नेपालमा क्यानडाको दूताबास खोल्न सरकारी पहल जरुरी

564
Shares

काठमाडौं।

प्रतिवर्ष अध्ययनका लागि क्यानडा जाने नेपालका हजारौं विद्यार्थीहरूलाई प्रवेशाज्ञाको लागि भारत जानुपर्ने बाध्यता रहेको भन्दै सरोकारवालाहरूले क्यानडाको दूताबास नेपालमै खोलिनुपर्नेमा जोड दिएका छन् ।

नेपाल – क्यानडाबीच कुटनीतिक सम्बन्ध स्थापनाको ५८ औं वर्षगाँठको अवसरमा नेपाल –क्यानडा मैत्री तथा सांस्कृतिक संघले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमका सहभागी वक्ताहरुले क्यानडाको प्रवेशाज्ञाका लागि भारतको नयाँदिल्लीस्थित क्यानडाको दूताबास धाउनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले काठमाडौंमै क्यानडाको दूताबास खोल्न पहल गर्नुपर्ने आवश्यक्ता औंल्याएका थिए ।

कार्यक्रममा परराष्ट्रवीद हिरण्यलाल श्रेष्ठले नेपाल जस्तो विकासन्मुख देशले क्यानडामा दूतावास खोल्न सक्ने तर विकसित देश क्यानडाले नेपालमा डूताबास खोल्न नसक्ने भन्ने सवाल नै नउठ्ने भन्दै यसका लागि सरकारले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले केही समयअघि सम्पन्न नेपाल – क्यानडा विदेश सचिवस्तरीय संयन्त्रको बैठकमा परराष्ट्र सचिवले नेपालमा भिसा सेन्टर खोल्नुपर्ने बताएको जिकिर गर्दै भन्नुभयो –‘भिसा सेन्टर होइन, दूताबास नै खुलाउन पहल गर्नुपर्छ । त्यहाँ रहेका गैर आवासीय नेपालीले पनि यसका लागि सहयोग गर्नसक्छ ।’ सन् १९९१ पछि उत्तर एट्लान्टिक सन्धी संगठन (नाटो)ले नेपालको सैन्य क्षेत्रमा पनि चासो देखाउँदै २ सय ५० नेपाली सेनालाई तालिम दिइसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो –‘क्यानडा पनि नाटो सदस्य राष्ट्र भएकोले नेपाली सेनालाई सैन्य गठबन्धनका लागि नउक्साओस् भन्नेमा हामी सर्तक भने रहनुपर्छ ।’

कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं सांसद चित्रबहादुर केसीले पनि नेपालमा क्यानडाको दूताबास स्थापनाको लागि संघले गरिरहेको पहलको प्रशंसा गर्दै आफूले पनि सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले नेपालको जलविद्युत, भौतिक पूर्वाधार, भूकम्पपछिको पुनर्निमाण, लैंगिक समानता, महिला सशक्तिकरण, मानवअधिकार, विगतको द्वन्द्व व्यवस्थापनमा क्यानडाले लगानी र सहयोग गर्दै आएको स्मरण गर्दै भन्नुभयो –‘क्यानडाको नेपालको राजनीतिमा कुनै स्वार्थ नभएको कारण सेवा र व्यापारिक उद्देश्य तथा लाभको दृष्टिकोणले नेपालमा गरिने लगानीलाई हामी खुल्ला हृदयले स्वागत गर्छौं ।‘

सीमावीद् बुद्धिनारायण श्रेष्ठले नेपालको भूउपयोग नक्सा क्यानडाले बनाईदिएको स्मरण गर्नुभयो भने हिमालविज्ञ आङछिरिङ शेर्पाले दुबै देशमा पर्यटन उद्योगको सम्भावना बढी रहेको जिकिर गर्दै सरकाले पर्यटनमैत्री नीति अपनाई पूर्वाधार निर्माणमा विशेष ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

कार्यक्रममा नेपाल –क्यानडा मैत्री तथा सांस्कृतिक संघका अध्यक्ष रामेश्वर श्रेष्ठले नेपाल –क्यानडाबीच दौत्य सम्बन्ध स्थापना भएको ५८ वर्ष पुगिसक्दा पनि दुई देशबीचको सम्बन्ध विस्तारमा सरकारले खासै ध्यान नदिएको गुनासो गर्नुभयो ।