वर्षमान पुनको स्वास्थ्यमा पुन: समस्या देखिएपछि सुमेरु अस्पतालमा भर्ना

0
Shares

काठमाडौँ ।

पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा पुनः समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । रोल्पा समृद्ध फाउन्डेसनको कार्यक्रममा गृह जिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई आजै हेलिकप्टरमा काठमाडौं ल्याएरअस्पताल भर्ना गरिएको हो ।

उपमहासचिव पुन शुक्रबार रोल्पा पुगेका थिए ।

जन्डिस रोगबाट पीडित पुनको केही समयअघि विदेशमा उपचार भएको थियो । लामो समय चीनमा उपचार गराएर स्वदेश फर्किएका पुन शुक्रबार आफ्नो गृहजिल्ला रोल्पाको होलेरीमा न्यानो कपडा वितरण कार्यक्रममा सहभागी भएका थिए । शनिबार भने उनी कुनै कार्यक्रममा सहभागी हुन नसक्ने अवस्था आएकाले तुरुन्तै काठमाडौँ ल्याइएको थियो ।