धर्म–संस्कृतिमा विविधता भएको नेपालमा धार्मिक, सांस्कृतिक स्वतन्त्रतालाई संविधानले नै सम्मान गरेको छ । सबै प्रकारको विभेदको अन्त्य नै धर्मको मूल मर्म हो र विश्वबन्धुत्व र भाइचाराको प्रतीक पनि । धार्मिक सहिष्णुता र अन्तरधर्मावलम्बीबीचको प्रगाढ सम्बन्ध फैलाई एकता कायम गराउने पर्वका रुपमा विस्तारित हुँदै गएको आभास दिएको छ भर्खरै मनाइएको क्रिसमस डेले पनि । विदेशिएका लाखौँ नेपाली दाजुभाइले मेरी क्रिसमस भन्दै परिवार र साथीसंगीहरुसँग खुशी साटासाट गरे । क्रिसमस आज गैरइसाईहरुको समेत साझा र आत्मीय पर्व बन्दै गएको छ ।
नेपालमा पनि सरकार र सरोकारवालाहरुको पहलमा फाल्गुन शुक्ल त्रयोदशीमा मनाइने शिवरात्रि पर्वलाई यस्तै विश्व उल्लासको पर्व बनाउन सकिन्छ । भगवान् शिवको जन्मदिन मानिने शिवरात्रिमा पशुपतिनाथमा लाग्ने मेला विश्व हिन्दूहरुकै लागि गौरव र हर्षोल्लासको विषय भए पनि क्रिसमसका झैँ सबै धर्मावलम्बीमाझ शिवरात्रि पर्वको उल्लास छाउन सकेको छैन । शिवरात्रिमा भारतीय, श्रीलंकाली लगायतका हिन्दू तीर्थयात्रीको रुपमा लाखौँ व्यक्ति पशुपति दर्शनका लागि आउने गर्छन् तापनि अब हिन्दूमात्र नभई अन्य धर्मावलम्बीका लागि पनि शिवरात्रिलाई साझा पर्व र उल्लासमय अवसरका रुपमा विस्तार किन नगर्ने ?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा नेपाल आउँदा नेपालको पशुपतिनाथमा भारतका र भारतको विश्वनाथ मन्दिरमा नेपालका पुजारी रहेको सन्दर्भ उठाएका थिए । विश्वनाथ मन्दिरमा टेकनारायण पौडेल नेपाली पुजारी रहेको जानकारी गराएका थिए । पशुपतिनाथमा भारतका भट्ट ब्राह्मण नै पुजारी हुने परम्परा रहे पनि भारतमा नेपाली मुख्य पुजारीको यस्तै निरन्तरता भने छैन । पशुपतिका मूल भट्टले पशुपति क्षेत्रको भण्डारेश्वर महादेवबाट शपथ लिन शुरु गरेर अन्य विभिन्न स्थानमा रहेका महादेवसँग शपथ लिने परम्परा छ । पशुपतिनाथका भटट् नियुक्त हुँदा शपथ लिने खञ्जेश्वर महादेवको शिवलिंग अझ विशेष महत्वको मानिन्छ । पशुपतिनाथको मूल पुजारी भारतबाट ल्याई मासिक १० लाख तलब दिएर नियुक्त गर्ने परम्परा अझै हामीले तोड्न सकेका छैनौँ । हाम्रै देवभूमिमा वैदिक संस्कारमा हुर्किएका विशुद्ध सात्विक जीवन बिताउने विद्वान् ब्राह्मणलाई नै मूल पुजारी बनाउन केको आपत्ति ?
नेपाल धार्मिक, सांस्कृतिक सम्पदामा धनी छ । काठमाडौँ उपत्यकाका अद्वितीय धार्मिक, सांस्कृतिक सम्पदाहरुले विश्वव्यापी महत्व बोकेकोले तिनको हरतरहबाट संरक्षण गर्नु राज्यको दायित्व हो । विश्वसम्पदा सूचीमा सूचीकृत गर्न नेपालले गरेको आवेदन बमोजिम विश्व सम्पदा समितिले नेपालका विभिन्न धार्मिक क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने निर्णय गरेको हो । जसअनुसार २०५५ सालमा पशुपति क्षेत्रलाई संरक्षित स्मारक क्षेत्रका रुपमा घोषित गरेको छ । सांस्कृतिक सम्पदालाई सुरक्षित गरी राख्न आवश्यक भएकाले युनेस्को विश्व सम्पदा समितिमा आवेदन गरेपछि पशुपति क्षेत्र पनि सूचीकृत भएको हो । विश्व सम्पदा महासन्धिको पक्ष राष्ट्रले जुनसुकै सम्पदा संरक्षणको नियममा रही व्यवस्थापन गर्नुपर्ने अनिवार्यता छ । सांस्कृतिक विश्व सम्पदा क्षेत्र भएकाले पशुपति क्षेत्र विकास र व्यवस्थापनका लागि नेपाल सरकारले एउटा छुट्टै व्यवस्थापन प्रणाली लागू गर्नु आवश्यक छ । युनेस्कोले काडमाडौँ उपत्यकामा मात्रै सातवटा सम्पदालाई विश्व सम्पदा सूचीमा सूचीकृच गरेर काठमाडौँ उपत्यकालाई धार्मिक, सांस्कृतिक तथा पुरातात्विक दृष्टिकोणले धनी भएको सन्देश विश्वभर दिइरहेको छ । हामीले यिनको संरक्षण र व्यवस्थापनमा पर्याप्त ध्यान दिन नसक्दा मापदण्ड विपरीत निर्माण र अतिक्रमणसमेत भइरहेकाले युनेस्कोले पटक–पटक सचेत गराउँदै आएको छ । त्यसैले पशुपति क्षेत्रमा मापदण्ड विपरीतका संरचना निर्माण गर्न दिइनुहुन्न । यसले विश्व सम्पदा क्षेत्रलाई कुरुप बनाउँछ । विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदाले हाम्रो जीवन्त इतिहास, कलाकौशल र संस्कृतिलाई बचाएर राखेका हुन्छन् । धार्मिक सम्पदामा रहेका परम्परागत शैली र कलाकौशलले तीर्थयात्री र पर्यटकलाई आकर्षण गरिरहेका हुन्छन् । तर विडम्बना, पशुपतिनाथको मन्दिरनजिक बगेको बाग्मती नदीमा ढल मिसाएर कुरुप बनाइएको छ । लामो समयको बाग्मती सफाइ अभियानले पनि नदीलाई सफा, स्वच्छ र सुन्दर बनाउन सकेको छैन ।
पशुपतिनाथप्रति आस्था राखेर स्वदेश वा विदेशबाट आउने जोसुकै तीर्थथात्रीहरुलाई सम्मान र सुविधाका साथ बेग्लाबेग्लै लाइनमा राखेर सहजै दर्शन गराउने व्यवस्था पशुपति विकास कोषले गर्नुपर्छ । भक्तजनलाई विशेष चाडपर्वमा समेत चारै ढोकाबाट बढीमा एक घन्टा लाइनमा बसेर दर्शन गर्ने व्यवस्था पशुपति क्षेत्र विकास कोषले मिलाउन सके दर्शनार्थीको संख्या अझै बढ्ने र पशुपतिको आम्दानीमा वृद्धि हुन्छ । पशुपतिनाथप्रति अति आस्था–भक्ति राखेर दर्शनका लागि आउने विशेषतः भारतीय तीर्थयात्रीहरुलाई राजनीतिक प्रतिशोध र लाभ–हानिको आधारमा नराम्रो बोली व्यवहार गर्नुहुन्न र दर्शनमा अवरोध सिर्जना गर्नुहुन्न । लामो बाटो तय गरी विशेष आस्थाका साथ पशुपतिनाथको दर्शनार्थ आइपुग्ने भारतीय लगायत जोसुकै विदेशीहरुलाई बेग्लै लाइनको व्यवस्था गरेर छुट्टै एक ढोकाबाट सहज रुपमा दर्शनको व्यवस्था मिलाउनुपर्छ । विश्वभरका हिन्दूको आस्थाकोे केन्द्र पशुपतिनाथको दर्शन गर्दा अपार आनन्द मान्ने भारतीयहरुलाई भारतीय मन्दिरहरुमा नेपालीलाई गर्ने व्यवहारबारे सबक सिकाउनसमेत तिनलाई हामीले बेग्लै लाइनको व्यवस्था गरेर सजिलैसँग दर्शनको व्यवस्था मिलाउन कन्जुस्याइँ गर्नुहुँदैन । भारतका मठमन्दिरमा पनि हामी नेपालीले कहाँ सजिलै र सम्मानका साथ दर्शन गर्न पाउँछौँ र भन्ने बदलाको व्यवहार देखाउनुभन्दा तिनलाई दर्शनदेखि घुमफिरसम्म सहज वातावरण उपलब्ध गराउनुपर्छ, ताकि आउँदा दिनमा बर्सेनि भारतका चार धाम पुग्ने असंख्य नेपालीले भारतका मठमन्दिरमा पनि त्यत्तिकै सुविधा र सम्मानका साथ दर्शन र घुमफिर गर्न पाऊन् ।
शिवरात्रि, बालाचतुदर्शी, तीजलगायतका पर्वमा त दर्शनार्थीको भीडले पशुपति क्षेत्रवरपरसमेत खुट्टा राख्ने ठाउँ हुँदैन । यी पर्वमा सजिलैसँग रातभरि बत्ती बालेर बस्ने सत्तलको व्यवस्था र दिसापिसाब गर्ने शौचालयको व्यवस्था नहुँदा दर्शनार्थीले ठूलो सास्ती बेहोर्नुपरेको हुन्छ । ठूला पर्व–मेलामा जताततै फोहोर र दुर्गन्धले यो क्षेत्र विरुप बन्दा पनि पशुपति विकास कोषले शौचालय, पानी र सत्तलहरुको पर्याप्त व्यवस्था किन गर्न सकेको छैन ? स्वदेशी, विदेशी सबै दर्शनार्थीको सहजपनका लागि पशुपतिको आफ्नै आम्दानीले यहाँको राम्रो व्यवस्थापन गर्न सकिन्छ । बर्सेनि लाखौँ तीर्थयात्री तथा पर्यटक आउने पशुपति क्षेत्रमा शौचालय, पानी र धर्मशालाको उपयुक्त व्यवस्था नहुनु विडम्बना हो । पशुपति क्षेत्रमा मात्र नभई हाम्रा कुनै पनि विश्व सम्पदा सूचीमा परेका क्षेत्रमा शौचालय र पानीको राम्रो प्रबन्ध छैन । यसको असर हाम्रै पर्यटन व्यवसाय र आयआर्जनमा पर्छ र नेपालको छवि पनि बिग्रन्छ । पशुपति क्षेत्र विकासको गुरुयोजना बनाउँदा शौचालयलाई विशेष प्राथमिकता दिइनुपर्ने हो ।
धार्मिक तथा ऐतिहासिक क्षेत्रको मुख्य सम्पत्ति भनेकै त्यहाँको मौलिकता हो । पशुपति क्षेत्रको विशिष्टता र संवेदनशीलतालाई ध्यान दिएर यस क्षेत्रमा निर्र्माण कार्य गरिनुपर्छ । पशुपति विकास कोषको अहिले कार्यालय रहेको ठाउँ साढे चर्ने चउरका लागि राखिएकाले त्यो खालि गर्नुपर्ने तर्क संस्कृतिविद् डा. गोविन्द टण्डनको छ । यहाँको वास्तुकला, मूर्ति अनेक सम्पदा तथा खालि क्षेत्र संरक्षण नै अहिलेको आवश्यकता हो । पशुपतिमा जुनसुकै काम गर्दा पनि पुरातत्व विभागको स्वीकृति लिनुपर्छ । कुनै योजना बनिसकेपछि त्यसको लागत र गुणस्तर परीक्षण हुनुपर्छ । पशुपतिमा बेलुकाको आरतीअघि राष्ट्रिय गान गाउनुपर्ने भन्दै तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री योगेस भट्टराईले राजनीतिक दबाब दिँदा चौतर्फी आलोचना भयो । कम्युनिस्ट पार्टीका नेता भट्टराईले हचुवाका भरमा पशुपतिनाथको आरतीमाथि राजनीति घुसाउने जुन हत्कण्डा गरे त्यो अत्यन्त निन्दनीय र अशोभनीय थियो । त्यस्तै अर्का कम्युनिस्ट नेता केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीकालमा पशुपतिनाथमा सुनको जलहरी राख्न निर्देशन दिँदा जलहरीमा हुनुपर्ने ११ किलो सुन नै गायब भएको समाचार बाहिरियो । तर कोही कसैलाई कानुनी कारबाही भएको देखिएन । केही वर्षअघि माओवादी नेता तथा तत्कालीन प्रधानमन्त्री प्रचण्डले पशुपतिनाथको मूल पुजारी फेर्न बल गर्दा आफँै प्रधानमन्त्रीबाट बाहिरिनुप¥यो । कम्युनिस्ट नेतानेतृहरुबाट पटकपटक हाम्रो आराध्यदेव पशुपतिभित्र जबरजस्ती राजनीतिक दबाब र प्रभाव घुसाउने कार्य हुँदै आएको छ । धार्मिक आस्थाका केन्द्रमा कम्युनिस्ट दलका नेताहरु
किन यसरी बारम्बार राजनीतिक हस्तक्षेप र हत्कण्डा बढाइरहन्छन् ? पशुपति क्षेत्रलाई विश्वकै सनातन हिन्दू तीर्थयात्रीको विशिष्ट गन्तव्य तथा पुण्यभूमि र साधनाभूमिका रुपमा विकास गर्नुपर्छ । धर्मको रक्षा र सम्पदाको संरक्षण गरी पाशुपत क्षेत्रलाई अन्तर्राष्ट्रिय तीर्थस्थलकै रुपमा विकास गर्ने गुरुयोजनाको आवश्यक छ । धार्मिक पर्यटकका लागि असिम आस्था र आकर्षणको केन्द्र हो पशुपति क्षेत्र । विश्वभरका करोडौँ हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपतिनाथको पुरातात्विक महत्व जोगिने गरी निर्माणका कार्य गर्नु आवश्यक छ । विश्वनाथको काशी, रामको अयोध्या र कृष्णको वृन्दावनझैँ उत्कृष्ट क्षेत्र हो भोले शंकरको महाधाम पशुपति क्षेत्र । पाशुपत क्षेत्रमा रहेका प्राचीन स्मारक तथा सम्पदाको जीवन्तता जोगाउँदै दर्शनार्र्थी र पर्यटकलाई आवश्यक सेवा–सुविधा उपलब्ध गराउनुपर्छ । जल, जंगल, पत्थर, वास्तु आदिले नै कुनै क्षेत्रलाई तीर्थस्थलजस्तो बनाउने भएकोले यहाँका महत्वपूर्ण चिजको संरक्षण आवश्यक छ । मूलतः स्थानीय प्रकृति र संस्कृति रक्षाका लागि पनि पशुपति क्षेत्रको द्रुत विकास र व्यवस्थापनमा पशुपति विकास कोषलगायत सबैको विशेष ध्यान जानु जरुरी छ ।
प्रतिक्रिया