झापाकी इन्दिरा रानामगर उपसभामुखमा निर्वाचित

0
Shares

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा सत्ता गठबन्धनकी साझा उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर निर्वाचित हुनुभएको छ । शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा रानामगरको पक्षमा १ सय ६६ जना सांसदले समर्थन जनाएका थिए भने विपक्षमा ९७ जनाको मत परेको छ ।

यस्तै, तटस्थमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालको मत परेको संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाका कुल २ सय ७५ सांसदमध्ये २ सय ६४ सांसद उपस्थित थिए ।

सामाजिक सेवाबाट राम्रो परिचय बनाएकी रानामगर सक्रिय राजनीतिमा संलग्न भएको तीन महिनामै संघीय संसद्को उपसभामुख बन्न सफल हुनुभएको छ । उहाँ रास्वपाबाट समानुपातिक सांसद बन्नुभएको थियो । झापाको शनिश्चरेमा २०२७ असार १८ मा जन्मिएकी रानामगरले ११ वर्षमा मात्रै विद्यालयमा पाइला टेक्नुभएको थियो । उहाँ विद्यालयमा कक्षा ५ मा भर्ना हुनुभएको थियो ।

सभामुख देवराज घिमिरेले पाँच वर्षको कार्यकाल हुने उपसभामुख पदका लागि सबैभन्दा पहिला रानामगरको उम्मेदवारीलाई सभामा निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । मत विभाजनको क्रममा उहाँको पक्षमा बहुमत सांसद देखिएपछि प्रर्तिस्पर्धी कांग्रेस सांसद मुक्ताकुमारी यादवको उम्मेदवारीलाई निर्णयार्थ प्रस्तुत गर्न आवश्यक रहेन ।

सत्ता गठबन्धन दलको तर्फबाट उम्मेदवार बनेकी रानामगरलाई रास्वपा सांसद सोविता गौतमले उपसभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्ताव गर्नुभएको थियो भने एमाले सांसद कृष्णगोपाल श्रेष्ठ, माओवादी सांसद नारायणी शर्मा र राप्रपा सांसद राजेन्द्रप्रसाद लिङ्देनले समर्थन गर्नुभएको थियो ।

यस्तै, प्रतिपक्षी दलका तर्फबाट कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेले कांग्रेस सांसद मुक्ताकुमारी यादवलाई प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्ताव गर्नुभएको थियो भने एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सर्वेन्द्रनाथ शुक्लाले समर्थन गर्नुभएको थियो । उपसभामुखको निर्वाचन भइसकेपछि प्रतिनिधि सभाको अर्को बैठक यही माघ १० गते दिउँसो १ बजेका लागि बोलाएर शनिबारको बैठक अन्त्य भएको थियो ।