सुदूरपश्चिमको उपसभामुखमा एमालेकी चौधरी निर्वाचित

0
Shares

धनगढी।

सुदूरपश्चिम प्रदेशको उपसभामुखमा सत्तारुढ गठबन्धन दलकी उम्मेदवार कोइलीदेवी चौधरी निर्वाचित भएकी छन्। मंगलवार भएको मत विभाजनबाट उनी उपसभामुखमा चयन भएकी हुन्।

उनी कैलालीबाट समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्य भएकी थिइन्।

नेकपा माओवादी केन्द्रकी लक्ष्मी बिकले चौधरीलाई उपसभामुखमा निर्वाचित गरियोस् भनेर प्रदेशसभामा पेश गरेको प्रस्तावको पक्षमा २८ मत परेसँगै उनी चयन भएकी हुन्। प्रस्तावको विपक्षमा २३ मत मात्रै खसेको थियो। चौधरीलाई नेकपा एमालेका १०, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ जना प्रदेशसभा सदस्यले मतदान गरेका हुन्।

यसअघि कांग्रेसको समर्थन प्राप्त गर्दै उपसभामुखमा उम्मेदवारी दिएकी नेकपा(एकीकृत समाजवादी) पार्टीकी प्रदेशसभा सदस्य माया पन्तलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव भने बहुमतले अस्वीकृत भएको थियो। पन्तको पक्षमा २४ र विपक्षमा २८ मत खसेको थियो।

पन्तलाई नेपाली कांग्रेसका १९, नेकपा(एकीकृत समाजवादी)का ४ र स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशीले मतदान गरेका हुन्। उनी एकीकृत समाजवादीकी कञ्चनपुरबाट निर्वाचित समानुपातिक प्रदेशसभा सदस्य हुन्।

मंगलबार बिहान बसेको प्रदेशसभाको बैठकले सभामुखमा माओवादी केन्द्रका भीमबहादुर भण्डारीलाई निर्वाचित गरेको थियो।