चुरे बस्तीमा खानेपानीको हाहाकार

0
Shares

डडेल्धुरा।

डडेल्धुरा र कञ्चनपुर जिल्लाको सीमावर्ती चुरे बस्तीमा हिउँदमै खानेपानीको हाहाकार भएको छ । वन विनाशका कारण खानेपानीका मुहानहरु भासिँएसँगै परशुराम नगरपालिका–७ मलास क्षेत्रका बस्तीहरुमा खानेपानी समस्या उत्पन्न भएको हो ।

चुरे पर्वत श्रृखलाका बस्तीहरु बसन्यौटा, काजीगडा, दधिगडा र खोरियामा खानेपानीको चरम अभाव झेल्नु परिरहेको स्थानीय बताउँछन् । फिनल्याण्ड सरकारको सहयोगमा गैर सरकारी संस्था एकीकृत विकास समाज डडेल्धुराले सौर्यउर्जामार्फत लिफ्ट खानेपानी योजना निर्माण गरेपछि चुरे श्रृंखलामा रहेका बड्डीमलास, पिपलकोट र भूमिथला गाउँमा खानेपानी सुविधा पुगेको छ ।

‘मुख्य गरेर मलास क्षेत्रका चारवटा बस्तीमा खानेपानीको चरम अभाव उत्पन्न भएको छ,’ स्थानीय अगुवा विवेक धामीले भन्नुभयो,‘झण्डै एक सय बढी घरधुरी परिवारलाई खानेपानी अभावका कारण बस्तीनै छोडनुपर्ने बाध्यता देखिएको छ ।’

विगतका बर्षहरुमा चुरे पर्वत श्रृंखलामा रहेका दर्जनौ बस्तीहरुमा खानेपानीको खासै समस्या थिएन । हरेक बस्तीमा कुवा र इनार थिए । पछिल्ला बर्षहरुमा मुहान भासिएकाले कुवा र इनारमा पानी नभएकाले खानेपानी समस्या उत्पन्न भएको स्थानीय बुद्धि धामीले बताए । उनले बस्तीमा रहेका खानेपानीका मुहान सुकेकाले खानेपानीका लागि बेसीमा रहेको खोलासम्म पुग्नु परेको बताए ।

‘महिला मात्रै होइनन् घरका हरेक सदस्यले टाढाबाट बोकेर खानेपानी ल्याउनु परेको छ,’ काजिगडाका रामबहादुर महताले भन्नुभयो, ‘हरेक दिन खानेपानीका लागि परिवारका आधा सदस्यले दिनभर मिहेनत गर्नु परेको छ ।’ खानेपानीको चरम अभावका कारण सरसफाइ र स्वच्छतामा पनि समस्या रहेको स्थानीय बताउँछन् ।

खानेपानीको अभावमा शौचालय प्रयोग गर्न कठिनाइ रहेको दधिगडा गाँउका मन्धिरसिँह धामीले बताउनुभयो । उहाँले खानेपानीको अभावमा करेसाबारीमा तरकारी उत्पादन गर्न कठिनाइ भएको र नगदे बालीसमेत प्रभावित हुने गरेको जानकारी दिनुभयो । वडादेखि नगरपालिका र जिल्लास्थित निकायहरूसँग पटक पटक खानेपानी योजना माग गर्दा पनि सुनवाइ हुन नसकेको स्थानीयको गुनासो छ ।

हरेक निर्वाचनका बेला मलास क्षेत्रमा खानेपानी समस्या समाधान गर्ने उम्मेदवारहरुले आश्वासन दिए पनि हालसम्म खानेपानी योजना निर्माण हुन नसकेको खोरिया बस्तीका अङ्गवीर धामीले बताउनु भयो । ‘डडेल्धुराबाट सातपटक विजयी भएर पाँच पटक प्रधानमन्त्री बन्नु भएका शेरबहादुर देउवाले हालसम्मका हरेक निर्वाचनमा मलास क्षेत्रका सबै बस्तीमा खानेपानी र सिँचाई योजना निर्माण गर्ने आश्वासन दिनुभयो,’ उहाँले भन्नुभयो, ‘तर, चुनावी नारा र आश्वासनमा मात्रै खानेपानी समस्या सीमित बन्न पुगेको छ ।’

परशुराम नगरपालिका वडा नं. ७ का वडाध्यक्ष कृष्णबहादुर धामीले मलास क्षेत्रका बस्तीहरुमा खानेपानी योजना निर्माणका लागि पहल गरिने बताउनु भयो । ‘खानेपानीका मुहानहरु भासिएकाले बस्तीदेखि निकै तलबाट खानेपानी योजना निर्माण गर्नुपर्ने देखिएको छ ।’ वडाध्यक्ष धामीले भन्नुभयो, ‘लिफ्ट खानेपानी योजना निर्माण गरेर हरेक घरधुरीमा खानेपानीमा पुर्‍याउन वडा कार्यालयको बजेटबाट सम्भव नहुने भएकाले विभिन्न निकायहरूसँग योजना माग गरिरहेका छौँ ।’

परशुराम नगरपालिकाका प्रवक्ता खगेन्द्रबहादुर सिंहले नगरपालिकाले दुर्गम बस्तीको रुपमा रहेको मलास क्षेत्रलाई प्राथमिकतामा राखेर विकास निर्माणका योजनाहरु कार्यान्वयन भइरहेको बताउनु भयो । उहाँले चुरे श्रृंखलामा रहेको दुर्गम मलास क्षेत्रका बस्तीहरुमा खानेपानी योजना निर्माणका लागि नगरपालिकाले विभिन्न दातृ निकायहरूसँग छलफल गरिरहेको जानकारी दिनुभयो ।

परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशीले मलास क्षेत्रका केही बस्तीहरुमा खानेपानी योजना निर्माण भइसकेको बताउँदै काजिगडा, दधिगडा, बस्न्यौटा र खोरिया बस्तीमा खानेपानी योजना निर्माणका लागि अन्य निकायबाट बजेट प्राप्त हुन नसकेमा नगरपालिकाबाट बजेट बिनियोजन गरिने जानकारी दिनुभयो ।