लुम्बिनीको सभाहलमा रामकथा प्रवचन गर्न दिनेमा सहमति


काठमाडौं ।

भारतका प्रसिद्ध सन्त गुरु मोरारी बापूबाट लुम्बिनीमा नवनिर्मित अन्तर्राष्ट्रिय सभा हलमा प्रवचन गराउने कार्यप्रति सरोकारवालाहरूले सहमति व्यक्त गरेका छन् ।

श्री राम कथा प्रेम यज्ञले आयोजनामा हुने सो कार्यक्रमको लागि लुम्बिनी विकास कोषले स्वीकृति दिएकोमा विभिन्न बौद्ध संघसंस्थाले केही समययतादेखि विरोध गर्दै आएको स्थितिमा सो सहमति भएको हो।।यसै क्रममा सोमबार लुम्बिनीको पर्सा चोकमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा केही प्रदर्शनकारीहरू घाइते भएका थिए ।

इतिहासको विभिन्न कालखण्डमा बुद्ध धर्मावलम्बीहरूमाथि भएका राज्यको आडमा भएका दमन,उत्पीडनको सन्दर्भमा सो कार्यक्रमप्रति बुद्ध धर्मावलम्बीहरूले चासो प्रकट गर्दै आएको थियो । प्रवचन सुरु हुने दिन मंगलबार लुम्बिनी विकास कोषका पदाधिकारी र सरोकारवालाको नेतृत्व गर्दै आएको नेपाल आदिवासी जनजाति महासंघका पदाधिकारीहरुबीच सो कार्यक्रम सञ्चालन गर्ने विषयमा चार बुँदे सहमति पत्र भएको थियो ।

सहमतिमा लुम्बिनीको गुरुयोजना अनुसार वर्गीकरण गरिएको पुरातात्त्विक स्थान र पवित्र उद्यान, अन्तर्राष्ट्रिय विहार क्षेत्रलाई कुनै पनि असर नपर्ने गरी सम्मेलन केन्द्रमा प्रवचन कार्यक्रम सञ्चालन गर्न दिने उल्लेख गरिएको छ।सो कार्यक्रमको व्यवस्थापन भने कोषले गर्ने छ । अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा बुद्ध, धर्म र संघको दर्शन र परम्परा विपरीत नहुने गरी कार्यक्रम सञ्चालन गर्ने कार्यविधि बनाउने पनि सहमति भएको छ।कार्यविधि बनाउने क्रममा बौद्ध संघसंस्थाको सहभागिता र परामर्शमा कार्यविधि बनाउनुपर्ने भनिएको छ।

त्यस्तै प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचार खर्चको व्यवस्था मिलाउने, शान्ति खलल हुने गरी भएका घटनाको छानबीन दोषीलाई कारबाही गर्ने र लुम्बिनीमा सन्दर्भमा यी विषयलाई लिएर कुनै पनि पक्षले विरोध कार्यक्रम नगर्ने पनि सहमति पत्रमा उल्लेख गरिएको छ।प्रवचन कार्यक्रमलाई लिएर सरोकारवालाले व्यक्त गरेका विषयमा राम कथा प्रेम यज्ञलाई ध्यानाकर्षण गराउने पनि सहमतिमा पत्रमा भनिएको छ ।

सहमति पत्रमा कोषको तर्फबाट कोषाध्यक्ष ढुण्डिराज भट्टराई ९सिद्धिचरण०, कार्यकारिणी समिति सदस्य विश्वराज पौडेल र सरोकारवालाको तर्फबाट महासंघका उपाध्यक्ष युवराज जिरेल, केन्द्रीय कोषाध्यक्ष विमल थारु, संघर्ष समिति संयोजक पार्वती घर्तिमगर, महासंघका रुपन्देही जिल्ला अध्यक्ष चित्रलाल तुलाचन र स्थानीय संयोजक राजेश अग्रवालले हस्ताक्षर गर्नुभएको थियो।

यसैबीच कोषका सदस्य सचिव सानुराजा शाक्यले भगवान् गौतम बुद्ध र लुम्बिनीको महत्त्वलाई सम्मान गरी कसैले धार्मिक गतिविधि गर्न चाहन्छन् भने यसमा आपत्ति प्रकट गर्न नहुने बताउनुभयो । ‘सरकारको लगानीमा बनेको सभा हल सञ्चालनको कार्यविधि बनेको छैन । प्रवचनको लागि अन्य निकायबाट स्वीकृति दिइसकेको स्थितिमा कोषले स्वीकृति दिएको हो ।’

सदस्य सचिव शाक्यले भन्नुभयो भगवान् गौतम बुद्धको नाम सुनेका विश्वका हरेक धर्म, संस्कृतिका जोकोही पनि लुम्बिनी आउन चाहने वा आउने स्थान हो ।लुम्बिनीप्रति सबैको श्रद्धाभावलाई सम्मान गर्नुपर्दछ ।’ यसैबीच सन्त मोरारी बापूको प्रवचन कार्यक्रम सुरु भएको छ । सो कार्यक्रम नौ दिनसम्म चल्नेछ ।