काठमाडौं।
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम तथा जेष्ठ प्रहरी अतिथि गृह भवनको बिहीबार उद्घा्टन गर्नु भएको छ।
नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा आयोजित एक समारोहवीच नवनिर्मित भवनको उद्घा्टन तथा निरीक्षण गर्नुका साथै उहाँले भवन परिसरमा वृक्षरोपण समेत गर्नुभयो ।

उक्त अवसरमा महानिरीक्षक सिंहले नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज कार्यक्रममा आवद्ध रही व्यवस्थापन कार्यमा सहयोग पुर्या्उनुहुने प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारी, प्राविधिक प्रहरी नायव उपरीक्षक निर्माला रायमाझी र प्रहरी नायव निरीक्षक पुलव राज गिरीलाई पुरस्कार प्रदान गर्नुभयो । साथै उहाँले पुस महिनाको उत्कृष्ट प्राविधिक प्रहरी नायव उपरीक्षक डा. अविनाश ध्वज जाशी र प्रहरी सहायक निरीक्षक हरिहर थापा समेतलाई पुरस्कार प्रदान गर्नुभयो ।
समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले सर्वसाधारण र नेपाल प्रहरीका वाहालवाला तथा अवकाश प्राप्त प्रहरी कर्मचारीका सन्ततीहरूको वृत्ति विकास गरी विकसित र समृद्ध राष्ट्र निर्माणमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम सार्थक हुने विश्वास व्यक्त गर्नुभयो ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट प्रमाणपत्र तह नर्सिङ कार्यक्रम संचालन गर्न सम्बन्धन प्राप्त यस शैक्षिक संस्थालाई समयसापेक्ष स्तरोन्नति गराउँदै चिकित्सा शास्त्र अध्ययन अध्यापन गराउने देशकै नमूना शिक्षण संस्थाको रूपमा विकास गर्दै लैजानु पर्ने उहाँले बताउनुभयो ।

चिकित्सा शिक्षा क्षेत्रमा विकास भएका नविनतम् प्रविधिहरूको अवलम्बन गर्दै शिक्षण प्रणालीलाई प्रविधिमैत्री, समयसापेक्ष र प्रयोगात्मक बनाउँदै लैजानु पर्ने आवश्यकता रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले आगामी शैक्षिक सत्रदेखि अमर र अशक्त प्रहरीका सन्ततीहरूमध्ये जेहेन्दार १ जनालाई पूर्ण छात्रवृत्ति, जुनियर प्रहरी अधिकृत, प्रहरी हवल्दारदेखि प्रहरी जवानसम्म र प्रहरी कार्यालय सहयोगीका सन्ततीहरू १/१ जनालाई ५० प्रतिशत छात्रवृत्ति सुनिश्चित गरिने योजना रहेको जानकारी गराउनु भयो ।
प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी कल्याण कोषको सहयोगमा नवनिर्मित जेष्ठ प्रहरी अतिथि गृहले उहाँहरूको अपेक्षालाई सम्मान र सम्बोधन गर्दै नेपाल प्रहरी अस्पतालबाट दैनिक रूपमा सेवा सुविधा प्राप्त गर्ने कुल संख्यामध्ये करिब ४० प्रतिशत अवकाश प्राप्त प्रहरी कर्मचारीहरू लाभान्वित हुने गरेको तथ्यले समेत पूर्व प्रहरी कर्मचारीहरूको सेवामा नेपाल प्रहरी अस्पताल प्रतिबद्ध रहेको सन्देश दिएको उल्लेख गर्नुभयो । नेपाल प्रहरीका कर्मचारीहरूमा यस अतिथि गृहले संगठनप्रति सकारात्मक दृष्टिकोण विकास गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
विरामी वा सेवाग्राहीको दर्जा हेरेर र पहुँचको आधारमा मात्र सेवा प्रवाह गरियो भने कुनै सार्थकता नहुने बताउँदै प्रहरी महानिरीक्षक सिंहले भन्नुभयो, ‘अस्पतालबाट प्रदान गरिने सेवाहरूमा स्वास्थ्य अवस्थाको आधारमा सम्पूर्ण प्रहरी कर्मचारी र सर्वसाधारणको उत्तिकै सरल र सहज पहुँच हुनुपर्छ ।’ नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम तथा जेष्ठ प्रहरी अतिथि गृहको प्रभावकारी संचालनको लागि आवश्यक कार्यविधि र मापदण्ड तयार गरी यसलाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाउन अस्पताल प्रशासनलाई उहाँले निर्देशन समेत दिनुभयो ।

सो अवसरमा नेपाल प्रहरी अस्पतालका मेडिकल डाईरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले धन्यवाद ज्ञापन गर्दै नेपाल प्रहरी संगठन स्वास्थ्य सम्बन्धी शैक्षिक कार्यक्रमहरू संचालन गरी राष्ट्रलाई आवश्यक दक्ष स्वास्य्वकर्मीको उत्पादन गर्न विगत देखिनै प्रयासरत रहेकोमा यस शैक्षिक सत्रबाट शैक्षिक कार्यक्रम संचालनको लागि सम्बन्धन प्राप्त भई प्रमाणपत्र तह नर्सिङ कार्यक्रम संचालन भएको बताउनुभयो । देशमा शान्ति सुरक्षा कायम राख्न अहोरात्र खटिएका प्रहरी कर्मचारी तथा आफ्नो जीवनको उर्जावान समय प्रहरी सेवामा दिई अवकाश हुनु भएका पूर्व प्रहरी कर्मचारीहरू र तिनका आश्रित परिवारहरूको स्वास्थ्य उपचारलाई गुणस्तरीय बनाउन नेपाल प्रहरी अस्पताल प्रतिवद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।
प्राविधिक प्रहरी नायव महानिरीक्षक डा. सञ्जय बिक्रम श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारीले स्कूल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम सम्बन्धी प्रतिवेदन र प्राविधिक प्रहरी निरीक्षक ई. शम्भू प्रसाद कोइरीले जेष्ठ प्रहरी अतिथि गृह भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
नेपाल प्रहरी कल्याण कोषको आन्तरिक श्रोतबाट निर्मित जेष्ठ अतिथि गृह भवन कुल २ करोड ८३ लाख ९२ हजार १ सय ८० रूपैयाँ ३८ पैसामा निर्माण कार्य सम्पन्न भएको हो । उक्त ३ तले नवनिर्मित भवनको कुल क्षेत्रफल ६ हजार ९ सय ७३ दशमलव ५५ वर्ग फिट रहेको छ । नवनिर्मित भवनको भुइँ तलामा मेश, इन्टरटेनमेन्ट हल, शौचालय तथा कार्यालय कक्ष रहेको छ । पहिलो र दोस्रो तलामा २ वटा क्याबिन, ३ वटा कमन कोठा र ट्वाइलेट/बाथरूम ब्लकको व्यवस्था गरिएको छ । नवनिर्मित भवनमा १८ जनासम्म बस्ने क्षमता रहेको छ ।











प्रतिक्रिया