बजारमा छ्यापछ्याप्ती नक्कली मदिरा

0
Shares

काठमाडौं । बजारमा छ्यापछ्याप्ती नक्कली मदिरा रहेको तथ्य फेला परेको छ । नेपाल प्रहरी र राजस्व अनुसन्धान विभागको सक्रियता बढेपछि बजारमा छ्यापछ्याप्ती नक्कली मदिरा रहेको तथ्य सार्वजनिक भएको हो ।

चालू आर्थिक वर्षमा नेपाल प्रहरी र राजस्व अनुसन्धान विभागले छुट्टाछुट्टै गरेको दुई दर्जनभन्दा बढी अप्रेसनमा बजारबाट ठूलो परिमाणमा विभिन्न ब्रान्डका नक्कली मदिरा फेला परेको छ । मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने मात्रै होइन राजस्व र करोडौं रुपियाँ लगानी गरेर स्थापना भएका उद्योग र ब्रान्डलाई ध्वस्त पार्ने गरी बजारमा नक्कली मदिराको उत्पादन तथा बिक्रीवितरण हुँदै आएको छ ।

पछिल्लोपटक काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले छापा मारेर बजारमा चल्तीका ब्रान्डका नक्कली मदिरा बरामद गरेको छ । यसरी बरामद गरिएका मदिरा स्वदेशी ब्रान्डदेखि विदेशी ब्रान्डसम्म रहेका छन् ।

प्रहरीले छापा मार्ने क्रममा ठूलो परिमाणमा नक्कली गोल्डेनवाक, रुस्लान भोड्का, ८८४८ भोड्का, खुकुरी रम, मुग्लान ह्विस्की जस्ता ब्रान्डका मदिरा फेला परेको जनाएको छ ।

काठमाडौं उपत्यकामा मदिरा पसलमा चल्तीका ब्रान्डका नक्कली मदिरा र नक्कली मदिरा उत्पादन गर्ने कारखानासमेत फेला परेपछि उपभोक्ता आतंकित भएका छन् । भारत र सीमावर्ती क्षेत्रमा नक्कली मदिराका कारण उपभोक्ताको ज्यान गएको खबर सुन्दै आएका उपभोक्तालाई काठमाडौंमा नै नक्कली मदिरा उत्पादन गर्ने कारखाना भेटिएको र पसलमा रहेका मदिरासमेत कुन नक्कली, कुन सक्कली भन्ने छुट्टाउन नसक्ने भएपछि थप त्रसित भएको उपभोक्ताको गुनासो छ ।

प्रहरीले पछिल्लोपटक कुपन्डोलस्थित नेक्स्ट टेस्ट लिकर सप, गोङ्गबु मित्रनगरस्थित एसटी लिकर स्टोर्सबाट लाखांै मूल्यबराबरको नक्कली मदिरा बरामद गरी केहीलाई पक्राउ गरेको छ भने केही फरार रहेका छन् । प्रहरीले ललितपुरको कुपण्डोलस्थित नेक्स्ट टेस्ट लिक्विर नामक मदिरा पसलका सञ्चालक दोलखा कालिञ्चोकका निरज उप्रेती, काठमाडौंको गोंगबु मित्रनगरस्थित एसटी लिक्विर स्टोरका सञ्चालक स्याङ्जा गल्याङका धर्मी गौडेल र सिन्धुली तीनपाटन घर भई हाल ललितपुरको टीकाथली बस्ने गणेशबहादुर रानामगरलाई पक्राउ गरेको हो ।

प्रहरीले ललितपुरको टीकाथलीमा विदेशी ब्रान्डका ब्ल्याक लेबल, रेडलेबल र डबल ब्ल्याक लेबल बनाउने कारखाना नै फेला पारेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोज केसीले कारखानाबाट नक्कली मदिरा र मदिरा बनाउन प्रयोग गर्ने केमिकल, विभिन्न स्वदेशी तथा विदेशी ब्रान्डका मदिराको खाली बोतल, राजस्व÷अन्तःशुल्कको स्टिकर तथा लेबलिङ एवं प्याकेजिङ गर्ने सामान र मेसिनलगायत विभिन्न सामग्री बरामद गरिएको जानकारी दिनुभयो ।

यसअघि प्रहरीले दोलखाको कालिन्चोककै हरि वली र विशाल वली, भीमेश्वरका भगवान बस्नेत, काठमाडौं मूलपानीका मनोज खत्री र ठमेलका गोपी श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो । त्यस्तै, प्रहरीले वीरगञ्जमा ठूलो परिमाणमा मदिराका बोतलमा प्रयोग गरिने अन्तः शुल्क स्टिकरसहित दुई युवालाई पक्राउ गरेको थियो । प्रहरी स्रोतका अनुसार नक्कली मदिराका कारोबारीले नाइट क्लब, रेस्टुरेन्ट, पार्टी प्यालेसलाई लक्षित गर्दै निश्चित मदिरा पसललाई प्रयोग गर्दै आएकाले उपभोक्ता सचेत हुनुपर्ने भएको छ ।