लैंगिक समानता र महिला सशक्तिकरणका लागि ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम

0
Shares

काठमाडौं।

महिलालाई सशक्त बनाउन सके मात्र राष्ट्र समृद्धितर्फ अघि बढ्छ भन्ने अवधारणाका साथ नेपालमा लैंगिक समानता र महिला सशक्तिकरणलाई अगाडि बढाउन संयुक्त राष्ट्र संघ र युरोपेली संघको संयुक्त साझेदारीमा सरकारले ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम अघि बढाएको छ ।

चार वर्षसम्म चल्ने उक्त राष्ट्रिय कार्यक्रमको मंगलबार पाटन दरबार स्क्वायरमा आयोजित समारोहमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, युरोपेली संघका अन्तर्राष्ट्रिय निर्देशक पेटेरिस उस्टुब्स र युनिसेफका नेपाल प्रतिनिधि एल्के विस्चले संयुक्त रुपमा शुभारम्भ गर्नुभएको थियो

समारोहमा मन्त्री चौधरीले लैंगिक हिंसाको अन्त्य र महिला सशक्तिकरणका लागि दर्जनौं कानुन र संरचनागत व्यवस्था भएको भएता पनि व्यवहारमा पूर्णत: लागू नभएको जिकिर गर्दै यसलाई कार्यान्वयनमा लैजान सबैको योगदान आवश्यक पर्ने बताउनुभयो । उहाँले हालसम्म पनि भौतिक विकासलाई मात्र विकास मान्ने गरिएको जिकिर गर्दै बालबालिका, महिला र ज्येष्ठ नागरिकमाथि हुने हिंसा र विभेद रहेसम्म साँचो अर्थमा विकास मान्न नसकिने बताउनुभयो ।

मन्त्री चौधरीले गरिबीले यसै पनि पछाडि पारेको महिलालाई कोभिड–१९ को महामारीले झन् पछाडि पारेको अवस्थामा यो कार्यक्रम आउनु साह्रै सराहनीय भएको भन्दै चार वर्षपछि कार्यक्रमले महिलाको अवस्थालाई कति माथि उकास्यो भन्ने मूल्यांकन पनि होस् भन्ने चाहना व्यक्त गर्नुभयो । उहाँले महिला सशक्तिकरणको यो कार्यक्रमलाई सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा युरोपेली संघको अन्तर्राष्ट्रिय साझेदारीका निर्देशक पेटेरिस उस्टुब्सले नेपाल अहिले रणनीतिक संकटमा रहेको टिप्पणी गर्दै भन्नुभयो– ‘संघीय सरकारको गठनपछि संसदमा महिला प्रतिनिधित्व बढेको छ । यसले राज्यसत्तामा समावेशीतालाई बढाएको छ । तर संविधानको मर्मलाई कार्यान्वयनमा ल्याउन उनीहरूलाई थप सशक्त र राज्य संयन्त्रमा उनीहरूको पहुँच बढाउने चुनौती छ ।’ उहाँले समृद्ध नेपालका लागि महिलालाई सशक्त बनाउनुका साथै उनीहरूको श्रम र योगदानको मूल्य र कदर हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा युनिसेफ नेपालका प्रतिनिधि एल्के विस्चले सशक्त महिलाले समाज र राष्ट्रलाई समृद्ध बनाउन बढी योगदान दिनसक्ने जिकिर गर्दै यो कार्यक्रमले लैंगिक समानता र समावेशी समाजको निर्माण गर्न सहयोग गर्ने बताउनुभयो । उहाँले सबै महिला र किशोरीहरूलाई समान अवसर दिंदै उनीहरूको सम्भाव्यतालाई उजागर गर्न महिला–पुरुष सबैले मिलेर काम गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।

एक करोड ९५ लाख अमेरिकी डलरको ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम कर्णाली, मधेश र सुदूरपश्चिम प्रदेशमा कार्यान्वयन गरिने बताइएको छ । कार्यक्रमलाई संयुक्त राष्ट्रसंघका चार वटा एजेन्सी अन्तर्राष्ट्रिय श्रम संगठन, राष्ट्रसंघीय जनसंख्या कोष, राष्ट्रसंघीय बाल कोष र युएन वुमनको सहयोग रहनेछ ।