डा. रुइतलाई इसा अवार्ड प्रदान गरिने

0
Shares

काठमाडौं । ख्यातीप्राप्त चिकित्सक सन्दुक रुइत प्रतिष्ठित इसा अवार्डद्वारा सम्मानित हुनुभएको छ ।

बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त अवार्ड मानवीय सेवातर्फको विधामा डा. रुइतलाई प्रदान गर्न लागिएको हो । डा. रुइतले स्वर्ण पदकसहित १० लाख अमेरिकी डलर पाउनुहुने भएको छ ।

मानवीय सेवातर्फको इसा अवार्ड घोषणा गर्दै बहराइनका राजाका विशेष प्रतिनिधि र बोर्ड अफ ट्रस्टिजका अध्यक्ष शेख मोहम्मद बिन मुबारक अल खलिफाले भन्नुभयो– ‘नेपाली नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई समुदायमा गरेको सेवा र उपलब्धिका लागि उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेका छौं ।’

डा. रुइतले विकास गरेको सर्वसुलभ दरको आँखाको लेन्स विश्वका धेरै देशमा पुगेको छ । जसले गर्दा गरिबहरूले संसार देख्न पाएका छन् ।

यस वर्ष यो विधाको पुरस्कारका लागि संसारभरका १३९ जना मनोनयनमा परेका थिए । अवार्ड आउँदो महिना बहराइनमा विशेष कार्यक्रम गरेर प्रदान गरिने छ ।

डा.रुइतले यसअघि सन् २००६ मा मलेसियाको रोमन म्यागासेसे अवार्ड, सन् २००७ मा अर्डर अफ अस्ट्रेलिया र सन् २०१८ मा पद्मश्री अवार्ड पाउनुभएको थियो ।