राष्ट्रिय सभाको उपनिर्वाचनका लागि तयारी बढाइयो

0
Shares

काठमाडौं । निर्वाचन आयोगले आउँदो माघ २५ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनका लागि तयारी अघि बढाएको छ ।

आयोगले उपनिर्वाचनको कार्यतालिका प्रकाशित गरेसँगै सोहीअनुरूप तयारी अघि बढाएको हो । रिक्त राष्ट्रियसभा सदस्य पद पूर्तिका लागि सो निर्वाचन गर्न लागिएको हो । लुम्बिनी प्रदेशको अन्यतर्फ एक पद हाल रिक्त रहेको छ । तत्कालीन राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि सो स्थान रिक्त भएको थियो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगले यही माघ १० गते मतदाता नामावली प्रकाशन र सो उपर दाबी विरोध प्रक्रिया पूरा गरी मतदाताको अन्तिम नामावली प्रकाशन गर्नेछ । सो निर्वाचनमा लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछ । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ रहनेछ ।

११ गते उम्मेदवारको मनोननय, दाबी विरोध, नाम फिर्ता लिने प्रक्रिया पूरा गरी १६ गते उम्मेदवारकोअ अन्तिम नामावली प्रकाशित गर्नेछ । सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह वितरण गर्ने र २५ गते मतदान हुनेछ । कार्यतालिकाअनुरूप आवश्यक तयारी अघि बढाएइको पनि प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

आयोगले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवारको बन्दसूचीमा नामावली भएका उम्मेदवारहरूले त्यसबाट नाम नहटाएसम्म उम्मेदवार हुन नपाउने पनि कानुनी प्रावधानका बारेमा दलहरूलाई जानकारी दिएको छ । अब प्रदेशको राजधानी रहेको ठाउँ दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने आयोगले जनाएको छ ।

लुम्बिनी प्रदेशसभा नेकपा (एमाले) का २९ जना, नेपाली कांग्रेसका २७ जना, माओवादी केन्द्रका ९ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ जना, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनता समाजवादी पार्टी नेपालका ३ जना, जनमत पार्टीका २ जना,नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल १÷१ जना रहेका छन् । १० वटा दलका ८७ जना सांसद् रहेका छन् ।

यसैबीच आयोगले राष्ट्रपति निर्वाचनको लागि प्रारम्भिक तयारी अघि बढाएको छ । निर्वाचनको मिति तोक्ने विषयमा सरकारसँग अनौपचारिक छलफल अघि बढाएको छ । मिति तोकेपछि औपचारिक प्रक्रिया अघि बढाउने छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ मा राष्ट्रपतिको पदावधि सकिनुभन्दा एक महिना अघि नै सोको निर्वाचन गराउनुपर्ने प्रावधान रहेको छ । वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २९ मा सकिने भएकाले आयोगले माघ २८ गतेभित्र निर्वाचन गराउनुपर्ने स्थिति रहेको छ ।