नेपालको विकासमा भारतको योगदान महत्वपूर्ण : उपप्रधानमन्त्री श्रेष्ठ

0
Shares

काठमाडौं ।

नेपालको विकासमा भारतको योगदान महत्वपूर्ण भएको जिकिर गर्दै उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले नेपालको पहिलो विमानस्थल गौचरण विमानस्थल र त्रिभुवन राजमार्ग निर्माण गरेर भारतले नेपालको विकासमा साझेदारी गरेको स्मरण गर्नुभयो ।

भारतीय दूतावासले दक्षिण एसियाली अध्ययन केन्द्रको सहकार्यमा सोमबार राजधानीमा आयोजना गरेको ‘भारत–नेपाल विकास साझेदार सम्मेलन’को उद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो–‘भारतले सन् १९५४ मा गौचरण विमानस्थल र सन् १९५६ मा त्रिभुवन राजमार्ग निर्माण गरेर नेपालको विकासमा महत्वपूर्ण योगदान दिएको छ ।’ उहाँले सन् २०१५ को विनाशकारी भूकम्प र कोभिड–१९ को महामारीमा पनि सबैभन्दा पहिला भारतले सहयोगको हात बढाएको भन्दै भारतीय सहयोगको प्रशंसा गर्नुभयो ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै भारतीय विदेश मन्त्रालयका आर्थिक सम्बन्ध तथा विकास साझेदार मामिलासम्बन्धी सचिव प्रभात कुमारले नेपालको विकासमा अर्थपूर्ण साझेदारी गर्न भारत सधैं तत्पर रहेको बताउनुभयो । उहाँले काठमाडौं–रक्सौल रेलमार्गको विस्तृत डिजाइनको काम भइरहेको र यो रेलमार्ग नेपालको विकासमा ‘गेम चेञ्जर’ हुनसक्ने धारणा राख्नुभयो ।कार्यक्रममा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले सन् २०२० मा अतिकम विकसित मुलुकबाट माथि उक्लने नेपालको प्रतिबद्धता पूरा गर्न भारतले नेपालको विकास साझेदारको रुपमा सहकार्य गर्ने बताउनुभयो ।

उहाँले भारतबाट नेपालमा ल्याइएको पेट्रोलियम पाइप लाइन दक्षिण एसियाकै पहिलो भएको जिकिर गर्नुभयो । दक्षिण एसियाली अध्ययन केन्द्रका निर्देशक डा. निश्चलनाथ पाण्डेले दुबै देशबीच रहेको सदियौं पुरानो मित्रतालाई अझै प्रगाढ बनाउँदै आपसी हित अभिबृद्धिका लागि ‘क्रस बोर्डर कनेक्टिभिटी’लाई अझै सशक्त बनाउनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

उद्घाटन सत्रपछि शुरु भएको सत्रमा मुख्य सचिव शंकरदास बैरागीले विकास पूर्वाधार निर्माण गर्दा तीन पक्षलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिंदै भन्नुभयो–‘पहिलो पक्ष आवश्यक्तालाई आधार मान्नुपर्छ । त्यसपछि दोस्रोमा परियोजना तोकिएको समय र तोकिएकै बजेटमा पूरा गर्ने प्रत्याभुति गरिनुपर्छ ।’कार्यक्रममा पूर्व राजदूत विजयकान्त कर्णले नेपालको विकासमा भारतको साझेदारीले पु¥याएको योगदानका बारेमा चर्चा गनुभयो ।