यी हुन् जिल्ला प्रशासन सुधारका एक वर्षे काम

२० वटा दोहोरो नागरिकता सम्बन्धी मुद्दा, सेवाग्राहीलाई सहज

0
Shares

काभ्रे।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारको सरुवा भएको छ । राजधानीसँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लामा नागरिकहरुलाई प्रदान गरिने सेवाको गुणस्तर तथा सेवालाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीले खेल्ने भूमिकाका समीक्षा हुने गरेको छ ।

पहिलो पटक प्रमुख जिल्ला अधिकारी महिला भएर काभ्रे आए लगत्तै हुमकला पाण्डेले नागरिकहरुको सुरक्षामा ध्यान दिन गरिएको प्रतिबद्धता अधिकांश पूरा भएको बताउनु भएको छ । संचारकर्मीहरु समक्ष सेवाका बारेमा कुरा गर्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो–‘प्रशासन कार्यालयमा यस अघि स्थापना नभएको बैक काउन्टर, स्तनपान कक्ष, जस्तापाता (ट्रस्ट) राखिएको भवन निर्माण र सेवा प्रवाहलाई सहजीकरण, मर्मत सम्भार, रङरोगन गरिएको छ ।’ सेवा प्रवाहको वार्षिक कार्ययोजना तयार र कार्यान्वयन, सुरक्षा रणनीतिदेखि विपद व्यवस्थापन, सेवा प्रवाह सहजीकरण र कोभिड १९ व्यवस्थापन, राजमार्ग सुरक्षा लगायतका कार्ययोजना तयार गरिएको छ ।

 

त्यस्तै प्रदेश तथा संघीय निर्वाचन, स्थानीय तहको निर्वाचन सम्पन्न गराउन महत्त्वपूर्ण भूमिका खेलेको प्रशासनले राष्ट्रिय परिचयपत्रको निःशुल्क फर्म भर्ने व्यवस्था गरेको छ । ‘परिचयपत्रको नयाँ दर्ता स्टेसन थप गरी सेवा प्रवाहलाई थप सहजता बनाइएको छ’–प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो–‘राष्ट्रिय परिचयपत्रका लागि राति १२ बजेदेखि लाइन बस्नु पर्ने बाध्यताको अन्त्य गर्दै परिचयपत्रको फाराम निःशुल्क भर्ने ब्यस्था गरिएको छ ।’

यस अघि सेवाग्राहीहरुले साईबरहरुमा ५ सय रुपैयाँ तिरेर फाराम भर्नु पर्ने अवस्था थियो । परिचयपत्रका लागि दुईवटा स्टेशनलाई विस्तार गरेर थप एउटा स्टेसन व्यथापन गरिएको छ । लाइन व्यवस्थापनका लागि टोकन प्रणाली सुरु भएको छ । ५७ वर्ष पछि जिल्ला प्रशासन कार्यालयले ५ रोपनी भन्दा धेरै जमिन प्राप्त गरेको छ ।

अलपत्र भवन निर्माणका लागि भएको प्रयास भने सर्वोच्च अदालतमा पटक पटकको पेशी स्थगितका कारण अघि बढ्न नसकेको प्रशासन कार्यालयले जानकारी दिएको छ । प्रशासन कार्यालयमा भएका अभिलेखहरु मध्ये एक वर्षको अवधिमा ८ हजार अभिलेख वाईन्डिङ्ग गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले जिल्लाका विभिन्न संघ संस्थाको समन्वयमा प्रशासन सुधारका धेरै नीतिगत कार्य अघि बढाउन सहज भएको बताउनु भयो ।

प्रशासन कार्यालयले दोहोरो नागरिकतामा कडाइ गर्दै २० भन्दा बढी मुद्दा दर्ता गरी अनुसन्धान गरिएको छ । सार्वजनिक जग्गा अतिक्रमण अनुसन्धान सुरु गरिएको छ । जिल्लाको चर्चित पलाञ्चोक भगवती मन्दिरमा भएको अनियमितताको छानबिन सुरु भएको छ । विकटेश्वर मन्दिर गुठीको जग्गा अतिक्रमण, अवैध क्रसर उद्योग छानबिन गरी दर्ता नभएका ४ वटा उद्योग बन्द गरी एउटालाई मुद्दा दर्ता गरिएको छ भने सबै प्रहरी चौकीहरुको अनुगमन गरी आवश्यक सहकार्य, समन्वय र सहकार्य गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनु भयो ।