सुदूरपश्चिममा एमाले सरकार ढल्याे अब कांग्रेसकाे गठन हुने

0
Shares

धनगढी ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले प्रदेशसभाबाट विश्वासको मत पाएनन् ।बिहीबार बसेको प्रदेशसभाको बैठकमा उनले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको सभामुख भीम भण्डारीले घोषणा गरेका हुन् ।

गत २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त रावलले बिहीबार (२६ माघ)भित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्ने थियो ।   तर, सरकार बनाउँदा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीका सांसद भने बैठकमा अनुपस्थित भएका कारणले रावलले विश्वासको मत पाउन सकेनन् । योसँगै रावल मुख्यमन्त्रीबाट पदमुक्त भएका छन् ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी सहित अन्य जनाको जेलमुक्तिको सर्त पुरा गर्न सत्तागठबन्धनले नसकेपछि सरकार नै ढलेको हो । विश्वासको मत माग्ने प्रस्ताव नै अस्वीकृत भएको कारण प्रदेश सरकार ढलेको यो पहिलो घटना हो ।

एमाले, माओवादी, नाउपा र राप्रपाको समर्थनबाट २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका रावलले संविधानको धारा १६८ ९४० अनुसार विश्वासको मत लिने बिहीबार अन्तिम दिन थियो ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा माओवादीका ११, एमालेका १०, नाउपाका ७ र राप्रपाका १ जना सांसद छन् । नाउपा बैठकमै सहभागी भएन । सरकारलाई बहुमतका लागि २७ मत आवश्यक पर्‍थ्यो ।