टर्कीमा अत्यावश्यक सामग्री र मेडिकल टिम प्रदान गरिने

परराष्ट्र मन्त्रीद्वारा फोन वार्ता

0
Shares

काठमाडौं । सोमबार बिहान गएको विनाशकारी भूकम्पमा परी टर्कीमा ठूलो जनधनको क्षति भएपछि नेपाल सरकारले त्यहाँ अत्यावश्यक सामग्री र मेडिकल टिम पठाउने भएको छ ।

बुधबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले विनाशकारी भूकम्पपछि त्यहाँको जनजीवन अस्तव्यस्त बनेपछि टर्कीमा मानवीय सहायता प्रदान गर्ने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टर्कीमा भएको विनाशकारी विपत्तिमा सहयोग गर्नुपर्ने बताएपछि उक्त निर्णय भएको हो । नेपालको असल राष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव सहयोग गर्नुपर्ने उहाँले बताउनुभएको थियो ।

नेपालमा गएको विनासकारी भूकम्पमा पनि टर्कीले मानवीय सहायता प्रदान गरेको थियो । नेपालबाट केही दिनभित्रै मेडिकल टोेली र अत्यावश्यक सामग्री पठाउने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शंकरदास बैरागी, प्रधानसेनापतिलगायत समितिका पदाधिकारीको सहभागिता रहेको थियो ।

बैठकले आवश्यक तयारी गरेर छिटोभन्दा छिटो मेडिकल टोली, मेडिकल सामग्री, लजिस्टिक सामग्री र टर्कीको वातावरणसँग मिल्ने खाद्य सामग्री पठाउने निर्णय गरेको छ ।

टर्कीमा गएको विनाशकारी भूकम्पमा परी १२ हजारभन्दा बढी नागरिकले ज्यान गुमाइसकेका छन् भने हजारौंको संख्यामा भौतिक संरचना भत्किएको छ । अहिले त्यहाँ गहिरो मानवीय संकट उत्पन्न भएको छ । उक्त घटनामा परी २० हजारभन्दा बढी घाइते भएका छन् ।
तीन नेपाली सम्पर्कविहीन

टर्की र सिरियाको सीमा नजिकै गएको शक्तिशाली भूकम्पमा परेर तीन नेपाली सम्पर्कविहीन भएको पाइएको छ । सम्पर्कविहीन भएका नेपाली कहाँका हुन् भन्ने खुलेको छैन ।

टर्कीस्थित नेपाली दूतावास नभएको कारण त्यहाँ कति संख्यामा नेपालीहरु रहेका छन् भन्ने यकिन तथ्यांक नभएको टर्कीलाई हेर्ने पाकिस्तानस्थित नेपाली दूतावासले जानकारी दिएको छ । पछिल्लो समाचारअनुसार वैध तथा अवैध गरेर नेपाली ४ हजारदेखि ५ हजारको हाराहारीमा त्यहाँ रहेको अनुमान गरिएको छ ।

७ दशमलव ८ म्याग्नेच्युटको भूकम्पपछि त्यहाँ लगातार वर्षा भइरहेको र हिउँ पर्ने क्रम नरोकिएकाले बाँचेका मानिसको जीवन झन् कष्टकर बन्दै गएको बीबीसीले जनाएको छ ।

टर्की सरकारले देशमा संकटकाल घोषणा गरेर उद्धारको कामलाई तीव्रता दिएको भए पनि उक्त भूकम्पपछिको लगातारको पराकम्पनका कारण उद्धारमा समेत कठिनाइ भएको टर्कीका राष्ट्रपति रेतेप तथ्यय एर्दोआनाले जानकारी गराउनुभएको छ । अहिले विश्वका ३० देशका उद्धारकर्मीहरु टर्की र सिरिया पुगेका छन् । छिमेकी मुलुक भारतले पनि उद्धारकर्ता र चिकित्सकको टोली टर्की पु¥याएको जानकारी दिएको छ ।

परराष्ट्र मन्त्रीद्वारा फोन वार्ता

विनाशकारी भूकम्पपछि संकटमा फसेको टर्कीलाई मानवीय सहायतालगायतका विषयमा नेपालकी परराष्ट्रमन्त्री विमला राई पौडेलले टर्कीका विदेशमन्त्री मेवलुट चावोस्वग्लुलाई टोलिफोन गर्नुभएको छ । मन्त्री पौडेलले त्यहाँका विदेशमन्त्रीलाई टेलिफोनमार्फत भूकम्पमा परी मारिएकाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

फोनवार्ताका क्रममा विदेशमन्त्री मेवलुटलाई नेपालले सक्दो मानवीय सहायता गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको थियो । उहाँले भूकम्प प्रभावित क्षेत्रमा फसेका नेपालीलाई सकेसम्म सुरक्षित क्षेत्रमा सार्ने वातावरण मिलाइदिन पनि आग्रह गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।