सरकारले आज पूर्णता पाउँछ : प्रचण्ड

राष्ट्रपति र सभामुखको निर्वाचनअघि सर्वदलीय छलफल

0
Shares

काठमाडौं । 

प्रधानमन्त्री पुष्पकमल दाहाद प्रचण्डले सत्ताधारी सात दलबीच कुनै असमझदारी नरहेको बताउँदै आज साँझसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने र सोमबारको मन्त्रिपरिषद् बैठक पूर्णरूपमा बस्ने तयारी गरेको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘सबै काम सोजेजस्तै मात्र होइन, सोचेभन्दा बढी भएको छ, सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि वर्तमान मलाई समर्थन गरेको छ, स्थायीत्वमा कसैले आशंका नगरे हुन्छ ।’

पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले अहिलेसम्म तीन उपप्रधानमन्त्रीसहित ८ मन्त्री सरकारमा सहभागी भएका छन् । चार मन्त्रीलाई भने अहिलेसम्म जिम्मेवारी तोकिएको छैन । विश्वासको मत पाएपछि जिम्मेवारी तोक्ने भनिएकोमा अब मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै सबैको जिम्मेवारीसहित नियुक्त हुने उहाँले उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेससँग सहकार्य गर्दै निर्वाचन लडेका प्रचण्डको दल नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्री, राष्ट्रपति, सभामुखजस्ता कुनै पनि पद नदिने भएपछि हतार–हतार नेकपा एमालेसँग सहकार्य गर्दै प्रधानमन्त्री हुनुभएको हो । तर पछि, यही पुस २६ गते नेकाले पनि उहाँलाई विश्वासको मत दिएपछि राजनीतिक वातावरण बदलिएको छ ।

प्रचण्ड एक किसिमले सहज वातावरणमा हुनुभएको छ भने मुलुकमा पुनः राजनीतिक अस्थिरता बढ्ने हो कि भन्ने त्रास पनि बढेको छ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति र सभामुख निर्वाचनअघि सबै दलसँग छलफल गर्ने जानकारी पनि शनिबार नै दिनुभएको छ । ‘राष्ट्रिय महत्त्व बोकेका विषयमा राष्ट्रिय रूपमा नै सहमति कायम गर्ने मेरो तयारी छ,’ दाहालले भन्नुभयो– ३ गतेसम्म सर्वदलीय छलफल गर्ने तयारीमा छु ।

सर्वदलीय बैठकमै आएको विचारपछि राष्ट्रपति र अन्य पदमा छलफल हुन्छ ।यसअघि राष्ट्रपति र सभामुख पद एमालेलाई दिने सहमति भइसकेको जानकारी बाहिर आएको थियो । प्रचण्डको पछिल्लो कदमले एमाले–माओवादी दूरी बढ्ने सम्भावना देखिन्छ । तर, सर्वदलीय भेला पनि एमाले अध्यक्ष ओलीकै सहमतिमा भएको हो भने सम्बन्ध सामान्य नै हुन सक्छ । यस विषयमा प्रधानमन्त्री प्रचण्डले केही बताउनुभएको छैन ।