बुटवलमा जापान सरकारको अनुदानमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण सुरु 

0
Shares

बुटवल।

एसियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा बुटवलमा अक्सिजन सुविधासहितका दुईवटा स्वास्थ्य केन्द्रको निर्माण सुरु भएको छ । जापान सरकारको अनुदानमा एउटा स्वास्थ्य केन्द्रका लागि १ करोड ५७ लाख  गरी ३ करोड १४ लाख रुपैयाँ लागत लाग्ने भएको छ ।

बुटवल उपमहानगरपालिका वडा नं १७ को मोतीपुर र वडा नं. १३ को बेलबासमा १६–१६ शय्याका अक्सिजन सुविधासहितका स्वास्थ्य केन्द्रको निर्माण सुरु भएको हो ।

वडा नं १७ को मोतीपुरमा शुक्रवार एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले स्वास्थ्य केन्द्रको शिलान्यास गर्नुभयो ।
स्वास्थ्य केन्द्र भवनको शिलान्यास गर्दै प्रमुख पाण्डेयले मोतीपुरको स्वास्थ्य केन्द्रले बुटवलका वडा नं. १७, १८ र १९ का वडाका बासिन्दाले लाभ लिने बताउनुभयो । उहाँले तिनाउ पूर्व र तिनाउ पश्चिमका बस्तीको समान विकासका लागि मोतीपुरमा स्वास्थ्य केन्द्र निर्माण थालिएको बताउनुभयो ।

यसअघि वडा नं. १३ को बेलबासमा स्वास्थ्य केन्द्र भवनको शिलान्यास गरिएको स्मरण गर्दै प्रमुख पाण्डेयले तिनाउ नदीदेखि पश्चिमको भेगको समान विकास र समान सुविधाका लागि मोतीपुर र बेलबासमा स्वास्थ्य केन्द्र निर्माण गर्न लागिएको बताउनुभयो ।

उहाँले यो स्वास्थ्य केन्द्रमा तिनाउ नदी पश्चिमका बासिन्दाले लाभ लिनसक्ने बताउँदै त्यसका लागि बुटवल उपमहानगरले सुविधा र जनशक्ति विस्तार गर्दै जाने बताउनुभयो । ‘तिनाउभन्दा पश्चिमको बुटवल र तिनाउ पूर्वको बुटवललाई समान हैसियतमा पुर्‍याउनुपर्ने छ’–उहाँले भन्नुभयो ।

नगरप्रमुख पाण्डेयले स्वास्थ्य केन्द्र भवनको निर्माण सम्पन्न भएपछि बुटवल उपमहानगरपालिकाले आवश्यक जनशक्ति र सुविधा उपलब्ध गराउने गरी तयारी गरेको बताउनुभयो ।

निर्माण व्यवसायीले असार मसान्तभित्रै निर्माण सम्पन्न गर्ने विश्वास व्यक्त गर्दै नगर प्रमुख पाण्डेयले साउनदेखि अस्पतालका रुपमा सञ्चालन गर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले स्वास्थ्य केन्द्रले मोतीपुर र आसपासको क्षेत्रले लाभ लिने बताउनुभयो । उहाँले आगामी दिनमा अरु सुविधाहरु विस्तार गर्दै जाने योजनामा रहेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवलभित्रै पछाडि परेको क्षेत्रमा बन्ने स्वास्थ्य केन्द्रले दीर्घकालसम्म लाभ दिलाउने बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले एसियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा एउटा स्वास्थ्य केन्द्रका लागि १ करोड ५७ लाख लागत लाग्ने बताउनुभयो ।

स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि गत मंसिर ९ मा टेन्डर स्वीकृत भएको निर्माण पक्षले आगामी असार मसान्तभित्रै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको जनस्वास्थ्य शाखा प्रमुख पाण्डेले बताउनुभयो ।

स्वास्थ्य केन्द्रमा नर्स, प्यारामेडिक्ससहितका स्वास्थ्यकर्मीहरु रहने र सामान्यदेखि अक्सिजन दिएर उपचार गर्ने सम्मका उपचार हुने जनस्वास्थ्य शाखा प्रमुख पाण्डेले बताउनुभयो ।

३ कठ्ठा जग्गामा बन्ने स्वास्थ्य केन्द्रको जनशक्ति तथा आवश्यक पूर्वाधार व्यवस्थापन बुटवल उपमहानगरले गर्ने उहाँले बताउनुभयो ।