झापा र धादिङमा सवारी दुर्घटना : २ जनाको मृत्यु, ६ जना घाइते


काठमाडौं ।

झापा र धादिङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । झापाको शिवसताक्षी नगरपालिका १ कमलपुमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

ईटहरीबाट काकडभिट्टा तर्फ आउँदै गरेको ना ६ ख ८८९५ नम्बरको ट्रकको पछाडी सोही दिशा बाट आउँदै गरेको फलामको रड बोकेको ना ५ ख ८३११ नम्बको ट्रकले ठक्कर दिएको थियो ।

दुर्घटनमा ८३११ नम्बरका ट्रक चालक सुनसरीको रामधुनी नगरपालिका ७ का ४५ वर्षीय मदन चौधरी र नामथर र ठेगाना नखुलेका एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको हो ।

गम्भीर घाइते भएका उनीहरुलाई दमक अस्पताल पु¥याउन साथ चिकित्सकले मृत घोषणा गरेको हो । शुक्रबार बिहान साढे ५ बजे भएको सवारी दुर्घटनमा संलग्न दुबै सवारी र अर्का ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता, धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा शुक्रबार बिहान बस पल्टिँदा बसमा सवार ६ जना यात्रु घाईते भएका हुन् । घाइते भएका मध्य बर्दियाको बारबर्दिया नगरपालिका–५ बस्ने २० बर्षीय सुरज तिमल्सिना, नवलपरासीको कावासोती नगरपालिका–२ सरस्वति चोक बस्ने ४० बर्षीया लक्ष्मी पाण्डे र सल्यानको बुङकोट नगरपालिका ७ बस्ने २१ बर्षीय सुरज विश्वकर्माको अवस्था गम्भीर रहेको छ ।

गम्भीर घाईतेहरूलाई उपचारको लागि काठमाडौँ ल्याइएको छ । बाँकी घाइतेको राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको छ ।

उनीहरूको अवस्था भने सामान्य रहेको छ । नेपालगन्जबाट काठमाडौँ तर्फ आउदै गरेको ना ६ ख ४०५ नम्बरको बस अनियन्त्रित भई शुक्रबार बिहान सवा ७ बजे सडकमै पल्टिएको इलाका प्रहरी कार्यालय बेनिघाटले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।