साइबर सुरक्षाका लागि अमेरिकी उपविदेशमन्त्री नुल्यान्डको प्रस्ताव

0
Shares

काठमाडौं । पछिल्लो समय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको कार्यान्वयनमा विशेष जोड दिंदै आएको अमेरिकाले यस पटक नेपालको साइबर सुरक्षामा पनि विशेष चासो देखाएको छ ।

नेपालको दुई दिने भ्रमण सकेर भारत जानुअघि पाटन दरबार स्क्वायरस्थित बहादुर शाह भवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अमेरिकाकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले भन्नुभयो– ‘केही दिनअघि मात्र नेपालले साइबर आक्रमणको सामना गर्नुप¥यो । मैले उच्च स्तरिय भेटघाटमा प्रस्ताव गरेको छु, यदि नेपालले चाहन्छ भने यहाँको साइबर सुरक्षालाई मजबुत बनाउन अमेरिकाले आफ्ना विज्ञ प्राविधिकहरू पठाउन सक्छ ।’ उहाँले साइबर सुरक्षाको सवालमा अमेरिकाको प्रविधि विश्वमै उच्च भएको जिकिर गर्दै भन्नुभयो– ‘साइबर सुरक्षालाई बलियो बनाउने सवालमा अमेरिकाले विश्वभरि नै महत्वपूर्ण साझेदारी गरेको छ । जापान र जर्मनीलगायतका राष्ट्रका सरकारसँग पनि अमेरिकाले साइबर सुरक्षामा महत्वपूर्ण साझेदारी गरेको छ ।’

गत शनिबार साइबर आक्रमणका कारण सबै सरकारी वेबसाइटहरू झण्डै ४ घण्टासम्म खुल्न नसक्दा अन्तर्राष्ट्रिय उडानदेखि सबै सरकारी कार्यालयहरूको अनलाईन काम प्रभावित भएको थियो । सिंहदरबारस्थित सरकारी सूचना र तथ्यांक राख्ने राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) को कमजोरीका कारण सरकारी तथ्यांकको चोरी, ह्याकिङ, भाइरस, फिसिङ, मालवेयर जस्ता साइबर चुनौती बढेको महालेखा परीक्षाको कार्यायलको सूचना प्रविधिको लेखा परीक्षण प्रतिवेदन–२०७८ मा समेत उल्लेख छ ।

पत्रकार सम्मेलनमा अमेरिकी उपविदेशमन्त्री नुल्यान्डले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँगको भेटमा एमसीसी परियोजनाको कार्यान्वयनका साथै लोकतान्त्रिक प्रक्रिया र आर्थिक विकासको सुदृढीकरणका विषयमा छलफल गरेको जानकारी दिनुभयो । उहाँले अमेरिका नेपालसँग संक्रमणकालीन न्याय, वातावरण र भ्रष्टाचारविरुद्धको लडाईका साथै नेपालको सामाजिक तथा आर्थिक विकासमा निरन्तर सहकार्य गर्ने बताउनुभयो ।

एमसीसीको विषयमा अमेरिका र चीनबीच खुलेरै भनाभन भएको स्मरण गराउँदै अहिले एमसीसी कार्यान्वयनको विषयमा अहिले चीनसँगको सम्बन्ध कस्तो छ भनेर सोधिएको प्रश्नमा उपविदेश मन्त्री नुल्यान्डले भन्नुभयो– ‘चीनसँग अमेरिकाले कुटनीतिक सम्बन्ध बढाउँदै लगेको छ । गत नोभेम्बरमा राष्ट्रपति जो वाइडेन र चीनका राष्ट्रपति सी चिनफिङबीच भेट भएको थियो । आगामी दिनमा पनि यस्ता गतिविधिले निरन्तरता पाउनेछ ।’

नेपालको आवश्यक्ताको आधारमा यहाँको विकास तथा रोजगारी सिर्जनाका लागि एमसीसी अगाडि बढाइएको दावी गर्दै उहाँले भन्नुभयो– ‘नेपाल दुई ठूला छिमेकीबीच अवस्थित मुलुक हो । नेपालको छिमेकीहरूसँगको राम्रो सम्बन्धलाई हामी सधैं स्वागत गर्छौ । हामी यी दुई ठूला मुलुकसँगको भूराजनीतिभन्दा पनि नेपालले आफ्नो हितको विषयमा सार्वभौम निर्णय गरोस् भन्ने चाहन्छौं ।’

प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनेपछि नेपाल भ्रमण गर्ने अमेरिकाको सबैभन्दा वरिष्ठ अधिकारी उपविदेशमन्त्री नुल्याण्डले अमेरिकी कुटनीतिज्ञको रुपमा ३३ वर्ष बिताइसक्नुभएको छ । उहाँ राष्ट्रपति बराक ओबामाको सरकारमा युरोपेली तथा युरेसियन मामिलासम्बन्धी सहायक विदेशमन्त्रीको रुपमा हुनुहुन्थ्यो । त्यस्तै उहाँले अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनको कार्यकालमा विदेश मन्त्रालयका प्रवक्ता, राष्ट्रपति जर्ज डब्ल्यु बुशको दोस्रो कार्यकालमा नेटोका लागि अमेरिकी राजदूत र उपराष्ट्रपति डिक चेनीको उपराष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा काम गरिसक्नुभएको छ ।

अमेरिकी विदेशमन्त्री भिक्टोरिया नुल्यान्डको काठमाडौंबाट भारत, श्रीलंका र कतार हुँदै अमेरिका फर्कने कार्यक्रम रहेको छ ।