राष्ट्रपतिमा राष्ट्रिय सहमति कि प्रधानमन्त्री लम्ब्याउने चालबाजी ?

0
Shares

काठमाडौं । सात दलीय गठबन्धनको सहयोगमा सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिमा जोड दिने बताएको छ । इतिहासमै प्रमुख प्रतिपक्षी दलको समेत विश्वासको मत लिएर सरकारको नेतृत्व गरेको माओवादीले सकभर सबै दलहरूको सहमतिमै राष्ट्रपति बनाउन जोड गरेको हो ।

तर, नेकपा (एमाले)ले भने यसलाई प्रधानमन्त्रीले गठबन्धनको सहमति बाहिर गएर पाँच वर्ष नै प्रधानमन्त्री हुने चालबाजीका रूपमा लिएको छ । राष्ट्रपति एमालेकै हुने ठोकुवा गर्दै एमाले नेता विशाल भट्टराईले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘राष्ट्रपति एमालेकै हुन्छ । प्रचण्डले पाँचै वर्ष प्रधानमन्त्रीको बार्गेनिङ गर्न यो तुरूप फाल्नुभएको हो । गठबन्धनबाट हाम्रो राष्ट्रपति पक्का छ ।’ तर उहाँले उम्मेदवारका विषयमा निर्णय गरिनसकेको बताउनुभयो ।

शनिबार माओवादी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकमा राष्ट्रपतिका लागि राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके मुद्दा मिल्नेहरूसँग सहकार्य गरेर जाने विषयमा छलफल भएको नेताहरूले बताएका छन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता देवेन्द्र पौडेलले राष्ट्रपतिको लागि सकेसम्म सहमतिको प्रयत्न गर्ने र सहमति हुन नसके विचार, दृष्टिकोण, उद्देश्य, लक्ष्य मिल्नेसँग मिलेर अघि बढ्ने बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाललाई सबैले समर्थन गरी विश्वासको मत दिएकाले सबै पार्टीहरूसँग छलफलका लागि आफूहरू खुला रहेको उहाँले बताउनुभयो ।

आफूहरूले सत्ता साझेदार दल एमालेलाई चिढ्याउन नचाहेको र सबै मिलेर अघि बढ्नका लागि प्रयत्न भइरहेको जिकिर गर्दै पौडेलले भन्नुभयो– ‘राष्ट्रपति निर्वाचनमा सहमति हुन सकेन भने जोसँग विचार, दृष्टिकोण, उद्देश्य लक्ष्य मिल्छ, उसैसँग मिलेर अघि बढ्छौँ । सबै पक्षसँग हामी खुला छौँ । प्रधानमन्त्रीलाई सबै दलले समर्थन गरेको छ, सबै मिलेर जाऔँ भनेर अघि बढ्ने कुरा राम्रो हो । एमालेलाई बाहिर राखेर जाने भनेको होइन, सबैसँग मिलेर अघि बढौँ भन्ने हो ।’

राष्ट्रपतिको विषयमा सत्ताको नेतृत्वकर्ता माओवादी केन्द्रले एमालेलाई सहयोग नगर्ने संकेत गरेपछि एमालेमा माओवादी सम्बन्धमा केही असहजता उत्पन्न भएका छन् । सरकारलाई विश्वासको मत दिएको पूर्व सत्ता सहयात्री दल नेपाली कांग्रेसलाई राष्ट्रपति दिन सकिने बारेमा पार्टीभित्र छलफल भइरहेको जानकारी दिँदै नेकपा माओवादीका एक नेताले भने– ‘स्थिरताका लागि सबै दलहरूलाई समेटेर राष्ट्रपतिका लागि राष्ट्रिय सहमति गर्नुपर्छ भन्ने अध्यक्ष प्रचण्डको समेत जोड हो । हामीले कांग्रेसलाई नै राष्ट्रपति दिएर जान सक्ने अवस्था बाँकी नै छ ।’

एमालेलाई दिँदा आगामी २ वर्षपछि आफू सबै पदबाट बाहिर हुनुपर्ने र फेरी विगतका संसद् विघटनजस्ता मुद्दामा एमालेले एकलौटी निर्णय गर्ने शंका माओवादीको छ । कांग्रेसले समेत विश्वासको मत दिइसकेकाले आगामी सत्ता समीकरणमा एमालेले भाउ खोजे कांग्रेससँगै मिलेर पुरानो सत्ता समीकरण जोड्न सकिने प्रधानमन्त्री प्रचण्डको दाउ छ । कांग्रेस पनि अहिले सत्ता गठबन्धनमा राष्ट्रपतिकै नाममा खटपट उत्पन्न गराएर चुनावी गठबन्धन जोड्न सकिन्छ कि भन्ने दाउमा छ । केही दिनअघि एमाले महासचिव शंकर पोखरेलले कांग्रेसले राष्ट्रपति दाबी गरेको हो भने आफूलाई सत्तासाझेदार दल हो भनेर भन्नुपर्ने बताउनुभएको थियो ।

यसैबीच कांग्रेसका महामन्त्री गगनकुमार थापाले विधिको शासन सही दिशामा डो¥याउन पनि एमाले बाहेकका पार्टीको तर्फबाट राष्ट्रपति बनाउनुपर्ने बताउनुभएको छ । शनिबार बाराको कलैयामा नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै महामन्त्री थापाले देश विकास र समृद्धितर्फ उन्मुख गराउन र विधिको शासन स्थापित गराउन एमालेलाई राष्ट्रपति दिन नहुने दाबी गर्नुभयो ।

वामपन्थीहरूले कांग्रेसलाई कमजोर पार्न र मुलुकमा अधिनायकवाद लाद्न निरन्तर खेलहरू खेलिरहेको भन्दै उहाँले त्यसमा लोकतन्त्रवादी शक्तिहरू सचेत हुनुपर्ने बताउनुभयो । देशमा अस्थिरता सिर्जना गर्ने प्रयास भइरहेको भन्दै थापाले भन्नुभयो– ‘मुलुकमा अहिले संविधान मान्ने र नमान्ने दुई पक्ष देखिएका छन् । प्रेसलाई संकुचन पारेर संघीयतालाई समाप्त पार्ने खेल भइरहेकाले सबैले सजग र सचेत भई संघीयताको रक्षा गर्ने बेला आएको छ ।’