमान सरोकारवालाहरुको छ।प्राविधिक उपकरण सञ्चालन नहुँदा पनि अन्तर्राष्ट्रिय उडान प्रभावित बनेको विमानस्थलका प्रवक्ता झाले बताउनु हुन्छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिमेकी मुलुक भारतको सीमा नजिकै भएकाले भारतीय आकाशको प्रयोग गर्नुपर्ने हुन्छ ।तर भारतले आफ्नो आकाश प्रयोग गर्न नदिँदा पनि विमानस्थलको प्रयोगमा एयरलायन्सहरूको अरुचि बढेको हो । भारतले सुरक्षाको कारण देखाउँदै गौतम बुद्ध विमानस्थललाई सहज हुने पश्चिमतर्फको हवाई प्रवेश बिन्दु दिन मानिरहेको छैन।

विमानस्थलमा जडित आईएलएस ९ उपकरणको मद्दतबाट विमान ल्यान्डिङ गर्ने प्रणाली सञ्चालनमा आउन नसक्दा भैरहवाका लागि हुने गरेका सबै अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएको हो।

यो आकाश प्रयोग गर्ने अनुमतिका लागि उच्चस्तरीय तहबाट संवाद गरेर निकास निकाल्नुपर्नेछ।अहिले मौसम सफा भए पनि यात्रु र अन्य कारणले एयरलायन्सहरूले उडानका लागि इच्छा देखाएका छैनन्। जमिनको मुआब्जासहित ३० अर्ब रुपैयाँभन्दा बढी लागतको लागेको विमानस्थलमा अन्तर्राष्ट्रिय जहाज सञ्चालन नहुँदा राज्यको लगानी बालुवामा पानी सरह भएको छ ।