राष्ट्रपतिमा कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराजको आकांक्षा



काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले राष्ट्रपति निर्वाचनमा लड्ने आकांक्षा देखाएका छन् । आज (शुक्रबार) बिहान सोल्टीमोडस्थित आफ्नै निवासमा नेताहरूसँगको छलफलमा राष्ट्रपतिको उम्मेदवारी बन्न तयार रहेको उनले बताए ।

छलफलमा सहभागी नेताले राष्ट्रपतिमा स्वच्छ छवि भएको नेतृत्व अपरिहार्य भएकोले कांग्रेसका पुराना नेता शर्मालाई अघि बढ्न आग्रह गरेका थिए ।

उनीहरूको आग्रहलाई शर्माले गम्भीरतापूर्वक लिएको छलफलमा सहभागी एक नेताले बताए ।

शर्मालको भनाइ उद्धृत गर्दै उनले भने, साथीहरूले आग्रह गरिरहनु भएको छ । म सत्तामा कहिल्यै नभए पनि आम कार्यकर्ताको विश्वास ममा अझैँ छ ।

पार्टी पङ्क्तिले पनि शुक्रराज दाइ अघि बढ्नुस् भने नाइँ भन्ने कुरा हुँदैन । ५४ वर्षको राजनितिक इतिहासको सुखद अन्त्य हुन्छ । सबैको सहयोग भए म उभिन्छु । कांग्रेसलाई जिताउन हिड्छु ।

संसदीय निर्वाचनमा जहिल्यै जीतबिहीन भएका शुक्रराज कंँग्रेसको अघिल्लो पुस्तामा सत्ता यात्रा नगरेका एकमात्र नेताका रूपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्