बालविवाह रोकथामको उपाय : २० वर्षपछि विवाह गरेमा सिलिन्डर उपहार

0
Shares

बाँके । बाँकेको खजुरा गाउँपालिकाको एउटा वडाले २० वर्षपछि विवाह गर्नेलाई सिलिन्डर सेट उपहार दिने निर्णय गरेको छ ।

मधेसी, मुस्लिम समुदायको बाक्लो बसोबास रहेको वडा नं. ५ ले यस्तो निर्णय गरेको हो । वडाध्यक्ष गरिवे शेषले बालविवाह रोकथाम गर्न यस्तो उपहारको योजना ल्याएको बताउनुभयो । ‘हाम्रो वडामा बालविवाह अलि बढी नै छ । त्यसको रोकथामका लागि हामीले सिलिन्डर सेट उपहार योजना ल्याएका छौं’, वडाध्यक्ष शेषले भन्नुभयो– ‘यो योजनाले बालविवाह रोकथाममा सहयोग पु¥याउने आशा गरेका छौं ।’

वडाले माघ ३ गतेपछि २० वर्ष उमेर पुगेर विवाह गरेकालाई यस्तो उपहार दिने बताएको छ । उमेर पुगेर विवाह गरेकाले नागरिकता, विवाह हुने प्रमाण, उमेर खुल्ने प्रमाण (दुलाहा–दुलही दुवैको) पेस गर्नुपर्नेछ । यो उपहार योजना वडा नं. ५ का स्थायी बासिन्दाका लागि मात्रै लागू गरिएको छ ।

बाँकेको मधेसी, मुस्लिम बस्तीमा बालविवाह बढी हुने गरेको छ । विवाहको उमेर २० वर्ष भए पनि परम्पराका नाममा पहिले नै विवाह गरेको पाइन्छ । बालविवाहमा न्यूनीकरण भइरहे पनि अझै रोकथाम हुन सकेको छैन । वडाध्यक्ष शेषले आफ्नो वडामा बालविवाह अन्यत्रभन्दा बढी नै रहेको जानकारी दिनुभयो ।

मधेसी समुदायमा विवाह, गौना, थौना, आला, चाला गरेपछि मात्रै दुलहीलाई घरमा राखिन्छ । विवाह भए पनि यी सबै प्रक्रिया पु¥याउन समय लाग्छ । सानैमा विवाह गर्ने र अरु प्रक्रिया २० वर्षसम्ममा पु¥याउने गरेको पनि पाइएको छ । कतिपयले भारतमा रहेका आफन्तीको घरबाट नै बालविवाह गरेको पाइन्छ ।

मधेसी समुदायका केही व्यक्तिले बाँकेमै १६ वर्षमा विवाह गर्न पाउनुपर्छ भन्दै केही अगाडि निरन्तर आन्दोलन गरेका थिए । पहाडी समुदायमा पनि बालविवाह रहेको छ । सामाजिक सञ्जालको दुरुपयोग गरेर स्कुले बालबालिका विवाहमा बन्धनमा बाँधिन्छन् ।

ठूलो समस्याको रूपमा रहेको बालविवाहलाई रोकथाम गर्न अन्य पालिकाहरूले पनि फरक–फरक योजना ल्याइरहेका छन् । डुडुवा गाउँपालिकाले कन्या मुद्दती खाता सञ्चालन गरेको छ । छोरी जन्मिनेबित्तिकै उसको नाममा पालिकाले नै खाता खोलेर पैसा राखिदिने र त्यो पैसा र ब्याज २० वर्षपछि निकाल्न सकिन्छ । कन्या मुद्दती खाताको पैसा अगाडि निकाल्न नसक्दा बालिकाले बालविवाह नगर्ने मात्रै होइन, कम्तीमा एसईई पढ्ने विश्वास गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले पनि २० लाख रुपियाँ छुट्याएर बालिकाको शिक्षाका लागि डुडुवामा जस्तै कार्यक्रम सञ्चालन गर्दै छ । बालिकालाई शिक्षामा जोड्न सक्दा बालविवाह न्यूनीकरण हुने सम्वद्धहरूको भनाइ छ ।