चिनियाँ राजदूत चेन राजनीतिक भेटघाट तीव्र बनाउँदै

0
Shares

काठमाडौं । नेपालको आन्तरिक मामिलालाई नजिकबाट नियाल्दै आएको उत्तरी छिमेकी मुलुक चीनले पछिल्लो समय नेपालस्थित आफ्नो राजदूतलाई सक्रिय बनाएको छ । नेपालमा चिनियाँ सहयोगमा बनिरहेका परियोजनाहरूलाई पनि तीव्रता दिन थालिएको छ । पछिल्लो समय रहस्यमय रूपमा प्रचण्डको नेतृत्वमा सरकार बनेपछि उत्साहित भएको चिनियाँ पक्षले नेपालमा हालै नियुक्त भएका राजदूतलाई सक्रिय बनाएको छ ।

हालै मात्र नेपाल आएका नवनियुक्त चिनियाँ राजदूत चेन सोङले दुई साताभित्र झण्डै एक दर्जन उच्चस्तरीय राजनीतिक भेटघाट गर्नुभएको छ । नेपालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नयाँ सरकार गठन भएपछि एकाएक चीन नेपालमा सक्रिय भएर हो । चिनियाँ सहयोगमा निर्माण हुने केरुङदेखि काठमाडांै र काठमाडांैबाट पोखरा जोड्ने रेलमार्गको अध्ययन गर्ने टोली नेपाल आएर काम गर्न थालेको छ भने काठमाडौं उपत्यकामा रहेको चक्रपथको बाँकी कामलाई अगाडि बढाउन समेत चिनियाँ पक्ष सक्रिय भएर लागेको छ ।

गत पुस २४ गते नेपाल आइपुगेका राजदूत चेनले पुस २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदा प्रमाणपत्र पेस गरेपछि आफ्नो सक्रियतालाई तीव्रता दिनुभएको हो । पछिल्लो समय चीनमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएको र करोडांै चिनियाँ नागरिक संक्रमणको सिकार भए पनि राजदूत चेन क्वारेन्टिनमा समेत नबसी राजनीतिक भेटघाटमा सक्रिय हुनुभएको छ ।

काठमाडौं आइपुगेको एक सातापछि नै माघ २ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेपछि राजदूत चेनले राजनीतिक नेतालाई भेट्न शुरू गर्नु भएको थियो । यसपछि उहाँले माघ ४ गते प्रमुख सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नुभएको थियो । सो भेटमा दुई देश तथा पार्टीबीचको सम्बन्धमा विषयमा कुराकानी भएको चिनियाँ दूतावासले आफ्नो वेब पोर्टलमार्फत जानकारी गराएको थियो ।

एमाले अध्यक्ष ओलीलाई भेटेको दुई दिनपछि माघ ६ गते राजदूत चेनले कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललाई एकैदिन भेट गर्नुभएको थियो । उक्त भेटमा दुई देशबीचको सम्बन्ध र चीनले नेपालको विकासका लागि लगानी गरेका परियोजनाको बारेमा छलफल भएको बताइएको थियो ।

चिनियाँ ठेकेदारले जिम्मा लिएका परियोजना समयमा पूरा नभएको गुनासो आएपछि राजदूत चेनले चिनियाँ ठेकेदारले जिम्मा लिएको नारायणघाट– वुटवल सडक खण्डको निर्माणलाई तीव्रता दिन ठेकेदारलाई दूतावासमा नै बोलाएर निर्देशन दिएपछि उक्त सडकको निर्माणले तीव्रता पाएको छ ।

राजदूत चेनले माघ १५ गते उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गर्नुभएको थियो भने मंगलबार उहाँले उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई भेट गर्नुभएको थियो । मंगलबार भएको सो भेटमा मन्त्री भण्डारीले ताक्लाकोट, तिंकरलगायतका देशका पश्चिमी उत्तरी नाका खुलाउने विषयमा राजदूतको ध्यानाकर्षण गराउनुभएको थियो ।

जवाफमा राजदूत चेनले उत्तरी पश्चिमी नाका खोल्ने र निर्माणाधीन पाँच सुक्खा बन्दरगाहका विषयमा चीन सरकार सकारात्मक रहेको बताउनुभएको छ । कार्यभार सम्हालेसँगै भएको राजदूत चेनको भेटघाटलाई शिष्टाचार भनिए पनि यसको राजनीतिक उद्देश्य रहेको राजनीतिक विश्लेषकहरूले टिप्पणी गरेका छन् ।