निर्माण सामग्री अभावमा मालढुंगा-बेनी सडक अलपत्र

0
Shares

पर्वत । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरमा पर्ने मालढुंगा–बेनी सडक स्तरउन्नति कार्य अलपत्र परेको छ । कालीगण्डकी नदीबाट निर्माण सामग्री उत्खनन गर्न नपाएपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा–बेनी सडक स्तरोन्नतिको काम अलपत्र बनेको हो ।

पर्वतको कुश्मा नगरपालिका–१ मा पर्ने मालढुंगाबाट जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक निर्माण निर्माण सामग्रीको अभावमा रोकिने अवस्थामा पुगेको छ । निर्माण कार्य रोकिएको चार महिनापछि चौतर्फी दबाबका कारण शुरू भए पनि निर्माण सामग्री नहुँदा काम रोक्नुपरेको निर्माण कम्पनी ओमकारेश्वरका प्रतिनिधि अमृत दाहालले बताउनुभयो ।

सडकको धेरै ठाउँमा सबबेस र बेस बिच्छ्याउने अवस्थामा पुगेको तर क्रसर उद्योगका लागि चाहिने कच्चा पदार्थ नदीबाट निकाल्न नदिएका कारण काम रोक्नुपरेको दाहालले दाबी गर्नुभयो । ‘सडकको क्षेत्रमा ढुंगा नै निस्कँदैन, नजिकै बगेको नदीबाट निकाल्न स्थानीय प्रशासनले दिँदैन’, उहाँले भन्नुभयो– ‘सर्वोच्च अदालतले रोक लगाएको भन्दै सामग्री निकाल्न नपाएपछि गाडी र कामदार थन्क्याएर हिँड्ने अवस्थामा पुगेका छौं ।’

तिहार अघिसम्म तीव्र गतिमा काम गरेर ६ किलोमिटर सडक विस्तार, नाली र पर्खाल सकेर ग्राभेल गर्ने तयारी अवस्थामा पुगेको दाहालले बताउनुभयो । ठेक्का सम्झौताअनुसार सडक निर्माणका लागि आवश्यक नदीजन्य कच्चा पदार्थको स्रोत कालीगण्डकी हो । नदीजन्य पदार्थ नपाएपछि प्रशोधन गर्न स्थापना गरेको अस्थायी क्रसर सञ्चालन भएको छैन । ग्राभेल गर्न आवश्यक पर्ने नदीजन्य पदार्थ नभएपछि सयौँ मजदुर, दर्जनौं डोजर, ट्रिपर थन्क्याएर राख्नुपरेको उहाँको गुनासो छ ।

कालीगण्डकी धार्मिक नदी पनि हो । यहाँ शालिग्राम पाइने भएकाले क्रसर व्यवसायीहरूले जथाभावी उत्खनन गर्दा यसको संस्कृति र सभ्यता नै लोप हुन थालेको भनेर सर्वोच्च अदालतमा मुद्दा दायर भएपछि अदालतको अन्तरिम आदेशपछि स्थानीय तहले समेत नदीबाट ढुंगागिट्टी उत्खननका लागि ठेक्का लगाउन सकेका छैनन् ।

जलजला गाउँपालिकाले सर्वोच्च अदालतमा पत्राचार गर्दै राष्ट्रिय गौरवको आयोजना नै बन्द हुने अवस्था भएकाले आयोजनाका लागि मात्रै भए पनि उत्खननको अनमुति दिन र मुद्दालाई छिटो किनारा लगाउन पत्राचार गरेको छ । कार्यपालिकाको बैठकले निर्णय गरेर नै आयोजनाका लागि निर्माण सामग्री निकाल्ने अनुमति दिन अदालतलाई अनुरोध गरिएको तर जवाफ नआएको गाउँपालिका अध्यक्ष राजु आचार्यले बताउनुभयो ।

‘सर्वोच्च अदालतको २०७८ असार २९ गतेको आदेशअनुसार कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खननमा रोक लागेकाले ठेक्का लगाउन नसकिएको, करोडौं राजस्व गुमेको र विकास आयोजनामा देखिएको असरलाई मध्यनजर गरेर पत्राचार गरेका छौं, छिट्टै निकास आउने विश्वास लिएका छौं’ –अध्यक्ष आचार्यले भन्नुभयो ।

उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत १३ किलोमिटर दूरीको मालढुंगा–बेनी सडक स्तरोन्नतिका लागि २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले ५२ करोड ८६ लाख रुपियाँमा ठेक्का सम्झौता गरेको थियो ।

करिडोरको निर्माण कार्य अलपत्र पर्न थालेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पुसको दोस्रो साता मालढुंगादेखि तिब्बतको सिमाना कोरला नाकासम्म अनुगमन गर्दै समस्याहरू फुकाउन पहल गर्ने प्रतिबद्धता पनि जनाउनुभएको थियो ।