ट्याक्सीमा छुटेको सामान ट्राफिक प्रहरीद्धारा सम्बन्धीत धनीलाई हस्तान्तरण

0
Shares

काठमाडौँ।

काठमाडौँको ठमेल देखि बौद्धसम्म यात्रा गर्ने क्रममा आइतबार दिउँसो ट्याक्सीमा छुटेको नगद १ लाख सहित विभिन्न धनमाल रहेको झोला ट्राफिक प्रहरीले खोजतलास गरी धनीलाई बुझाएको छ । सवारी साधनमा छुटेको सामान खोजतालास गरी सोमबार ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई बुझाएको हो ।

आइतबार दिउँसो ३ बजे, ठमेलबाट बौद्धसम्म जाने क्रममा बा १ ज ५८३ नम्बरको ट्याक्सीमा साङ्गे डोल्मा लामाको एक लाख नगदसहित महत्वपूर्ण सामान रहेको झोला छुटेको थियो ।

धनीले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा दिएको निवेदनका आधारमा सिसिटिभी फुटेजको सहायताबाट खोजतलास गरी सामान फेला पारेर सम्बन्धित धनीलाई बुझाएको हो ।

चालु आर्थिक वर्षमा उपत्यका ट्राफिक प्रहरी कार्यालयको खोजतलास शाखामा सवारी साधनमा सामान छुटेको भनि २ सय ६४ ओटा निवेदन परेका थिए । जसमध्ये १ सय ९५ जनाको अन्दाजी १ करोड १९ लाख ‍ ४२ हजार बराबरको सामान खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित व्यक्तिहरुलाई बुझाइसकेको छ ।

सवारी साधनमा चढ्दा सवारी साधनको नम्बर ख्याल गर्न तथा ओर्लिदा आफ्नो सामान छुटेको छ की छैन सुनिश्चित गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सबैलाई अनुरोध गर्नु भएको छ ।