बुटवल।
रोयल ग्रुप नामक समूह बनाई व्यवसायी र उद्योगीलाई फोनबाट धम्काउँदै रकम असुली गर्ने तयारीमा जुटेको पूर्व जनमुक्ति सेनाका लडाकु सहित २ जनालाई हतियार सहित रुपन्देही प्रहरीले पक्राउ गरेको छ । कुख्यात अपराधी मनोज पुनको घटना दोहोराउने रणनीतिका साथ बुटवलमा योजना बनाइरहेको अपराधीक टोलीलाई प्रहरीले पक्राउ गरी मंगलवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
करिब २ हप्ता अगाडि देखि उद्योगी व्यवसायीले फोनमा धम्काउँदै रकम माग्ने गरेको नदिए बम पडकायर घर र ज्यान समेत सिद्धाइदिने उजुरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका–११ देवीनगरबाट विभिन्न हात हतियारसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा गुल्मी मालिका गाउँपालिका–४ अर्खावाङ बस्ने ३५ वर्षीय नवीन चन्द्र रेग्मी र कञ्चनपुर गणेशपुर नगरपालिका–२ बस्ने २७ वर्षीय विश्वराज कार्की रहेका छन् । उनीहरुले उद्योगी व्यवसायीहरुलाई धाकधम्की दिएर असुली गर्ने गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताउनु भयो । उनीहरू पक्राउपरेसंगै बुटवलमा मनोज पुनको घटना दोहोरिनबाट बचाउन सफल भएको प्रहरी उपरीक्षक रेग्मीको कथन छ ।
खोजतलास जारी राखेको इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले बुटवलको देवीनगरमा शंकास्पद रुपमा देखिएका नवीन चन्द्र रेग्मी र विश्वराज काकीलाई जाँच गर्ने क्रममा नवीनको साथबाट १ थान रिभल्वर फेला परेपछि दुवै जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दान बहादुर थापाले बताउनु भयो । थप अनुसन्धानको क्रममा सैनामैना नगरपालिका–१ पर्रोहास्थित नवीनको कोठामाखान तलासी गर्दा ९ एमएमको गोली १४ राउण्ड, ७दशमलव ६२ एमएमको गोली ४ राउण्ड ३५ राउण्ड र ० दशमलव२ को गोली १७ राउण्ड गरी कुल ३५ राउण्ड गोली बरामद गरेको प्रनाउ थापाले बताउनु भयो ।
तयारी डेटोनेटर ३ थान, डेटोनेटर केस ६० थान, डेटकर्ड ४ मिटर समेत फेला पारी प्रहरीले बरामद गरेको छ । नवीन चन्द्र रेग्मी विगतमा जनमुक्ति सेना रहेको र स्वैच्छिक अवकाश लिएर बसेको अनुसन्धानको क्रममा बुझिएको प्रहरीले जनाएको छ । रुपन्देहीका उद्योगी व्यवसायीहरुको लिष्ट नै तयार पारी १० हजारदेखि लाखौँ रकमसम्म असुलीका लागि धम्की दिने गरेको प्रहरीले बरामद गरेको डायरीमा उल्लेख छ ।











प्रतिक्रिया