अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमा दलहरूको आलोचना

0
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको शनिबार राजधानीमा शुरू भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गर्नुभएको प्रतिवेदनमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबैजसो दलको आलोचनात्मक समीक्षा गरिएको छ ।

२५ पृष्ठ लामो प्रतिवेदनमा अध्यक्ष नेपालले विभिन्न राजनीतिक आयामहरूको बारेमा चर्चा गर्नुभएको छ । वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक शक्तिहरू र अन्तर्राष्ट्रिय परिस्थितिका बारेमा समीक्षा गरिएको प्रतिवेदनमा सत्ता गठबन्धनदेखि प्रतिपक्षी दलहरूलाई समेत राजनीतिक आरोप लगाइएको छ । तर, उक्त प्रतिवेदनमा आफ्नो कमजोरीका बारेमा खासै उल्लेख गरिएको छैन ।

अध्यक्ष नेपालले आफ्नो प्रतिवेदनमा विभिन्न पार्टीको चरित्र चित्रण गर्नुभएको छ । उहाँले संसद्को सबैभन्दा ठूलो र प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई पुँजीवादी वर्ग चरित्रको पार्टी तर संविधान र लोकतन्त्रको रक्षाप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । त्यस्तै, नेकपा एमाले भने दक्षिणपन्थी अवसरवादी चरित्रको कम्युनिस्ट पार्टी भएको नेपालको तर्क छ । प्रतिवेदनमा उल्लेख छ– ‘यसको वर्ग अडान स्पष्ट छैन । दलाल पुँजीपति वर्गसँगको लसपसले गर्दा यसको नेतृत्व तीव्र गतिमा दक्षिणपन्थी हुँदै गइरहेको छ । यो पार्टी संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध छैन ।’

माओवादी केन्द्र ढुलमुले चरित्रको कम्युनिस्ट पार्टी भएकोे ठहर गर्दै प्रतिवेदनमा भनिएको छ– ‘यो पार्टी संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध नै छ तर सत्ता स्वार्थका निम्ति कुनै पनि बेला जुनसुकै कदम चाल्न सक्ने अस्थिर र ढुलमुले प्रवृत्ति यसमा देखिएको छ ।’ सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा आएको यो पार्टी शान्ति प्रक्रिया लम्बिदै गएपछि सत्ताको वरिपरि केन्द्रित हुँदै गएको नेपालले आरोप लगाउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी पुँजीपति वर्ग चरित्रको पार्टी भएको प्रतिवेदनमा उल्लेख छ । संविधानवादको कुरा गरे पनि यो पार्टीको गणतन्त्र र संघीयताप्रतिको दृष्टिकोण स्पष्ट नभएको उल्लेख छ । उक्त दललाई अवसरवादी भएकाले यसको दर्शन, सिद्धान्त, विचार र कार्यदिशा स्पष्ट नभएको नेपालले बताउनुभएको छ । यो पार्टी राजनीतिक अन्योल र सामाजिक निराशाको परिस्थितिमा सस्तो लोकप्रियताको नारा दिएर उदाएको अध्यक्ष नेकपा एसको निष्कर्ष छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले भने जनताको क्रान्तिकारी आन्दोलनले उखेलेर फ्याँकेको राजतन्त्र पुनस्र्थापना गर्न चाहेको उहाँको भनाइ छ । राप्रपा सामन्ती तथा दलाल नोकरशाही पुँजीपति वर्ग चरित्रको पार्टी भएको उल्लेख गर्दै नेपालले लेख्नुभएको छ– ‘यो पार्टी समाजमा अवशेषको रूपमा रहेको सामन्ती पछौटे एवं लम्पट चिन्तनको प्रतिनिधि हो ।’ अध्यक्ष नेपालले श्रमजीवि वर्गको सच्चा प्रतिनिधिका रूपमा नेकपा एकीकृत समाजवादी मात्र रहेको प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।

नेपालले बैठकमा पेस गरेको प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह बनाइएको छ । केन्द्रीय कमिटी सदस्यहरूलाई १० वटा समूहमा विभाजन गरी समूह छलफल गरिने नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । समूहमा आइतबार बिहानसम्म छलफल हुने र समूहको निष्कर्ष पेस गर्ने कार्यतालिका रहेको छ ।