कामपाको आर्थिक प्रगति १८ प्रतिशत मात्र, प्रवक्ताको वडाको प्रगति दयनीय

वडाध्यक्ष भन्नुहुन्छ– काम सल्टायौं, रकम लिएनौं

0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका वडाहरुबाट चालू आर्थिक वर्षको अघिल्लो ६ महिनामा वित्तीय प्रगति दयनीय बनेको छ । महानगरले हिजो सार्वजनिक गरेको तथ्याङ्कअनुसार महानगरको वडा नम्बर १७ को अर्धवार्षिक आर्थिक प्रगति अत्यन्तै कमजोर बनेको छ ।

कामपाका प्रवक्ता रहेका नवीन मानन्धर अध्यक्ष रहेको सो वडाको आर्थिक प्रगति शून्य दशमलव ७३ प्रतिशत रहेको छ । अधिक वित्तीय प्रगति गर्नेहरुमा वडाहरुमा १६, २०, १४, २३ र २६ गरी पाँच वडा रहेका छन् । यी वडाले क्रमशः ५१, ४९, ४२, ४१ र ३९ प्रतिशत प्रगति हासिल गरेका छन् । कामपाले चालू आर्थिक वर्षको अघिल्लो ६ महिनामा १८ दशमलव ८४ प्रतिशत वित्तीय प्रगति भएको जनाएको छ ।

सबैभन्दा कम आर्थिक प्रगति गर्ने वडाध्यक्ष एवं प्रवक्ता मानन्धरले लाखौं रुपियाँबराबरको योजना सम्पन्न गरे पनि रकम माग नगरेका कारण कम आर्थिक प्रगति गर्ने वडामा परेको दाबी गर्नुभयो । ‘अब एक वर्षको अवधिमा सबैभन्दा बढी आर्थिक प्रगति गर्ने वडाको लिस्टमा १७ नम्बर वडा रहनेछ ।’ –उहाँले भन्नुभयो । सो वडाले कम प्रगति गरे पनि वडावासीका लागि थुप्रै काम गरेको दाबी गरेको छ ।

१७ पछि कम दोस्रो नम्बरको वडामा ३० नम्बर रहेको छ । सो वडाले २ दशमलव ७६ प्रतिशत मात्र प्रगति गरेको छ । वडा ११ को ४ दशमलव ५१, वडा १३ को ५ दशमलव ६७, वडा ७ को ५ दशमलव ८७, वडा २२ को ६ दशमलव ८९, वडा १५ को ८ दशमलव ८८, वडा १ को ९ दशमलव ८७ प्रतिशत वित्तीय प्रगति भएको छ । महानगरका तथ्याङ्क अधिकृत कृष्णराज तिवारीले अर्धवार्षिक समीक्षा अवधिमा प्राप्त विवरणका आधारमा प्रगति प्रतिशत तयार गरेको जानकारी दिनुभयो ।

तथ्याङ्कअनुसार १० देखि २० प्रतिशतसम्म प्रगति हासिल गर्ने वडाको संख्या १२ छन् । वडा ५ को १० दशमलव २५ प्रतिशत, वडा २५ को १० दशमलव ७३, वडा २७ को ११ दशमलव ९, वडा ३२ को ११ दशमलव ६७, वडा २४ को १३ दशमलव ४ प्रतिशत वित्तीय प्रगति छ ।

वडा ८ को १३ दशमलव ३९, प्रतिशत वडा ४ को १४ दशमलव ५५, वडा १२ को १५ दशमलव ४१, वडा २ को १७ दशमलव ९६, वडा ६ को १८ दशमलव ५२, वडा २९ को १८ दशमलव ९५ र वडा १८ को १९ दशमलव १ प्रतिशत प्रगति छ ।

२० प्रतिशतदेखि ३० प्रतिशत वित्तीय प्रगति गर्नेहरुमा ६ वटा वडा छन् । वडा ३१ को २० दशमलव ८९ प्रतिशत, वडा ३ को २१ दशमलव ७५, वडा २१ को २३ दशमलव ९९, वडा २८ को २४ दशमलव ७६, वडा ९ को २५ दशमलव १४ र वडा १० को २७ दशमलव ८५ को प्रगति छ ।

महानगरको सञ्चित कोषबाट व्यहोर्ने रकम २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार रुपियाँमध्ये १९ अर्ब ६२ करोड ८८ लाख १५ हजार ४३ रुपियाँ केन्द्रबाट खर्च हुन्छ । यसको १५ दशमलव ५४ प्रतिशत वित्तीय प्रगति भएको छ ।