आलितालका अव्यवस्थित बसोबासी, भूमिहीन र सुकुम्वासीलाई लालपुर्जा

0
Shares

डडेल्धुरा। 

डडेल्धुराको भित्रिमधेस क्षेत्र आलिताल गाउँपालिका वडा नंं.८ का २१ परिवार भूमिहीन सुकुम्वासीहरुलाई जग्गाधनी प्रमाण पत्र (लालपुर्जा) वितरण गरिएको छ ।
आलिताल गाउँपालिका–८ को वडा कार्यालयमा आयोजित लालपुर्जा वितरण कार्यक्रममा वडा नं.८ का दलित भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासमा रहेका कुल २१ परिवारलाई लालपुर्जा हस्तान्तरण गरिएको हो । वडा नं.८ का अध्यक्ष धनबहादुर देउवाको अध्यक्षता सम्पन्न जग्गाधनी प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष शेरसिंह पार्की, गाउँपालिका उपाध्यक्ष मैनाकुमारी रावल बोहरा, गाउँपालिका पूर्व उपाध्यक्ष जला विष्ट बोगटी, जिल्ला मालपोत कार्यालय प्रमुखका अशोक सार्की, नापी कार्यालय डडेल्धुराका प्रमुख महादेव भट्ट लगायतको उपस्थिति थियो ।

कार्यक्रममा राष्ट्रिय भूमि आयोग डडेल्धुराका अध्यक्ष शेरबहादुर भण्डारी, सदस्यहरु ओमप्रकाश साउँद, लक्ष्मीकान्त पनेरु तथा मञ्जु धामीको उपस्थिति थियो । आलिताल गाउँपालिकाका अव्यवस्थित, भूमिहीन, सुकुम्वासी रहेका करिब दुई हजार घरधुरीलाई जग्गाधनी पुर्जा दिने कार्यक्रम रहेको अध्यक्ष भण्डारीले बताउनु भयो ।

कार्यक्रमको सुरुवातमा आलिताल गाउँपालिका–८ मा जग्गाधनी पुर्जा वितरण गरिएको राष्ट्रिय भूमि आयोग डडेल्धुराले जनाएको छ । केही दिन भित्र आलिताल गाउँपालिका वडा नं.४ र ५ मा जग्गाधनी प्रमाणपत्र वितरण गरिने आलिताल गाउँपालिकाका अध्यक्ष पार्कीले जानकारी दिनुभयो ।

राष्ट्रिय भूमि आयोगले देशभरका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरुलाई व्यवस्थित गर्न जमिनको नापजोख गरेर प्रमाणीकरण गर्दै जग्गाधनी प्रमाणपत्र वितरण गर्ने कार्यक्रम अनुरूप डडेल्धुरामा पहिलो पटक आलितालबाट लालपुर्जा वितरणको काम सुरु गरेको हो । ऐलानी जग्गामा बसोबास गरिरहेका व्यक्तिहरूसँगै भूमिहीन र सुकुम्बासीहरुले जग्गाधनी प्रमाण पुर्जा  पाउने भएपछि स्थानीय हर्षित छन् । जिल्लाका सातवटै पालिकामा जग्गाधनी प्रमाण पुर्जा वितरण गरिने छ ।