प्रेमप्रसाद आचार्य आत्मदाह प्रकरण : सामाजिक सञ्जालमा नाम लिएकासँग प्रहरीको सोधपुछ

न्यायिक आयोग गठनको माग

0
Shares

काठमाडौं । इलामका प्रेमप्रसाद आर्चायले राजधानीको नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि पेट्रोल छर्केर आत्मदाह गर्नुअघि आफूले आत्मदाह गर्नुपर्ने कारण खुलाएर सामाजिक सञ्जालमा नाम किटेका व्यक्तिहरूसँगको सोधपुछलाई प्रहरीले तीव्रता दिएको छ ।

सरकारले उक्त घटनाको बारेमा छानबिन गर्न गठन गरेको आयोगले आर्चायले नाम लिएका व्यक्तिहरूलाई सोधपुछ गर्ने क्रममा गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोसँग प्रहरीले बुधबार बयान लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दानबहादुर कार्कीले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘आचार्यले नाम लिएका व्यक्तिका बारेमा आत्महत्या दुरुत्साहनको मुद्दा परेकोले व्यवसायी महतोसँग बयान लिइएको हो ।’

विभिन्न व्यक्तिले आफ्नो पैसा खाएको र ऋणको भारी बोक्न सक्ने अवस्थामा आफू नरहेको भन्दै आर्चायले फेसबुकमा लामो दुखेसो पोखेर संसद् भवनअगाडि पुगी आत्मदाह गर्नुभएको थियो । उहाँले व्यवसायी महतो र उहाँले सञ्चालन गर्दै आएको नेपाल ग्रामोद्योग कम्पनीले घिउ मगाएर म्याद गुज्रेपछि फिर्ता गरेको र आफूले पाउनुपर्ने रकम नदिएको उल्लेख गर्नुभएको थियो । एसएसपी कार्कीले व्यवसायी महतोको कम्पनीले बाँकी बक्यौता दिनुपर्नेमा म्याद गुज्रेपछि घिउ फिर्ता गरेका कारण आचार्यले ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरेको उल्लेख गरेको कारण महतोसँग बयान लिइएको जानकारी दिनुभयो ।

आचार्यको मृत्युपछि उहाँकी श्रीमतीले आर्थिक कारोबार जोडिएका व्यापारिक संस्था र तिनका प्रतिनिधिविरुद्ध प्रहरीमा किटानी जाहेरी दिनुभएको छ ।

यसअघि प्रहरीले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसँग ३ घन्टा सोधपुछ गरेको थियो । किटानी जाहेरीमा विभिन्न व्यापारिक समूहका सञ्चालक तथा व्यक्ति गरी १२ जनाविरुद्ध उजुरी परेपछि प्रहरीले बयान लिन शुरू गरेको हो ।

न्यायिक आयोग गठनको माग

आचार्य आत्मदाह प्रकरण संसद्मा समेत प्रवेश भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा आचार्यले आत्मदाह गरेको घटनाको सम्बन्धमा छानबिन गर्न माग गरिएको छ । बैठकमा विशेष समयमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का प्रकाश ज्वालाले आचार्यको आत्मदाहको घटनाका बारेमा छानबिन गर्न न्यायिक आयोग गठन गर्न माग गर्नुभयो ।

त्यसै गरी जनता समाजवादी पार्टी नेपालका राजकिशोर यादवले आचार्यको आत्मदाहको विषयमा संसद्मा केही विशेष प्रस्ताव आउनुपर्नेमा उक्त प्रस्ताव नआएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।