नागरिकका गुनासा सम्बोधन गर्न कल सेन्टर सञ्चालनमा

0
Shares

स्याङ्जा।

स्थानीय सरकार जनहितका लागि समर्पित हुनुपर्ने कुरामा कसैको विमति छैन तर प्रशासनको नियम, कानुन र प्रक्रिया छरितो छैन । नियम, कानुन र प्रक्रियाको व्याख्या, आफ्ना मान्छे, चिनेजानेका मान्छे, स्वार्थ गाँसिएका मान्छे र ठुलाबडाका लागि अलगअलग हुनु चाहिँ अहिलेको मुख्य समस्या हो । सयौँको लाइनमा पालो कुरेर बस्नेलाई ओभरटेक गर्दै पहुँचवालाले चुड्कीका भरमा काम फत्ते गर्ने गराउने परिपाटीका कारण हाम्रो प्रशासन आम सेवाग्राहीको नजरमा लोकप्रिय हुन सकेको छैन । तर केही स्थानीय तहहरुले भने नागरिकमैत्री सेवा दिने प्रयास गरेको पाइन्छ ।

स्याङ्जाको वालिङ नगरपालिका नागरिकमैत्री बन्दै गएको छ । नागरिकका गुनासा सुन्न तथा ती गुनासाहरूलाई व्यवस्थित रुपमा सम्बोधन गर्न पालिकाले स्थापना गरेको कल सेन्टर सञ्चालनमा आएको छ । वालिङवासीहरूले टोल फ्री नं १६६०६३४२००४, हटलाइन नं ०६३–५९७०००, अनलाइन पोर्टल  र इमेलका माध्यमबाट गुनासो, राय तथा सुझाव राख्न सक्ने पालिकाले जनाएको छ ।

नागरिकका वैयक्तिक, पारिवारिक तथा सामुदायिक रुपमा आइपरेका समस्या तथा नगरपालिकाको काम कारवाहीका विषयमा सिधा सम्पर्क कायम गर्न कल सेन्टर स्थापना गरिएको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो । नगरपालिकाभित्रका १४ वटै वडाहरुमा नगरले गरेका कामहरु, तिनका प्रभाव तथा आवश्यक जानकारी लिन कल सेन्टरले सहयोग पुग्ने नगरप्रमुख खाँणको विश्वास छ । उहाँले भन्नुभयो ‘सबै जनप्रतिनिधिहरु नागरिकमाझ पुगिनसकेको अवस्था पनि हुनुसक्छ, नागरिकका गुनासाहरु धेरै हुन सक्छन्, ती गुनासाहरूलाई सहज रुपमा छिटो सुनुवाई गर्न कल सेन्टर लाभदायी हुनेछ ।’

नगरका गतिविधिहरु नागरिकमाझ पु¥याउन नगरपालिकाले प्रविधिको बढी मात्रामा प्रयोग गरेको उल्लेख गर्दै नगरप्रमुख खाँणले सामान्य कामको लागि नागरिकले नगरपालिकाको कार्यालयसम्म आउनुपर्ने स्थिति नहुने बताउनुभयो । नगरपालिकाले सुशासन कायम गर्न कल सेन्टरको स्थापना गरेको नगर उपप्रमुख कविता तिवारी गैह्रेले बताउनुभयो ।

समयको मागअनुरुप नागरिकलाई सहज सेवा प्रवाह गर्न कल सेन्टर फलदायी हुने गैह्रेको विश्वास छ । कल सेन्टरमा फोन गर्दा कुनै शुल्क नलाग्ने प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिनुभयो । डेस्कमा आएका गुनासाहरूलाई सम्बन्धित निकाय तथा शाखा प्रमुखहरुले सम्बोधन गर्ने उहाँको भनाई छ ।