कीर्ते जग्गामा पौने ३ करोड ऋण, प्रबन्धक सम्पर्कविहीन



राजविराज । सप्तरीस्थित एनआईसी एसिया बैंक राजविराज शाखाले कीर्ते जग्गाधनी खडा गरी पौने ३ करोड रुपियाँ ऋण दिएको खुलासा भएको छ । ऋणको रकम निकासा भएसँगै शाखाका प्रबन्धक सन्तोषकुमार यादव सम्पर्कविहीन भएपछि घटना बाहिरिएको हो ।

प्रबन्धक यादवले कीर्ते जग्गा र सो जग्गाका जग्गाधनी खडा गरी २ करोड ८० लाख रुपियाँ ऋण स्वीकृत गरेको नेपाल समाचारपत्रलाई प्राप्त जग्गा रोक्का विवरणमा उल्लेख रहेको छ । विवरणअनुसार कीर्ते जग्गाधनी राजविराज नगरपालिका–९ (तत्कालीन मलेठ गाविस–७) की वसिरन खातुनलाई प्रसवनी–९ (ग) को कित्ता नम्बर २२१ को १० कठ्ठा ५ धुर जग्गाका जग्गाधनी बनाइएको हो ।

रवीन्द्रकुमार यादवको नाममा रहेको सो जग्गाको कीर्ते जग्गाधनी खानुतलाई बनाई एनआईसी एसिया बैंक राजविराज शाखाले गत आइतबार (माघ २२) गते रोक्का नम्बर १५१२०९८० एनएल ०००२२९० मा जग्गा रोक्का गरेको छ ।

स्रोतका अनुसार शाखाका प्रबन्धक यादव र व्यवसायी मो. समसाद खाँनले कीर्ते जग्गाधनी प्रमाणपत्र तयार गरेर खातुनलाई जग्गाधनी बनाएका हुन् भने खातुनकै बुहारी एएस ट्रेडर्स एन्ड सप्लायर्सकी सञ्चालकसमेत रहेकी राजविराज नगरपालिका–९ की आसमा खातुनलाई ऋणी बनाएका हुन् ।

प्रबन्धक यादवले स्वीकृत ऋणमध्ये माघ २२ गतेदेखि २४ गतेसम्ममा २ करोड ३० लाख रुपियाँ निकासा समेत दिइसकेका छन् भने घटना बाहिरिएसँगै प्रबन्धक यादव र व्यवसायी खाँन सम्पर्कविहीन बनेका छन् ।

भूमि सुधार तथा मालपोत कार्यालय राजविराजका प्रमुख रामनारायण शर्माले प्रसवनी–९ (ग) को कित्ता नम्बर २२१ को जग्गा नगरपालिका–८ निवासी रवीन्द्रकुमार यादवको नाममा रहेको बताउनुभएको छ । ‘त्यो जग्गाको कीर्ते धनी खडा गरी ऋण प्रवाह भएको कुरा मैले पनि सुनेको छु’, उहाँले भन्नुभयो– ‘प्रसवनी–९ (ग) को कित्ता नम्वर २२१ को जग्गा नगरपालिका–८ निवासी रवीन्द्रकुमार यादवको नाममा छ, ढुक्क हुनुस् ।’

एनआईसी एसिया बैंक केन्द्रीय कार्यालयका असिस्टेन्ट जेनेरल म्यानेजर अर्जुन खन्यालले आफूलाई जानकारी नरहेको भन्दै त्यसो गरेको पाइए कारबाही हुने बताउनुभएको छ । ‘यस्तो त नर्मली हुँदैन, तर त्यस्तो भएको हो भन्ने संलग्नलाई कारबाही हुन्छ ।’ –उहाँले भन्नुभयो ।
सप्तरीका प्रहरी उपरीक्षक नरेन्द्र कार्कीले सोबारे प्रहरीसमक्ष जानकारी आइनसकेको बताउनुभएको छ । ‘अहिलेसम्म हामीसमक्ष कुनै जानकारी आइसकेको छैन, खबर आएपछि हामी जानकारी गराउँला ।’ –उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्