कैदी सांसदलाई छाड्न माग गर्दै कैलालीमा जुलुस, उन्मुक्तिले उतार्‍यो २ सय कार्यकर्ता

0
Shares

धनगढी।

कैलालीमा नागरिक उन्मुक्ति पार्टीले आफ्ना प्रतिनिधि सभा सदस्य तथा सचेतक अरुण कुमार चौधरीलाई रिहा गर्न माग गर्दै जुलुस तथा आन्दोलन चर्काएको छ। प्रतिनिधिसभा सदस्य चौधरीलाई जेल चलान गरेपछि नागरिक उन्मुक्तिका नेता तथा कार्यकर्ताहरुले जिल्लामा आन्दोलन चर्काएका हुन्।

उनीहरुले पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीमा विरोध तथा राँके जुलुसहित प्रदर्शन गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीले नाउपाका २०० बढी कार्यकर्ता विरोधमा उत्रिएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ। विरोधमा कार्यकर्तासहित सो पार्टीका प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य पनि सहभागी थिए।

बाँकेबाट बिहीबार पक्राउ परेका चौधरीलाई काठमाडौं हुँदै धनगढी ल्याएर शुक्रबार जिल्ला अदालतले कारागार चलान गरेको छ। १३ वर्ष अघिको आगजनीको मुद्दामा अदालतले सांसद चौधरीसहितका तीनजनालाई ६ महिना कैद र जरिवाना सुनाएको थियो। अहिले उनीहरु कैद भुक्तान गरिरहेका छन्।