शिक्षामन्त्रीद्वारा विश्वविद्यालय छाता ऐन र उच्च शिक्षा ऐन ल्याउने प्रतिबद्धता व्यक्त



 काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले आफ्नो कार्यकालमा विश्वविद्यालय छाता ऐन र उच्च शिक्षा ऐन ल्याउने प्रतिबद्धता जनाउनुभएको छ । शिक्षा मन्त्रालयमा पदबहाली गरेको भोलिपल्ट बुधबार मन्त्रालयका सचिव र महाशाखाका प्रमुख एवं सहसचिवहरूसँगको पहिलो ब्रिफिङमा उक्त प्रतिबद्धता जनाउनुभएको हो ।

मन्त्री खनालले विश्वविद्यालयलाई पुनःसंरचना गर्न छाता ऐन अपरिहार्य रहेको बताउँदै गर्दा मन्त्रालयका सबै महाशाखा प्रमुखले उच्च शिक्षाको छाता ऐन र शिक्षा ऐन ल्याएमा शिक्षा मन्त्रालयको ठूलो उपलब्धि हुने धारणा राखेका थिए ।

दुई विधेयकको हालसम्मको प्रगतिको बारेमा जानकारी लिँदै मन्त्री खनालले भन्नुभयो– ‘शिक्षा ऐन र छाता ऐन ल्याउन प्रतिबद्ध छु, यसको लागि मन्त्रालयका सबै अधिकारीको महत्वपूर्ण सहयोग हुनेमा विश्वस्त छु । दुवै विधेयकको काम फेरि शून्यबाट गर्नुपर्नेछ ।’

सबै महाशाखाका प्रमुखका काम, कर्तव्य, अधिकार र योजना बारेमा जानकारी लिने क्रममा उहाँले सरकारले जारी गरेको न्यूनतम साझा कार्यक्रममा उल्लेख भएका विषयलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिँदै सबै विषयलाई तत्काल अध्ययन गर्न आग्रह पनि गर्नुभयो । मन्त्री खनालले भन्नुभयो–‘अहिलेको अवस्थमा सबैभन्दा ठुलो चुनौती विद्यालय तहको पाठ्यपुस्तक समयमै पु¥याउनुपर्ने रहेको छ । त्यसपछि मन्त्रालयका महत्वपूर्ण विषय र योजनालाई क्रमैसँग अघि बढाउनुपर्नेछ ।’

उहाँले यो मन्त्रालयको नाम शिक्षा र विज्ञान प्रविधि भए पनि विज्ञानको विषयमा खासै काम हुन नसकेको गुनासो गर्दै भन्नुभयो– ‘यो विज्ञान मन्त्रालय पनि हो । विज्ञानको विषयमा खासै उपलब्धि भएको देखिएन ।’ उहाँले विद्यालय तहदेखि नै विज्ञान प्रविधि र वैज्ञानिक उत्पादनमा मुख्य भूमिका खेल्नुपर्नेमा जोड दिँदै भन्नुभयो – ‘विज्ञान र प्रविधि विषयमा स्कोप राम्रो छ । त्यसलाई माथि पु¥याउन सबैको सहयोग महत्वपूर्ण रहनेछ । मन्त्रालयमा सूचना र प्रविधिको पहुँच बढाउन सबै प्रकारका उपाय अपनाउनुपर्छ । विश्वविद्यालयलाई खोज र अनुसन्धान गर्ने कामको जिम्मा दिनुपर्छ । त्यति मात्रै नभई मन्त्रालयको मातहतमा रहेका सबै कार्यालयमा सूचना र प्रविधिको प्रयोग बढाउनुपर्छ ।’

सरकारको न्यूनतम साझा कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन सबै निरक्षरलाई साक्षर बनाउनु मुख्य दायित्व रहेको धारणा राख्दै उहाँले प्रत्येक महाशाखाको कामको बारेमा सूक्ष्म रूपमा जानकारी लिन महाशाखागत रूपमा पुनः बैठक बस्ने बताउनुभयो ।

शिक्षा क्षेत्रको सुधार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने संस्था टिच फर नेपालको संस्थापक मन्त्री खनालले आपूmले शिक्षक र कक्षा कोठामा देखेको कमीकमजोरीलाई सुधार गर्न शिक्षा मन्त्रालयको जिम्मा लिएको बताउनुभयो । उहाँले शिक्षामा धेरै सुधार गर्नुपर्ने आवश्यक्ता औंल्याउँदै सामुदायिक विद्यालय सुधार गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताउनुभयो । त्यसका लागि आपूm निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री खनालले विद्यालयदेखि उच्च शिक्षासम्मको मुख्य विषयलाई आफ्नो कार्यकालमा कार्यान्वयन गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्