कैद भुक्तान गर्न थाले सांसद चौधरी, उन्मुक्ति सरकारसँग आगो

आगामी साउन १९ मा रिहा हुने



धनगढी ।

नागरिक उन्मुक्ति पार्टीका सचेतक तथा प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीले कैद भुक्तान गर्न थाल्नुभएको छ। शुक्रवारबाट सांसद चौधरीले जिल्ला कारागार कैलालीमा बसेर कैद भुक्तान गर्न थाल्नुभएको हो।

बिहीबार बाँकेको बैजनाथ गाउँपालिका– १ चिसापानीबाट पक्राउ परेका उहाँलाई प्रहरीले शुक्रबार बिहानै जिल्ला अदालत कैलालीमा पेश गरेको थियो । अदालतबाट कैदी पुर्जी बुझेर चौधरी कारागार चलान हुनुभएको थियो।

कैदी पुर्जीका अनुसार उहाँ आगो लगाएको मुद्दामा फरार हुनुभएको थियो। अहिले उहाँलाई ६ महिनासम्म कारागारमा राख्न आदेश दिइएको छ। सांसद चौधरी ७ वर्षदेखि फरार सूचीमा हुनुहुन्थ्यो। यस्तै अदालतले चौधरीलाई पक्राउ परेको दिनदेखि कैद कट्टी हुने गरी २०८० साल साउन १९ गते कैदबाट मुक्त गर्न निर्देशन दिएको छ।

अदालतको कैद पूर्जीमा लेखिएको छ, ‘पक्राउ परेको मिति १९ गतेदेखि कैद कट्टी हुने हुँदा २०८० साल साउन १८ गतेसम्म कैदमा बसी ०८० साल साउन १९ गते कैदबाट छुटि जाने हुँदा आजदेखि २० गतेदेखि ८ साउन १९ गतेसम्म नियमानुसार निज प्रतिवादीले पाउने सिधा खर्च र अन्य सेवा सुविधा उपलब्ध गराई कैदमा राखी मिति २०८०।४।१९ गते कैदबाट मुक्त गरी सो को जानकारी दिनु हुन अनुरोध गरिन्छ।’

बिहीबार साँझ कैलाली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहनुभएका चौधरीलाई आज १० बजे कैलाली जिल्ला अदालतमा उपस्थित गराई कैद पुर्जी लिएर कैलाली कारागारमा चलान गरिएको थियो। फरार सूचीमा रहनुभएका चौधरीलाई बिहीबार बाँकेबाट पक्राउ गरेको थियो। चौधरीलाई प्रहरीले पक्राउ गरेर नेपालगञ्जबाट जहाजमा काठमाडौँ लगेको थियो।

काठमाडौँबाट उहाँलाई बिहीबार नै जहाजमा धनगढी ल्याएको थियो। उहाँ गत मङ्सिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो।

सांसद चौधरी पक्राउ परेसँगै सांसदबाट पनि निलम्बनमा पनि पर्नुभएको छ। लम्कीमा २०६६ भदौ ३ मा लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ मा कैलाली जिल्ला अदालतमा महादेव बजगाईंले सांसद चौधरीसहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई विपक्षी बनाई मुद्दा दायर गर्नुभएको थियो।

त्यसपछि विसं २०७० वैशाख ९ मा कैलाली जिल्ला अदालतले सांसद अरुणकुमार चौधरीसहित पर्शुराम र वीरबहादुर गरी तीन जनालाई छ महिना कैद सजाय सुनाएको थियो। अदालतले पीडितलाई आठ लाख १८ हजार चार सय २३ क्षतिपूर्ति उपलब्ध गराउनेसमेत फैसला भएको थियो। दोषी ठहर भएकामध्ये वीरबहादुर चौधरी पनि एक साताअघि पक्राउ पर्नुभएको थियो।

यता, उहाँको पार्टीले कारागार चलान भएपछि विरोध थालेको छ। सुदूरपश्चिम, कैलाली र लुम्बिनीमा नागरिक उन्मुक्ति पार्टीले विरोध थालको हो। लुम्बिनीमा त शुक्रवार प्रदेशसभा बैठक नै अवरुद्ध गरिएको छ। शुक्रबार बसेको प्रदेशसभाको पाँचौं बैठकमा नागरिक उन्मुक्तिले विरोध जनाएपछि केही समयका लागि स्थगित गरिएको थियो।

बैठक सुरु हुनासाथ नागरिक उन्मुक्ति पार्टीका सांसदहरुले आफ्ना सांसद पक्राउको विरोधमा आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाउनुभएको थियो। यस्तै उक्त पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले पनि लगातार सरकारको विरोध गर्दै आउनुभएको छ। चौधरीले सुनियोजित रुपमा आफूहरुमाथि प्रहार हुन थालेको दाबी पनि गर्नुभएको छ।

‘उहाँ (अरुण) लाई सुनियोजित ढंगले फसाइयो’ उहाँले भन्नुभयो, ‘९ वर्षदेखि फरार भनिएको छ। यो बीचमा उहाँले अन्य पार्टीबाट मेयर र प्रदेशसभाको निर्वाचन पनि लडिसक्नु भएको छ त्यो बेला फरार नहुने अहिले नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएर माननीय भइसकेपछि फरार भन्ने हुन्छ ?’ निर्वाचित सांसदलाई फरार सूचीमा राखेर पक्राउ गर्दै जेल हाल्नुले सरकारका विषयमा सोच्न बाध्य बनाएको पनि उहाँको जिकिर छ।

उहाँले सांसद चौधरीको पक्राउ परेदेखि नै सरकारको विरोध गर्दै सांसदलाई पक्राउ गर्न सभामुखको अनुमति लिनुपर्ने भए पनि त्यो समेत नलिई पक्राउ गरेर कारागार चलान गरिएको बताउनुभयो। तर प्रहरीले भने फौजदारी अभियोगका अभियुक्तलाई पक्रन सभामुखको अनुमति लिन नपर्ने व्यवस्था भएकाले आफूहरुले कानुनअनुसार नै उनलाई पक्रेर फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरेको बताएको थियो।

प्रतिक्रिया दिनुहोस्