धुलिखेल अस्पतालमा नर्सिङ समुहको २१ औं दिक्षान्त

0
Shares

काभ्रे  ।

धुलिखेल अस्पतालमा शुरु भएको (नर्सिङ) प्रमाणपत्र तहको २१ औं समुहको दिक्षान्त समारोह धुलिखेलमा सम्पन्न भएको छ । अस्पताल स्थापनाको केही वर्षमा शुरु भएको उक्त कार्यक्रमले निरन्तरता प्राप्त गरेको छ । अस्पतालले नर्सिङ लगायत १४ वटा विद्याका कार्यक्रम शुरु गरी सफलतापुर्वक सम्पन्न गरिरहेको छ ।

‘अस्पतालको शुरुवातीका क्रममा नर्सहरुको उत्पादन आफैं गर्नु पर्छ भन्ने सोच आयो’–अस्पतालका संस्थापक प्रा.डा. रामकण्ठ माकजुले भन्नुभयो–‘निरन्तर उत्पादित विद्यार्थीहरुले विरामी र विरामीहरुले नर्सहरुको सामिप्यता पाउन सकेका छन् ।’ २१ औ समुहमा आईपुग्दा ८ सय भन्दा धेरै विद्यार्थीहरु नर्स भएका छन् । धुलिखेलमा अध्ययन गरी कार्य गरिरहेका नर्सहरु सम्पन्न राष्ट्रहरुमा समेत खपत हुने गरेका छन् ।

दिक्षान्त समारोहमा बोल्दै प्रा.डा रामकण्ठ माकजुले मानव भएर मानविय सेवामा सर्मपित रहन सक्नु पर्ने बताउनु भयो । ‘मानविय सेवामा तल्लिन रहनु भन्दा ठुलो धर्म केहि हुन सक्दैन’–उहाँले भन्नुभयो–‘अस्पतालले शुरु गरेका सबै कार्यक्रम गुणस्तर छन् । गुणस्तरीय कार्यक्रमको निरन्तरताका कारण अस्पताल नमुना बनेको छ ।’ शिक्षा र स्वास्थ्यका नमुना र सफल कार्यक्रम हेर्न डा. माकजुले धुलिखेल आउन अनुरोध गर्नु भयो ।

कार्यक्रममा अस्पतालका संस्थापक एवं अध्यक्ष बेलप्रसाद श्रेष्ठले आगोको सानो झिल्कोबाट ठुलो रुप भए झै धुलिखेल अस्पतालले शुरु गरेको सानो र थोरै स्वास्थ्य सेवा विशाल बनेको बताउनु भयो । अष्ट्रिया अध्ययन गरेर स्वदेश तथा आफ्नै जन्मभूमिमा केहि गरौ भन्ने सोच राखेर फर्कनु भएका रामकण्ठ माकजुको निरन्तरतको लगाव र मेहनतले धुलिखेल अस्पतालले आम नागरिकहरुलाई सेवा र सुविधा प्रदान गरेको बताउनु भयो ।

कार्यक्रममा काठमाडौ विश्वविद्यालयका डिन प्रा.डा राजेन्द्र कोँजुले अस्पतालले विरामीहरुको उपचार मात्रै नगरेर समुदायको परिचालन र आर्थिक समृद्धीमा समेत महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । करिव १ हजार ५ सय जनशक्तिलाई प्रत्यक्ष रोजगार प्रदान गरिरहेको अस्पतालले दैनिक त्यति नै संख्यामा विरामीको उपचार गरिरहेको छ ।

कार्यक्रममा नर्सिङ्ग कार्यक्रम डाईरेक्टर प्रो.डा कुन्ता देवी पुनले धुलिखेल अस्पतालमा रहेको नर्सिङ्ग समुहबाट उत्पादित विद्यार्थीहरु गुणस्तरीय रहेको बताउनु भयो ।

सोहि अवसरमा नर्सिङ काउन्सिलकी अध्यक्ष प्रोफेसर सरला केसी, प्रोफेसर मनकुमारी राई, काठमाडौ विश्वविद्यालय स्कुल आफ आर्टसका एसोसियट प्रोफेसर डा. लोचन रिजाल, एशोसियट डिन प्रोफेसर डा. बलराम मल्ल, क्लिनिकल नर्सिङ डाईरेक्टर एशोसिएट प्रोफेसर सुबासना माकजु लगायतले धुलिखेल अस्पतालले निरन्तरता प्रदान गरिरहेका कार्यक्रमहरुले नागरिकहरुका लागि सहजता प्रदान गरिरहेको बताउनु भएको थियो ।