अन्नपूर्ण आरसीटीले चेस प्रतियोगिता गर्ने

0
Shares

काठमाडौं । 

नेपाली घरेलु फुटबलको पुरानो क्लबमध्येको एक अन्नपूर्ण आरसीटीले आफ्नो ९०औं वार्षिकोत्सवको अवसरमा खुला फिडे रेटिङ चेस प्रतियोगिता गर्ने भएको छ ।

पत्रकार सम्मेलनको आयोजना गरी आगामी माघ ४ देखि ७ सम्म चेस प्रतियोगिता आयोजना गर्ने जानकारी गराईएको हो । स्वीस लिग प्रणालीको नौ चरणमा आयोजित हुने प्रतियोगिताको पहिलो दिन दुई चरण, दोस्रो दिन तीन चरण, तेस्रो चरण तीन चरण र अन्तिम दिन अन्तिम चरणको खेल हुनेछन् । प्रतियोगिताको कुल पुरस्कार राशि १ लाख ७५ हजार ५ सय रुपैयाँ रहेको छ । प्रतिस्पर्धा ज्याठाको अन्नपूर्ण स्कुलमा आयोजना हुनेछ ।

प्रतियोगितामा पहिलो हुनेले ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सयभन्दा बढी खेलाडीको सहभागिता रहने प्रतियोगितामा १५औं स्थानसम्म आउने खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् । यसबाहेक पनि महिला र सिनियर पुरुष ६० वर्षमाथिको अलग्गै स्पर्धामा पनि शीर्ष तीन स्थान प्राप्त गर्नेलाई पुरस्कार प्रदान गरिनेछ ।

छात्र र छात्रातर्फ चार–चार उमेर सूहमा तथा एक हजार ६ सय र एक हजार आठ समय रेटिङमुनिमा पनि पुरस्कारको व्यवस्था गरिएको छ । पत्रकार सम्मेलनका अवसरमा क्लबका अध्यक्ष सुरेशकाजी शाक्य र आरबिटर महेश्वरलाल डंगोलले जानकारी दिए । त्यस्तै, चेसका पूर्वनेपाल च्याम्पियन केशव श्रेष्ठ, क्लबका उपाध्यक्ष राजेश श्रेष्ठ र सदस्य नरेश वैद्यले विभिन्न जानकारी दिए ।