काष्ठमण्डपको दलिन हल्लियो, स्थानीय डराए (भिडीओसहित)

0
Shares

काठमाडौं । काठमाडौंको नाम राख्ने काष्ठमण्डप पुनर्निर्माणपछि डरको स्रोत बनेको छ । पुनर्निर्माण सम्पन्नपछि उद्घाटन गरिएको साढे १० महिना बित्न नपाउँदै यसका दलिन हल्लिन थालेका छन् । काठैकाठले अडिएको काष्ठमण्डप झ्याप्प बस्ने हो कि भन्ने त्रास स्थानीयमा बढेको छ ।

यही माघ १ गते केही मन्दिरमा झण्डा राखेको दिन स्थानीय नागरिक काष्ठमण्डपको दोस्रो तलामा पुगेका थिए । उक्त तलाको तीनवटा दलिन हल्लिएपछि स्थानीयले काष्ठमण्डप जुनसुकै बेला ढल्न सक्ने खतरा भएको भन्दै आपत्ति जनाएका छन् ।

स्थानीय राजन महर्जन काष्ठमण्डपको दलिन मात्र होइन भुइँमा बिच्छ्याइएको फल्याकसमेत हल्लिन थालेको बताउनुहुन्छ । सामाजिक सञ्जालमा काष्ठमडपको भिडियो पोस्ट गर्दै उहाँले भन्नुभएको छ– करोडांै रुपियाँ खर्च गरेर बनाइएको काष्ठमण्डपको दलिन हल्लिनु, भित्ता चर्किन थाल्नुले जुनसुकै बेला यो ढल्नसक्ने अवस्था देखाउँछ ।’ बुधबार काष्ठमण्डपको बाहिरी भाग अवलोकन गर्न जाँदा चुना र सुर्कीले बनेको भित्ताको काठले भित्ता नसमातेको देखियो ।

यस विषयमा काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक एवं पूर्व प्रदेश सांसद राजेश शाक्यले भन्नुभयो– ‘हल्ला सुनेको छु, यस विषयमा विज्ञसंँग छलफल गर्नेछौं ।’ सामाजिक सञ्जालको भिडियो हेरिनसकेका उहाँले यस विषयमा आफूहरु गम्भीर रहेको र तत्काल विज्ञको बैठक बसेर समस्या समाधान गरिने जानकारी दिनुभयो । ‘काँचो काठको दलिन भएका कारण सुकेर हल्लिएको र केही काठले स्थान छाडेको हुनसक्छ ।’ –शाक्यको तर्क छ ।

काष्ठमडपको पछिल्लो अवस्थाबारे जानकारी गराउँदा पनि बेवास्ता गरेपछि महर्जनले सो क्षेत्रका प्रतिनिधिसभा सदस्य राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठ, प्रदेश सांसद शैलेन्द्र बज्राचार्य जिल्ला प्रशासन कार्यालय, पुरातत्व विभाग, कामपाको हनुमानढोका दरबार संरक्षण कार्यक्रम कार्यालय, हनुमानढोका दरबारक्षेत्र विकास समितिलाई आवश्यक निरीक्षण गरी कारबाही गरिपाउँ भन्दै पत्र पठाउनुभएको छ ।

महर्जनले लेखेको पत्रमा भनिएको छ– ‘विश्वसम्पदा सूचीमा अंकित हनुमानढोका दरबार क्षेत्रमा रहेको काष्ठमण्डप पुनर्निर्माण गरेको केही महिनामै दोस्रो तलामा रहेको थाम, खम्बाले दलिन छोडिसकेको अवस्था देखिएको र फेरि कुनै पनि बेला भत्कनसक्ने डर भएकाले तत्काल निरीक्षण गरी आवश्यक कारबाही अघि बढाउन माग गर्दछु ।’

कामपा मुख्यालयमा पत्र पठाउँदा दर्ता गर्न नमानेको, हनुमानढोका दरबार विकास समितिले महानगरले पुनर्निर्माण गरेको विषय उठाउँदै त्यसको जिम्मेवार निकाय समिति नभएको भन्दै पत्र दर्ता गर्न इन्कार गरेको महर्जनको भनाइ छ । महर्जनले आज बिहीबार कामपा–२० नम्बर वडा कार्यालयमा पत्र दर्ता गराउने कार्यक्रम रहेको बताउनुभयो ।

संयोजक शाक्यले सो विषयमा समितिले कुनै त्रुटि नगरेको दाबी गर्नुभयो । २०७८ साल चैत २१ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेपछि काष्ठमण्डप हेर्नेको घुइँचो लागेको थियो । त्यसपछि काष्ठमण्डपको सबै गेटमा ताला लागेको छ । अहिले सर्वसाधारणले काष्ठमण्डपबाहिरबाट मात्र अवलोकन गर्न पाउँछन् । समितिले हतारमा काम गरेको देखाउन पुनः निर्माण सम्पन्न गरी राष्ट्रपतिबाट उद्घाटन गराउन सफल भएको महर्जनको आरोप छ ।

२०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले ध्वस्त काष्ठमण्डप (मरुसतः) ३ वर्ष ८ महिनामा पुनर्निर्माण सम्पन्न भएको हो । कामपाको स्वामित्वमा रहेको काष्ठमण्डपको पूर्व प्रदेश सांसद शाक्यको संयोजकत्वमा ५५ सदस्यीय समिति निर्माण गरी पुनर्निर्माण शुरु गरिएको थियो ।

करिब ८ हजार क्युफिट नयाँ र काष्ठमण्डपकै पुराना करिब ४ हजार ९ सय क्युफिट काठ प्रयोग गरी काठमण्डपको पुनर्निर्माण भएको थियो । यसमा करिब १ लाख ६० हजार माःअप्पा, १५ हजार तेलिया इँटा प्रयोग भएको जनाइएको छ । करिब साढे ११ करोड रुपियाँ खर्च भएको काष्ठमण्डपका लागि कामपाले ११ करोड ५० लाख रुपियाँ आर्थिक अनुदान उपलब्ध गराएको थियो ।

भूकम्प अघिको संरचनामा प्रयोग भएका काठ पाचौं शताब्दीका भएको तर काष्ठमण्डप सातौं शताब्दीमा निर्माण गरिएको सो सम्पदाको जगमा भूकम्पबाट कुनै क्षति नपुगेको कुरा युनेस्कोको सहयोगमा बेलायतको दरह्याम विश्वविद्यालय र पुरातत्व विभागको टोलीले गरेको पुरातात्विक अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

हेर्नुहोस् भिडीओ :