आफ्नो लागि बुट जुत्ता आफैं उत्पादन गर्दै नेपाली सेना

28
Shares

काठमाडौं । नेपाली सेनाले आफ्ना सैन्यदेखि अधिकृतसम्मले प्रयोग गर्ने बुट जुत्ता आफंै उत्पादन गर्ने भएको छ । यसअघि टेन्डर प्रक्रियामार्फत बुट किन्दै आएको सेनाले अव आफैंले उत्पादन गरी आफ्ना कर्मचारीलाई वितरण गर्ने भएको हो ।

वार्षिक करोडौं रुपियाँ खर्च गरेर कालो रंगको बुट खरिद गर्दै आएको सेनाले सुन्दरीजलस्थित आफ्नै जग्गामा बुट उत्पादन गर्ने कारखाना स्थापना गरेको छ ।

सैनिक कल्याणकारी बोर्डबाट ऋण लिएर नेपाली सेनाले उक्त उद्योग स्थापना गरेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । बोर्डबाट १४ करोड रुपियाँ ऋण लिएर स्थापना भएको सो उद्योगले बुट उत्पादनका लागि चाहिने कच्चा पदार्थ विभिन्न मुलुकबाट झिकाउने प्रक्रिया अगाडि बढाएको पनि प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।

उद्योगले वार्षिक ८७ हजार ५ सय जोर जुत्ता उत्पादन गर्ने बताइएको छ । नाफा वितरण नगर्ने कम्पनीको रूपमा स्थापना भएकोे उक्त उद्योगले नेपाली सेनाले प्रयोग गर्ने अन्य वस्तुको समेत उत्पादन गर्ने लक्ष्य राखेको छ ।

नेपाली सेनाले प्रयोग गर्ने बुट उत्पादनबाट शुरू हुने जुत्ता कारखानाबाट नेपाली सेनाले प्रयोग गर्ने अन्य प्रकारका जुत्ता पनि उत्पादन हुने सेनाले जनाएको छ । उक्त उद्योगबाट उत्पादन भएका जुत्ता गैरसैनिक नागरिकको प्रयोगका लागि भने बिक्री नगरिने पनि नेपाली सेनाले जनाएको छ । यसरी उत्पादन गरिएका बुट लागत मूल्यमा केही रकम जोडेर सैनिक जवानदेखि प्रधानसेनापतिसम्मलाई बिक्री गर्ने भएको छ ।

सेनाको जुत्ता कारखाना स्वाट कम्पनीको ट्रेडमार्क रहेको ‘ओरिजिनल फुटवेयर कम्पनी’सँगको प्राविधिक सहकार्यमा स्थापना गरेको हो । उक्त कम्पनीसँग प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेर सेनाले कारखाना स्थापना गरेको बताएको छ ।

सेनाले यसअघि विदेशी कम्पनीले उत्पादन गरेका सैनिक बुट टेन्डरमार्फत खरिद गर्दै आएको थियो । यसरी हुने खरिद प्रक्रिया एकातर्फ विवादमा पर्दै आएको थियो भने अर्काेतर्फ खरिद गरिएका जुत्ताको गुणस्तरमा समेत समस्या देखिँदै आएको थियो ।

उद्योग स्थापना भएपछि जुत्ता खरिदको ठूलो रकम बचत हुने, सैनिकले गुणस्तरीय जुत्ता लगाउन पाउने र रोजगारीसमेत सिर्जना हुने सैनिक प्रवक्ता भण्डारीले बताउनुभयो । सैनिकका लागि बुट खरिदमा वार्षिक करिब १० करोड रुपियाँ खर्च हुँदै आएको थियो । बुट उत्पादनका लागि सेनाले करारमा कर्मचारी भर्ना गरिसकेको छ ।